१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सम्पादकीय
२०७६ जेठ १ बुधबार ०८:०९:००
Read Time : > 1 मिनेट
सम्पादकीय

जागरण माथिबाट तल

Read Time : > 1 मिनेट
सम्पादकीय
२०७६ जेठ १ बुधबार ०८:०९:००

यतिखेर प्रमुख प्रतिपक्षी कांग्रेस देशव्यापी रूपमा जागरण अभियानमा छ । २०७४ को संसदीय निर्वाचनमा पराजित भएपछि खलबलिएको र हतास भएको कांग्रेसले बल्लबल्ल तंग्रिएर कार्यकर्तासम्म पुग्न यो अभियान चलाएको हुनुपर्छ । कांग्रेसका लागि वर्तमान सरकारको अलोकप्रियता बढ्ने क्रममा आफ्नो पक्षमा सामाजिक मनोविज्ञान जगाउन प्रयास गर्ने समय पनि हो यो । झन्डै ‘जिरो सम गेम’ जस्तो गरी एउटाको कमजोरी अर्काको शक्ति बन्ने राजनीतिक प्रतिस्पर्धामा रहेका सत्तापक्ष र प्रमुख प्रतिपक्षको राजनीतिक संघर्षमा प्रतिपक्षले आफ्नो पक्षमा जनमत पार्ने मुख्य उपाय भनेकै सत्तापक्षको कमजोरी हो ।

अहिले कांग्रेसका लागि एक हदसम्म अनुकूलता सिर्जना गरिदिएको छ, केपी ओली सरकारले । तर, कांग्रेस कार्यकर्ता पंक्तिले जागरण अभियानमा सहभागिता जनाई नेतृत्वलाई नै पहिले जाग्न आह्वान गर्दै केन्द्रीय प्रतिनिधिमार्फत सन्देश पठाएका छन् । अर्थात्, कार्यकर्ता पंक्तिको ठम्याइ छ, नेपालको राजनीतिको मुख्य समस्या नेतृत्वमा छ ।

जनता र कार्यकर्ता जहिले पनि पार्टीप्रति प्रतिबद्ध छन् । तिनले आफ्नो स्थानबाट सक्दो योगदान पनि गरेका छन् । तर, नेतृत्व जो छ, नीति र व्यवहारका सन्दर्भमा पनि या त देशलाई दिशा दिन नसक्ने गरी कमजोर छ, या भ्रष्टाचार र निजी स्वार्थमा लम्पट भएर लागेकैले देशमा परिवर्तनको अनुभूति दिने गरी काम गरिरहेको छैन । यसैले सुधार गर्नुपर्ने भनेकै माथि अर्थात् मुख्य नेतृत्वको विचार र व्यवहार हो । जहिलेसम्म नेतृत्वले जनताप्रति उत्तरदायी हुने र निजी स्वार्थलाई देश र जनताका स्वार्थमातहत राख्ने गरी आफूलाई सुधार गर्दै लाँदैन, या वर्तमान नेतृत्वमा परिवर्तन भएर नयाँ र गतिशील नेतृत्व आउँदैन, तबसम्म अरू जागरण र सुधारका कार्यक्रम जनता र कार्यकर्तालाई भुलाउने भुलभुलैया मात्र हुनेछन् ।

कांग्रेस कार्यकर्ता पंक्तिले जागरण अभियानमा नेतृत्वलाई नै पहिले जाग्न आह्वान गर्दै केन्द्रीय प्रतिनिधिमार्फत सन्देश पठाएका छन्
 

यो प्रक्षेपण र अपेक्षा कांग्रेसको देशव्यापी अभियानका सन्दर्भमा उठेको भए पनि यसको अर्थ गैरकांग्रेसी दलहरू, खासगरी सत्तारुढ नेकपाका सन्दर्भमा पनि उत्तिकै लागू हुन्छ । यतिवेला केपी ओलीको नेतृत्वमा नेकपाले सरकार चलाइरहेको छ । संघीय, प्रादेशिक र स्थानीय तहमा पनि मूलतः नेकपाकै सरकार छन् । अहिलेको सरकार या नेकपाको नेतृत्वले आफ्ना ऐतिहासिक अभिभाराबारे सचेत भएर काम गर्ने हो भने देशमा सुधार र परिवर्तनका पर्याप्त सम्भावना छन् । धेरै वर्षपछि देशमा स्थायी प्रकृतिको सरकार बनेको छ ।

अल्प समयमा नेतृत्व परिवर्तनको जोखिम छैन । बाह्य हस्तक्षेपका सम्भावना पनि यही कारण एकदम न्यून छन् । छिमेकी देशको उन्नतिका सकारात्मक प्रभाव हामीकहाँ पर्ने पर्याप्त सम्भावना छन् । देशभित्र भ्रष्टाचार र कुशासनका विपक्षमा राम्रो र सक्रिय जनमत छ । लामो समयको संघर्ष र संक्रमणकाल सकिएकाले आमजनतामा पनि एकप्रकारको आशावाद जीवित छ । यही वेला आमकार्यकर्ता, जनता र समग्र राजनीतिक वर्गलाई देश निर्माणका लागि आह्वान गर्ने र नेतृत्व गर्ने अवसर नेकपालाई प्राप्त भएको छ ।

कांग्रेसका तल्लो तहका कार्यकर्ताले भनेकै भाषामा भन्ने हो भने नेकपाको नेतृत्वमा जागरण र सुधार आउँदा देश नै जाग्ने र सुधार हुने सम्भावना छ । तर, नेतृत्वको अहिलेसम्मको चालढाल भने नितान्त व्यक्तिगत हैसियत रक्षा र गुटस्वार्थको घेराबाहिर निस्कन नसकेको संकेत पाइन्छ । यस अर्थमा पनि नेतृत्वमा सुधार र नयाँपन आजको नेपालको निराशा चिर्ने एक मात्र हतियार हो भन्न सकिन्छ ।