मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख ३१ मंगलबार ०८:४१:००
Read Time : > 3 मिनेट
सप्तरंग

आसलाग्दा नयाँ हिरोइन

Read Time : > 3 मिनेट
२०७६ बैशाख ३१ मंगलबार ०८:४१:००

०७५ सालमा झन्डै साढे दुई दर्जन नवयुवतीले हिरोइनका रूपमा डेब्यु गरे । जसमध्ये केहीले मात्र आफूलाई हिरोइनका रूपमा परिचित गराउन सकेका छन्, गराउँदै छन् । धेरै भने कतिवेला आए, कता गए, अत्तोपत्तो छैन । पछिल्लो केही वर्ष नेपाली फिल्म उद्योगमा नयाँ पुस्ताका कलाकारको हालिमुहाली छ । अभिनेतामा अनमोल केसी, प्रदीप खड्का, सलिनमान बानियाँ, पल शाहहरूको जगजगी छ भने अभिनेत्रीमा साम्राज्ञीराज्यलक्ष्मी शाह, पूजा शर्मा, आँचल शर्मा, स्वस्तिमा खड्का, वर्षा राउतहरू चर्चामा छन् । 

अभिनेताको दाँजोमा ०७५ मा डेब्यु गर्ने अभिनेत्रीको संख्या बढी छ । गत वर्ष इन्टु मिन्टु लन्डनमा फिल्मबाट धीरज मगर युवा दर्शकमाझ छाए । सो फिल्मको चर्चासँगै उनलाई लिएर आई एम ट्वान्टी वान नामक फिल्म बन्ने चर्चा चलेको थियोे । तर, सो फिल्मको सुटिङ अहिलेसम्म सुरु भएको छैन । अनुराग फिल्मबाट समुद्र पण्डितले डेब्यु गरे । तर, फिल्म असफल भएसँगै उनको चर्चा पनि ओइलायो ।

पुराना पात झर्ने, नयाँ पालुवा पलाउने, यो त प्रकृतिको नियमै हो । प्रकृतिको परिधिदेखि कलाकारिता क्षेत्र अछुतो रहने त तर्कै भएन । हिजोका दिनमा भुवन केसी, राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह, जल शाह, विपना थापा, रेखा थापा, झरना थापाहरूको जगजगी थियो । अहिले अनमोल, प्रदीप, साम्राज्ञी, पूजा, आँचलहरू चल्तीमा छन् । यीसँगै नयाँ हिरो–हिरोइनले पनि बजारमा आफूलाई चलायमान बनाउँदै लगेका छन् । 

गत वर्ष एक सयवटा फिल्म प्रदर्शन भएका थिए । जसमध्ये आधा दर्जन फिल्म मात्रै व्यावसायिक रूपमा सफल मानिन्छन् । कतिपय फिल्मले राम्रो व्यापार गरेनन्, तर सम्भावना बोकेका कलाकार भने जन्माएका छन् । 

०७५ को अन्तिममा प्रदर्शन भएको ए मेरो हजुर–३ को चर्चा अहिले पनि सेलाएको छैन । सो फिल्मबाट फिल्म उद्योगले नयाँ हिरोइन सुहाना थापा पायो । पहिलो फिल्मबाटै सुहानाले आफूलाई अब्बल अभिनेत्री साबित गरेकी छिन् । यद्यपि, उनमा आगामी फिल्मको चुनौती भने थपिएको छ । अभिनेत्री, निर्देशक झरना थापाकी एकल पुत्री सुहानालाई अहिले दिनहुँजसो नै नयाँ फिल्मको अफर जाने गरेको छ । सुहाना भने दोस्रो फिल्म पनि आमाकै निर्देशनमा गर्न चाहन्छिन् । 

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले आफ्नो फिल्म क्याप्टेनबाट नयाँ हिरोइन उपासना सिंह ठकुरीलाई प्रस्तुत गरे । क्याप्टेनले औसत व्यापार गरे तापनि उपासनाको अभिनय तथा सुन्दरताले भने तारिफ पायो । उपासनालाई निर्देशक रामबाबु गुरुङले कबड्डी कबड्डी कबड्डी फिल्ममा अनुबन्धित गरेका छन् । उपासनालाई आफ्नो फिल्ममा लिनका लागि निर्माता, निर्देशकले खोज्ने गरेका छन् । क्याप्टेनबाटै उद्योगमा आइन्, प्रियंका एमभी । तर, फिल्ममा उनको भूमिका र प्रस्तुति कमजोर भएकाले उनलाई हिरोइनकै रूपमा भने ‘मार्क’ गरिएको पाइँदैन ।

हलिउड फिल्म डाक्टर स्ट्रेन्जमा सानो भूमिका देखिएकी शिल्पा मास्केको राम्रो चर्चा हुने गरेको छ । हेमराज बिसी निर्देशित द ब्रेकअपबाट नेपाली फिल्ममा डेब्यु गरेकी उनको पहिलो प्रयास सफल भएन । त्यसपछि शिल्पा अभिनीत अर्काे फिल्म कागजपत्र प्रदर्शन भयो । अपिल विष्टले निर्देशन गरेको कागजपत्रले पनि कमाल देखाउन सकेन । यद्यपि, शिल्पाको हातमा फिल्म भने परिरह्यो । उनले अभिनय गरेको अर्काे फिल्म सानो मनको एउटा गीत हालै सार्वजनिक भएको छ । दुईवटा फिल्म लगालग फ्लप भए पनि शिल्पाको अभिनय, डान्स तथा एप्रिएन्सले निर्माता, निर्देशकलाई तान्ने गरेको छ । 

अर्की आसलाग्दी हिरोइनमा पर्छिन्, आश्मा गिरी । ऋषिराज आचार्य निर्देशित ड्रिम गर्ल फिल्मबाट डेब्यु गरेकी उनी त्यसअघि रङ टाइम नामक वेबसिरिजमा चर्चित थिइन् । पछिल्लो समय म्युजिक भिडियोमा देखा परिरहेकी उनी फिल्म अभिनयमै करिअर बनाउन चाहन्छिन् । आफूलाई केही फिल्मबाट अफर आइरहेको भए पनि कुनैमा रोल त कुनैमा टिम चित्त नबुझेकाले ‘ओके’ नगरेको उनी बताउँछिन् ।

शुभ लभ फिल्मबाट डेब्यु गरेकी सन् २०१७ की मिस टिन कृष्टिन पौडेललाई पनि सम्भावना बोकेकी हिरोइनका रूपमा हेरिन्छ । व्यावसायिक रूपमा शुभ लभ सफल नभए पनि दर्शकबाट भने राम्रो प्रतिक्रिया पाएकाले फिल्ममै केही गर्ने प्रेरणा मिलेको कृष्टिन बताउँछिन् । भन्छिन्, ‘फिल्म हेरेका जति दर्शक तथा आफन्तले मेरो काम मन पराउनुभएको छ । जसले गर्दा मलाई फिल्म अभिनयमै करिअर बनाउन हौसला मिलेको छ ।’ बीचमा आफूलाई केही फिल्मबाट अफर आएको भए पनि प्लस टुको परीक्षाका कारण ध्यान दिन नसकेको उनी बताउँछिन् । ‘राम्रो टिम र स्क्रिप्ट भएमा ‘ओके’ गर्छु,’ उनी भन्छिन् । 

माघ तेस्रो साता प्रदर्शन भएको रणवीर फिल्मबाट दुईजना हिरोइनको ‘इन्ट्री’ भयो–सुपुष्पा भट्ट र शुभेच्छा खड्का । व्यावसायिक रूपमा सफल नभए पनि रणवीरमा सुपुष्पाले गरेको कामले भने चर्चा पायो । तर, शुभेच्छाको प्रस्तुतिप्रति भने दर्शकको नजर खासै पर्न सकेन । रणवीरपछि आफूलाई केही फिल्मबाट अफर आएको तर परीक्षाका कारण ती अफर स्विकार्न नसकेको कथन उनको छ । ‘मलाई भोजपुरी फिल्मबाट पनि अफर आउने गरेको छ । तर, पढाइका कारण मैले त्यतातिर ध्यान दिन पाएकी छैन,’ उनी भन्छिन्, ‘अब भने म विचार गरेर ‘ओके’ गर्छु ।’ बुझिएअनुसार रोज राणाले निर्माण गर्न लागेको खलनायक–२ मा सुपुष्पा मुख्य भूमिकामा रहने सम्भावना छ ।

समर लभ फिल्मकी रेवती क्षेत्रीलाई पनि सम्भावना बोकेकी हिरोइनका रूपमा हेरिन्छ । सुबिन भट्टराईको चर्चित उपन्यास समर लभमा निर्माण भएको फिल्मले व्यावसायिक सफलता भने हासिल गरेन । तर पनि उक्त फिल्ममा रेवतीले गरेको अभिनयले चर्चा पाएको थियो । भारतमा रहेर मोडलिङ गर्ने गरेकी रेवती चित्तबुझ्दो प्रस्ताव आएमा पुनः नेपाली फिल्ममा अभिनय गर्ने चाहना व्यक्त गर्छिन् । 

भारतीय टेलिसिरियल चन्द्र नन्दिनीमा अभिनय गरेकी निरीषा बस्नेतले वसन्त अधिकारी निर्देशित जानी नजानी फिल्मबाट डेब्यु गरिन् । डेब्यु फिल्म असफल भए पनि निरीषाको कामले भने चर्चा पायो । अग्रज अभिनेता, निर्देशक विश्व बस्नेतकी छोरी निरीषा हाल मुम्बईमा चारका पञ्चनामा नामक सिरियलमा मुख्य भूमिकामा अभिनय गरिरहेकी छिन् । राम्रो कथा र टिम भएमा नेपाली फिल्ममा अभिनय गर्न काठमाडौं उडिहाल्ने उनी बताउँछिन् । अभिनयकै बलमा विश्वसामु आफ्नो प्रतिभा प्रस्तुत गर्ने ध्याउन्नमा लागेकी निरीषा बलिउड मात्र नभएर मौका मिलेमा हलिउडमा पनि ‘ट्राई’ गर्ने सोचमा छिन् । 

यात्रा फिल्मबाट मलिका महतको डेब्यु भयो । म्युजिक भिडियोमा अभिनय गर्दैगर्दा यात्रामा प्रमुख भूमिका निर्वाह गर्ने अवसर पाएकी उनलाई पनि आसलाग्दी अभिनेत्रीका रूपमा हेरिने गरिएको छ । यद्यपि, यात्रापछि उनको हातमा फिल्म परेको खबर भने आइसकेको छैन । गरुड पुराण फिल्मबाट डेब्यु गरेकी प्रियंकासिंह ठकुरीको अभिनय पनि मन पराइएको थियो । तर, त्यसपछि उनी फिल्मवृत्तमा देखा परेकी छैनन् । 

पहिलो फिल्मबाट सम्भावना देखाएका तर त्यसपछि आफैँ पलायन भएका केही हिरोइन पनि छन् भने फिल्म, टिम छान्न नजान्दा चिप्लिएका पनि धेरै छन् । केही भने आफ्नै अहंले एक–दुई फिल्मबाटै ‘रिटायर्ड’ भएको पनि देख्न पाइन्छ । अनि, केहीले भने पहिलोभन्दा पछिका फिल्ममा अझ राम्रो गरेको पनि पाइन्छ । अहिले आसलाग्दा देखिएका नवनायिकाको करिअर कसरी अघि बढ्ला, त्यो अहिले नै बताउन कसले सक्छ र !