उन्मुक्त पुस्ताले सुरु गर्‍यो आँगनमा कविता अभियान

२०७६ बैशाख ३० सोमबार १०:०१:००

उन्मुक्त पुस्ताले कविताको नयाँ अभियान ‘आँगनमा कविता’ सुरु गरेको छ । अभियानको पहिलो कार्यक्रम मकवानपुरको सिमभञ्ज्याङमा भएको छ ।

सिमभञ्ज्याङस्थित एक स्थानीयको आँगनमा भएको कार्यक्रममा उन्मुक्ताका कवि र स्थानीयले कविता र गीत सुनाएका थिए । कार्यक्रममा उन्मुक्त पुस्ताका तर्फबाट कविहरू केशव सिलवाल, माधव घिमिरे ‘अटल’, केवल बिनाबी, मुक्तान थेबा, छम गुरुङ, सुमनराज श्रेष्ठ, पुरुषोत्तम आचार्य, यश लामा, धर्मराज स्याङ्तान र प्रकाश गुरागाईंले कविता वाचन गरेका थिए । लेकाली बसिफाँट माविका विद्यार्थी रचना भोम्जन, प्रशान्त स्याङ्तान, रविना पाण्डे, अविरल थापा, सुशीला लोलगायतले कविता सुनाए ।

पुरुषोत्तम आचार्यले तामाङ सेलोको भाकामा ‘जनताको गीत’ गाए । ८३ वर्षीय स्थानीय हिरामाया तामाङले पनि गीत सुनाएकी थिइन् । लेकाली बसिफाँट माविका शिक्षक राजेन्द्र चौधरीले पनि कविता सुनाए । यो अभियान निरन्तर चल्ने उन्मुक्त पुस्ताले जनाएको छ ।

कवितालाई समाजसँग जोड्न कार्यक्रम आयोजना गरेको कवि केवल बिनाबीको भनाइ छ । अर्का कवि मुक्तान थेबाले मोफसलका कविहरू पनि उमुक्त पुस्तामा जोडिएपछि साहित्यिक आन्दोलन थप मजबुत हुने बताए । उन्मुक्त पुस्ताको आन्दोलनमा हेटौँडाबाट कवि पुरुषोत्तम आचार्य, यश लामा र धर्म स्याङ्तान पनि आबद्ध भएका छन् । त्यस्तै, काठमाडौंमा बसेर साहित्य साधना गरिरहेका कवि छम गुरुङ र सुमनराज अर्याल पनि आबद्ध भएका छन् ।