सातामा नेप्से  : कारोबार र रकम दुवै घट्यो

२०७६ बैशाख २९ आइतबार ०९:२८:००
नयाँ पत्रिका

गत साता नेप्से परिसूचक सामान्य अंक ओरालो लागेर बन्द भएको छ । पाँच कारोबार दिनमध्ये गत साता दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने तीन कारोबार दिन ओरालो लागेको थियो । नेप्सेसँगै गत साता कारोबार रकममा पनि कमी आयो । अल्पकालीन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेपछि गत साताको बजार प्रभावित भएको हो । नयाँ वर्षको सुरुवातसँगै नेप्सेले गति लिएको छ । लामो समयदेखि बियरिस प्रवृत्तिमा रहेको बजारले बुलिस गति लिएको संकेत दिएपछि लगानीकर्ताहरू बजारतर्फ आकर्षित भएका छन् । बियरिस बजारमा ‘पर्ख र हेर’ को रणनीति अपनाएर बसेका ठूला तथा नयाँ लगानीकर्ताहरू बजारमा प्रवेश गरेपछि बजारमा उत्साह देखिएको थियो । बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लाग्नाले बजारमा करेक्सनको अवस्था देखिने एक ब्रोकरले बताए । 

त्यसैगरी, गत साताको बजारलाई सूचीकृत कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणले प्रत्यक्ष प्रभाव पारेको छ । कम्पनीहरूले नाफामूलक वित्तीय विवरण प्रकाशित गरेसँगै लगानीकर्ताहरू सोतर्फ आकर्षित भएका छन् । आगामी साताको बजारलाई पनि कम्पनीहरूको तेस्रो त्रैमासको वित्तीय विवरणले प्रभावित पर्ने एक लगानीकर्ताले बताए । लगानीका लागि तेस्रो त्रैमासको वित्तीय विवरणले महŒवपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । 

बजार सारांश

गत साता नेप्से परिसूचक २ दशमलव ४३ अंक घटेर १ हजार २ सय ९१ दशमलव ९६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता १ दशमलव ३० अंक घटेर २ सय ७६ दशमलव ९५ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स शून्य दशमलव ४८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६२ अंक घटेको छ । सो साता १ सय ९२ कम्पनीको ३८ हजार ५ सय २५ पटकको कारोबारमा ३ अर्ब ४६ करोड ८१ लाख रुपैयाँबराबरको १ करोड २४ लाख १ हजार ८ सय ३८ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
 
 प्राविधिक विश्लेषण

आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ६७ दशमलव ५५ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता शून्य दशमलव ६८ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । सो साता कारोबारमा आएका १ सय ९२ कम्पनीमध्ये ९४ कम्पनीको सेयरमूल्य बढेको छ भने ६४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३४ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार २ सय ९१ दशमलव शून्य ९ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार २ सय ७० दशमलव ९१ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार २ सय ४९ दशमलव ८६ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार ३ सय १२ दशमलव १४ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार ३ सय ३२ दशमलव ३२ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

सर्वाधिक कारोबार हुनेमा सानिमाको संस्थापक सेयर

गत साता कारोबार रकम र सेयर संख्याका आधारमा सानिमा बैंकको संस्थापक सेयर अगाडि रह्यो । सो वाणिज्य बैंकको गत साता १९ पटकको कारोबारमा ३२ करोड ५० लाख ८० हजार रुपैयाँबराबरको १८ लाख ५ हजार कित्ता संस्थापक सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, शिवम् सिमेन्टको गत साता २३ करोड ६४ लाख ८२ हजार रुपैयाँबराबरको ६ लाख १९ हजार कित्ता र नेपाल बैंकको १८ लाखबराबरको ५ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा अगाडि रहेको शिवम् सिमेन्ट्सको गत साता ३ हजार २ सय २७ पटक सेयर खरिद–बिक्री भएको छ ।   

सर्वाधिक कमाउने हिमालयन डिस्टिलरी

गत साता हिमालयन डिस्टिलरीको सेयरमूल्य सर्वाधिक ३४ दशमलव ८३ प्रतिशत बढेको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको सेयरमूल्य गत साता १८ दशमलव ७९ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको १२ दशमलव ५ प्रतिशत र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्डको एकाइ मूल्य १० प्रतिशत बढेको छ । कारोबारमा आएको प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य गत साता १२ दशमलव २ प्रतिशत घटेको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ८ दशमलव ९३ प्रतिशत घटेको छ भने एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ७ दशमलव ४५ प्रतिशत घटेको छ ।  

 १ करोड ७४ लाख कित्ता सेयर सूचीकृत

गत साता ९ कम्पनीहरूले १ करोड ७४ लाख ९५ हजार ९९ दशमलव २५ कित्ता सेयर सूचीकृत गरेका छन् । गत साता हिमालयन बैंकले ४० लाख ५७ हजार २ सय ६५ कित्ता, मिसन डेभलपमेन्ट बैंकले ५ लाख ७१ हजार २ सय ८ दशमलव २२ कित्ता, साल्ट ट्रेडिङ कर्पोरेसनले ३ लाख ७ हजार ४ सय २४ कित्ता, सोल्टी होटेलले ६६ लाख ६१ हजार १ सय ६३ कित्ता, भार्गवन विकास बैंकले २ लाख ६४ हजार कित्ता, सिभिल लघुवित्तले ४३ हजार ८ सय ९० कित्ता, काबेली विकास बैंकले ७ लाख ३७ हजार ६६ दशमलव ४० कित्ता र नेपाल एसबिआई बैंकले ४० लाख २३ हजार ४ सय ५२ दशमलव ६३ कित्ता बोनस सेयर सूचीकृत गरेका छन् । त्यसैगरी, गत साता स्पर्श लघुवित्तले ८ लाख २९ हजार ६ सय ३० कित्ता आइपिओ सूचीकृत गरेको छ ।

५ समूहको परिसूचक बढ्यो

गत साता कारोबारमा आएका ११ समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक २ सय १५ दशमलव २९ अंक बढेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक ५६ दशमलव १९ अंक, निर्जीवन बिमा समूहको २० दशमलव ७२ अंक, व्यापार समूहको १३ दशमलव शून्य ५ अंक र अन्य समूहको १२ दशमलव ३६ अंक बढेको छ । 

जीवन बिमा समूहको परिसूचक गत साता सर्वाधिक १ सय ४ दशमलव ३० अंक घटेको छ । जलविद्युत् समूहको परिसूचक गत साता ६९ दशमलव ८९ अंक, लघुवित्त समूहको २४ दशमलव ७१ अंक, विकास बैंक समूहको १४ दशमलव २१ अंक, वित्त समूहको ६ दशमलव ७९ अंक र वाणिज्य बैंकको ३ दशमलव १ अंक घटेको छ ।