कविता :
घामको उज्यालोमा खोजे
अनि जुनको उज्यालोमा खोजे
राँको, दियो, टर्च अनि टुकी बालेर पनि खोजे
तर, कतै भेटाउन सकिन यो जीवनको अस्तित्व ।
एकान्तमा बसे अनि मुटुको कुना-कुनामा खोजे
साथिहरुको बीचमा रहेर पनि हेरे आफ्ना हरेक व्यवहार
अनि बोलिको प्रतिउत्तरमा पनि खोजे
त्यहाँ पनि भेटाउन सकिन जीवनको अस्तित्व ।
त्यसैले त मान्छेको भीडमा पनि आफुलाई एक्लै पाए
जब म बोल्न खोज्छु
भीडले ध्यान अन्तै लगाउँछ
केही गरेर देखाउँला भन्यो
आँखा चिम्लन्छ
अनि मलाई नै पागल बनाँउछ ।
बोलि वचन त के
श्रम, सम्मान अनि सहयोग पनि बिकेन
घृणा, अपमान अनि तिरस्कारभित्र
रुमल्लिएर बाँच्न यो ज्यान कहिल्यै सिकेन ।
विगत सम्झिन्छु आत्मग्लानी हुन्छ
वर्तमान हेर्छु लाज लाग्छ
अनि भविष्य सोच्छु डर लाग्छ
कसैलाई अलिक आफन्त मानि समीप जान खोज्छु
ऊ त कुष्ठ रोगीसँग तर्के झैं झन् पर भाग्छ ।
यो दुनियाँलाई हेर्छु
अनि फर्केर आफैलाई नियाल्छु
तुलना गर्छु पाउँदिन कुनै भिन्नता
तर, म त भ्रममा रहेछु
अरुको नजरमा मैले पहिल्यै गुमाइसकेको रहेछु
जीवनको अस्तित्व ।