मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख २८ शनिबार ०६:५८:००
Read Time : > 1 मिनेट
प्रदेश

इलाममा अझै पनि असुरक्षित गर्भपतन गर्नेको संख्या उच्च

Read Time : > 1 मिनेट
२०७६ बैशाख २८ शनिबार ०६:५८:००

केही समयअघि साखेजुङकी एक महिला असुरक्षित गर्भपतनका कारण सिकिस्त बिरामी परिन् । जथाभावी गर्भपतनको औषधि प्रयोग गर्दा रक्तस्रावले थलिएकी उनलाई सुरुमा उपचारका लागि जिल्ला अस्पताल इलाम लगियो । त्यहाँ उपचार सम्भव नभएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । प्रतिष्ठानमा पाँच पिन्ट रगत दिएपछि मात्रै उनी ठीक भइन् । 

इलाममा अझै पनि असुरक्षित गर्भपतन गर्नेको संख्या धेरै छ । डाक्टरकोे सिफारिसविना आफूखुसी गर्भपतनको औषधि सेवन गर्दा धेरै महिलाको स्वास्थ्य जोखिममा परेको सुरक्षित गर्भपतनको क्षेत्रमा काम गर्दै आएको आइपास नेपालका जिल्ला संयोजक केदार भण्डारीले बताए । चालू आर्थिक वर्षको चैत मसान्तसम्म साखेजुङ स्वास्थ्यचौकीबाट ६२ जनाले गर्भपतन सेवा लिएका छन् । स्वास्थ्यचौकीमा सेवा लिएका कसैको पनि स्वास्थ्य खराब नभएको स्वास्थ्यचौकीका इन्चार्ज गणेश रिजालले बताए । 

२१ स्वास्थ्य संस्थामा गर्भपतन सेवा

इलाममा जिल्ला अस्पतालसहित २१ वटा स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा उपलब्ध छ । तर, चेतना अभावका कारण अझै पनि धेरै महिला जोखिम मोलेर असुरक्षित गर्भपतन गराइरहेका छन् । ‘असुरक्षित गर्भपतनले स्वास्थ्यमा जटिलता देखिएपछि चालू आवमा ९१ महिला थप उपचारका लागि जिल्ला अस्पताल आएका छन्,’ निमित्त जनस्वास्थ्य प्रमुख टंक चौधरीले भने, ‘नजिकैका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध भए पनि असुरक्षित गर्भपतन गर्ने क्रम अझै रोकिएको छैन ।’ स्थानीय महिलाले औषधि पसलमा गर्भपतनको औषधि किनेर खाने गरेका छन् ।

०७३/७४ मा असुरक्षित गर्भपतनका कारण देखिएको जटिल उपचारका लागि ८५ महिला इलाम अस्पताल पुगेका थिए । ०७२/७३ मा ९१ महिलाले असुरक्षित गर्भपतनपछि जिल्ला अस्पतालबाट स्वास्थ्य उपचार सेवा लिएका अस्पताल प्रशासनले जनाएको छ । 

इलाम अस्पतालमा जुनसुकै अवस्थाको गर्भपतन गर्ने सेवा उपलब्ध छ । अन्य २० स्वास्थ्य संस्थामा नौ देखि १२ हप्तासम्मको गर्भपतन गराउन मिल्ने व्यवस्था छ । सदरमुकामबाहिरका स्वास्थ्य संस्थाबाट मात्रै चालू आर्थिक वर्षको नौ महिनामा ६ सय ६ जना महिलाले गर्भपतन सेवा लिएका छन् । यस अवधिमा इलाम अस्पतालबाट यो सेवा लिनेको संख्या ८८ रहेको छ ।