मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २७ शुक्रबार ०९:४३:००
Read Time : > 4 मिनेट
सेयर बजार

साताको अन्तिम दिन नेप्से घट्यो, कारोबार रकम बढ्यो

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २७ शुक्रबार ०९:४३:००

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ४३ प्रतिशत घटेर बन्द भएको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ५० करोडको सेयर किनबेच भएको बजारमा यस दिन ९४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । साढे ३२ करोड रुपैयाँ बराबरको सानिमा बैंकको संस्थापक सेयर खरिदबिक्री भएका कारण कारोबार रकम उल्लेख्य बढेको हो । यस दिन बजार खुलेको करिब १ घन्टासम्म उकालो लागेको नेप्से, त्यसपछिको समयमा ओरालो लागेको थियो । लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेका कारण बजार केही ओरालो लागेको एक ब्रोकरले बताए । अहिले बजारलाई तेस्रो त्रैमासको वित्तीय विवरणले प्रभावित पारेको छ । नाफाका आधारमा लगानीकर्ताहरूले लगानीको रणनीति बनाउन थालेका छन् । आर्थिक वर्ष सकिन एक त्रैमासमात्र बाँकी रहेका कारण अन्य त्रैमासको वित्तीय विवरण तुलनामा धेरै प्रभाव परेको एक लगानीकर्ताले बताए । 

बजार सारांश

नेप्से परिसूचक बिहीबार ५ दशमलव ६४ अंक घटेर १ हजार २ सय ९१ दशमलव ९६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ५५ अंक घटेर २ सय ७६ दशमलव ५२ विन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५० अंक घटेर बन्द भएको छ । यस दिन १ सय ७४ कम्पनीको ६ हजार ८ सय ३७ पटकको कारोबारमा ९४ करोड ७३ लाख ४७ हजार ७ सय ७६ रुपैयाँ बराबरका ३५ लाख ८५ हजार ६ सय ९५ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण

आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ६७ दशमलव ५५ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ५० रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७४ कम्पनीमध्ये ४८ कम्पनीको सेयरमूल्य बढेको छ भने ९६ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३० कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, आगामी कारोबार दिन नेप्से ओरालो लागेर १ हजार २ सय ८७ दशमलव शून्य ६ विन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा विन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ८२ दशमलव १७ विन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, आइतबार बजार उकालो लागे नेप्सेले १ हजार २ सय ९९ दशमलव ७६ विन्दुमा पहिलो   प्रतिरोधको सामना  गर्नेछ । सो विन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय ८२ दशमलव १७ विन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

कमाउनेमा सगरमाथा र नेपाल हाइड्रो

यस दिन कारोबारमा आएका सगरमाथा इन्स्योरेन्स र नेपाल हाइड्रो डेभलोपर्सको सेयरमूल्य क्रमशः ८ दशमलव ५१ प्रतिशत र ८ प्रतिशत बढेको छ । त्यसैगरी, हिमालयन डिष्टिलरी लिमिटेड र जानकी फाइनान्सको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । शिवम् सिमेन्ट्सको सेयरमूल्य यस दिन ५ दशमलव ३८ प्रतिशत बढेर ४ सय ११ रुपैयाँमा अन्तिम कारोबार भएको छ । प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य यस दिन ९ दशमलव २४ प्रतिशत घटेर १ सय ८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । मल्टिपर्पोज फाइनान्स कम्पनीको सेयरमूल्य ७ दशमलव ४५ प्रतिशत घटेको छ भने घलेम्दी हाइड्रोको ४ दशमलव ३१ प्रतिशत घटेको छ । 

सर्वाधिक कारोबार हुनेमा सानिमाको संस्थापक सेयर

यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा सानिमा बैंकको संस्थापक सेयर अगाडि रहेको छ । सो बैंकको यस दिन ३२ करोड ५० लाख ८० हजार रुपैयाँ बराबरको १८ लाख ५ हजार कित्ता संस्थापक सेयर किनबेच भएको छ । त्यसैगरी, कारोबार संख्याका आधारमा अघि रहेको शिवम् सिमेन्ट्सको यस दिन ७ सय १ पटकको कारोबारमा ५ करोड ३ लाख ५८ हजार रुपैयाँबराबरको १ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएको नेको इन्स्योरेन्सको यस दिन ४ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

८ समूहको परिसूचक घट्यो

यस दिन कारोबारमा आएका १० समूहमध्ये २ समूहको मात्र परिसूचक बढेको छ भने ८ समूहको परिसूचक घटेको छ । हिमालयन डिष्टिलरीको सेयरमूल्य बढेसँगै उत्पादनमूलक समूहको परिसूचक यस दिन १ दशमलव ५४ प्रतिशत बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ८७ प्रतिशत बढेको छ । 

जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ७९ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ७१ प्रतिशत, होटेल समूहको शून्य दशमलव ६ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव ५३ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैंक समूहको शून्य दशमलव ४९ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३९ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ३ प्रतिशत र अन्य समूहको शून्य दशमलव १३ प्रतिशत घटेको छ । 

३ प्रतिशत घट्यो पूर्णिमाको नाफा

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिसम्ममा पूर्णिमा विकास बैंक लिमिटेडको खुद नाफा ३  दशमलव  शून्य ७ प्रतिशत घटेको छ । गत आवको चैत मसान्तसम्ममा ५ करोड ८५ लाख ५८ हजार रहेको बैंकको खुद नाफा चालू आवको सोही अवधिसम्ममा घटेर ५ करोड ६७ लाख ५८ हजारमा सीमित भएको छ । सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घटेको हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २  दशमलव  १९ प्रतिशत घटेर ८ करोड ८४ लाख ५ हजार रुपैयाँमा पुगेको छ । बैंकको खुद ब्याज आम्दानी भने ११  दशमलव  ४४ प्रतिशत बढेर १३ करोड १८ लाख पुगेको छ । सो अवधिसम्ममा बैंकले ३ अर्ब ४३ करोड १९ लाख निक्षेप संकलन गरी ३ अर्ब १२ करोड ३ लाख कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप गत आवको सोही अवधिको तुलनामा २९  दशमलव  ६२ प्रतिशत बढी हो भने कर्जा २८  दशमलव  ४६ प्रतिशत बढी हो । त्यसैगरी, समीक्षा अवधिमा बैंकको जगेडा कोष २१  दशमलव  ७१ प्रतिशत बढेर १४ करोड ७४ लाख ९९ हजार पुगेको छ । सो अवधिसम्ममा बैंकको चुक्ता पुँजी ५५ करोड १२ लाख ८३ हजार रहेको छ । 

गत आवको चैत मसान्तको तुलनामा चालू आवको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा बढेर शून्य  दशमलव  ७९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा शून्य  दशमलव  २८ प्रतिशत रहेको थियो । सो अवधिसम्ममा सम्भावित जोखिमबापत व्यवस्थाका लागि बैंकले १ करोड ४२ लाख रुपैयाँ छुट्याएको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३  दशमलव  ७० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३  दशमलव  ७३ रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १ सय २६  दशमलव  ७६ रुपैयाँ रहेको छ । 

 २० प्रतिशत बढ्यो एनएमबिको नाफा

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा एनएमबि बैंकको खुद नाफा १९ दशमलव ९४ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड ११ लाख खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ३७ करोड ६६ लाख रहेको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड २१ लाख पुगेको छ । त्यसैगरी, बैंकले तेस्रो त्रैमासको ३ महिना अवधिमा ५४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २८ दशमलव ७० प्रतिशत बढी हो । गत आवको सोही ३ महिनामा बैंकको यस्तो नाफा ४२ करोड ४ लाख रहेको थियो । 

गत आवको चैत मसान्तको तुलनामा चालू आवको सोही अवधिमा बैंकको चुक्ता पुँजी २६ दशमलव ५० प्रतिशत बढेर ९ अर्ब ६१ करोड ८१ लाख पुगेको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष १९ दशमलव ६७ प्रतिशत घटेर ७ अर्ब १३ करोड ८२ लाख पुगेको छ । बैंकले सो अवधिसम्ममा ९३ अर्ब ९६ करोड ६२ लाख निक्षेप संकलन गरी ९० अर्ब ३९ करोड ६३ लाख कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ९० प्रतिशत बढी हो भने कर्जा २० दशमलव १९ प्रतिशत बढी हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५० दशमलव ८४ प्रतिशत बढेर ३ अर्ब ९ करोड ४१ लाख पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २ अर्ब ३४ करोड ९१ लाख पुगेको छ । गत आवको तेस्रो त्रैमासको अन्त्यमा २१ दशमलव ६५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालू आवको सोही अवधिसम्ममा १ दशमलव २४ रुपैयाँ बढेर २२ दशमलव ८९ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ सो अवधिमा १५ दशमलव ६३ रुपैयाँ घटेर १ सय ७४ दशमलव २२ रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात २० दशमलव ५५ घटेर १५ दशमलव ५५ पुगेको छ ।