मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गगन प्रधान
२०७६ बैशाख २६ बिहीबार १४:४८:००
Read Time : > 4 मिनेट
Read Time : > 4 मिनेट
गगन प्रधान
२०७६ बैशाख २६ बिहीबार १४:४८:००

हिमालयन जाभाका संस्थापक गगन प्रधान देशमा कफी–संस्कृतिका सुरुवातकर्ता हुन् । सन् १९९९ मा ठमेलबाट सुरु भएको हिमालयन जाभा अहिले काठमाडौं उपत्यकाभित्र ३६ ठाउँमा फैलिएको छ । यस्तै, पोखरा, चितवन, जोमसोम र नाम्चेमा पनि जाभाको आउटलेट सञ्चालनमा छन् । नेपालबाहिर तिब्बत, भुटान, दार्जिलिङ, थाइल्यान्ड हुँदै सात समुद्रपार अमेरिका र क्यानडासम्म जाभा पुगिसकेको छ । कोरियामा पनि उनले आउटलेट खोल्दै छन् । जाभालाई विश्वभर फैलाउने मिसनमा रहेका गगनले नयाँ पत्रिकासँग व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा :

कुनै काम गर्न स्पष्ट सोच र दृष्टिकोण हुनुपर्छ । सोचमा एकदमै केन्द्रित हुनुपर्छ । कफी पसल सुरु गर्दा चुनौतीका चाङ थिए । कफी पिउने नेपाली सीमित थिए, कफी पिउन जानेका थिएनन् । नेपालमा कफी व्यवसाय गर्ने दृढसंकल्प लिएर अस्ट्रेलियाबाट फर्किएको थिएँ । र, नेपाली कफी नै प्रवद्र्धन गर्छु भन्ने थियो । दृढसंकल्प, दृढविश्वास र मिहिनेतको सम्मिश्रणले सफलता दिलाएको ठान्छु । 

जब दिमाग पूरा तयार हुन्छ, सबै कुरा मिल्छन् । दिमाग चौतर्फी नाच्न थाले सफलता टाढा भाग्छ । सफलता रातभरमै मिल्दैन, दृढ भएर लाग्दा असम्भव केही छैन । सन् १९९९ मा हिमालय जाभा सुरु गर्दा वर्षको ३० टन हाराहारी कफी देशमा उत्पादन हुन्थ्यो । पहिलो कफी पसल खोल्दा हामीलाई वर्षको दुई सय किलो कफी भए छेलोखेलो हुन्थ्यो । कफी बेच्न थालेपछि कफी खेती र खपतबारे चासो बढ्यो । सन् २००३/००४ तिर एउटा तथ्यांक भेट्टाएँ, त्यसवेला यहाँ फल्ने ४०/५० टन कफीमध्ये ८० प्रतिशत निर्यात हुने रहेछ । कफीको प्रवद्र्धन हुन सकेको थिएन । त्यसवेला घर होस् वा रेस्टुरेन्ट तयारी कफी ‘नेस्क्याफे’ पाक्थ्यो । कफीको गेडाबाट बनाएको कफी पिउने चलन भर्खर हामी सुरु गर्दै थियौँ । अहिले देशमा साढे पाँच सयदेखि ६ सय टन कफी उत्पादन हुन्छ । मलाई लाग्छ, त्यसको ५ प्रतिशत कफी पनि निर्यात हुँदैन । अहिले कफीको आन्तरिक बजार यति बढेको छ कि निर्यात गर्न कफीको उत्पादन पर्याप्त छैन । धेरैजसो कफीपसलले स्थानीय कफी नै प्रयोग गरिरहेका छन् ।

इटालीको ‘लवाजा’ ब्रान्ड स्थानीय बजारमा छ । ‘इल्ली’ कफी पनि पाइन्छ । तर, इटालीमा कफी नै उत्पादन हुँदैन । यो इटालियन कफी कसरी भयो ? उनीहरू विदेशबाट कफीका गेडा लैजान्छन् र रोस्टिङ, प्याकेजिङ गरेर इटालियन ब्रान्डमा लेभलिङ गरेर निर्यात गर्छन् । हामीकहाँ कफी उत्पादन भए पनि ब्रान्डिङ गर्न सकिएको छैन । हामी नेताको भिजन भएन त भन्छौँ, तर व्यवसायीको भिजन खोइ ? 

मेसिन गुणस्तरीय हुँदैमा कफी गुणस्तरीय हुने होइन । कफी बनाउने बारिस्ता दक्ष भएर मात्र कफी राम्रो बन्दैन । कफीकै गुणस्तर राम्रो हुनुपर्छ । अहिले काठमाडौं र ललितपुरमै ११ सय कफीपसल पुगिसके । यहाँ उत्पादित कफीले पुग्दैन । नेपाली कफीको विदेशमा पनि उच्च माग छ । नेपालमा वार्षिक साढे पाँच सय टन कफी उत्पादन हुन्छ, यति कफी त विदेशमा एउटै किसानले उत्पादन गर्दिन्छन् । अन्तर्राष्ट्रिय बजारमा वर्षको १० हजार टनसम्म कफी बेच्ने ब्रान्ड छन् ।

कफी नगदेबाली त हो, तत्कालै प्रतिफल पाइँदैन । बिरुवा रोपेपछि प्रतिफल पाउन कम्तीमा पाँच वर्ष कुनुपर्छ । तर, हामीकहाँ अधिकांश साना किसान छन्, कफी रोपेर पाँच वर्ष कुर्न परे तिनले के खाने, के लाउने । ठूला व्यवसायी कृषिमा आकर्षित छैनन् । खेती गर्ने साना किसान नै हुन । यसैले अब सरकार सक्रिय नभई हुँदैन । सरकारले समृद्धिको गफ गरेर मात्र हुन्न । समृद्धि प्राप्त गर्ने हो भने कफीजस्तो अन्तर्राष्ट्रिय बजारमा ‘हटकेक’ हुने वस्तुको उत्पादन बढाउने कार्यक्रम ल्याउनुपर्छ । नत्र, नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा जतिसुकै माग भए पनि हामीले आन्तरिक बजारलाई धान्नेजति कफी पनि उत्पादन गर्न सक्तैनौँ । सरकारले १५ वर्षअघि कफी उत्पादनमा जोड दिएको भए आजको दिनमा ५–६ हजार टन उत्पादन हुन्थ्यो । 

मेरो खुबी कफीपसल चलाउने हो । तर, कफीखेतीमा पनि लागेको छु । भोलि मैले खोलेका कफीपसल चलाउन घरेलु कफी नै पाइएन भने आयातीत कफी प्रयोग गर्नुपर्ने हुन्छ । अहिले नै खेती सुरु गरे भोलि कफी नपाएरै आयातीत कफी प्रयोग गर्नुपर्ने छैन । अहिले कफी किन्ने यति धेरै छन्, बेच्ने नै छैनन् । म ‘खेतदेखि कपसम्म’ भनेर सक्रिय छु । 

बढ्दो व्यापारघाटा कम गर्न कफी गतिलो वस्तु हुन्थ्यो । नेपाली कफी सबैभन्दा उत्कृष्ट पनि होइन, नराम्रो पनि छैन । बाहिरबाट नेपाल फर्किएर हेर्दा सगरमाथाको देश भनेर सम्झिन्छन् । हिमालयको कुरा हुँदा ‘हाइअल्टिच्युट’को कुरा आउँछ । जति उचाइमा कफी फल्छ, त्यति राम्रो हुन्छ । यो फाइदा हामीलाई छ । तर, यसतर्फ न राज्यको ध्यान पुगेको छ, न कृषककै । बरु इन्डिया, इन्डोनेसिया, थाइल्यान्ड, इटाली, साउथ अमेरिकाबाट आयात भइरहेको छ । 

चुनौतीका चाङ
मुख्य समस्या सोचमै छ । मैले कफीपसल सुरु गरेपछि सयजनाले पछ्याए, ठीक छ । तर, १० जनाले कफीखेती पनि सुरु गर्दिएको भए कति राम्रो हुन्थ्यो । सरकारले चिया तथा कफी बोर्ड बनायो । उसको काम नै किसानलाई कफीमा आकर्षित गर्ने र स्थानीय कफीको प्रवद्र्धन गर्ने हो । खै के गरिरहेको छ ? बोर्डले युवालाई कफीखेतीमा आकर्षित गर्न सक्थ्यो । किसानलाई कफीखेतीबारे तालिम दिन सक्थ्यो । जानकारीमूलक कार्यक्रम गर्न सक्थ्यो । अनुदान दिन सक्थ्यो । 

भारतमा विदेशबाट कफी आयात गर्दा १०५ प्रतिशत कर–भन्सार लाग्छ । थाइल्यान्डले शतप्रतिशत कर असुल्छ । यहाँ अन्धाधुन्ध आयात भइरहेको छ । यहाँ पनि सरकारले उच्च कर लगाउनुपर्छ । ता कि नेपाल आउने विदेशी ब्रान्डका कफीले पनि स्थानीय कफी प्रयोग गरोस् । भोलि ‘स्टारबक्स’ आयो भने पनि स्थानीय कफी प्रयोग गरोस्, अनि पो हाम्रो कफीको ब्रान्डिङ हुन्छ । फेरि पनि आत्तिहाल्नुपर्ने अवस्थाचाहिँ छैन । हाम्रा लागि कफी नयाँ व्यवसाय हो । दुई दशकको कफीपसल यसरी फैलिनु उत्साहजनक हो । तैपनि उत्पादन र निर्यातमा धेरै गर्न सकिन्थ्यो भन्ने मात्र हो ।

विदेशमा लोकप्रिय 
विदेशमा नेपाली कफी लोकप्रिय छ । हिमालयको देशको कफी भन्ने छ । मैले विदेशमा नेपाली कफी मात्र होइन, ब्रान्ड पनि बेचिरहेको छु । यहाँका कफीका कथाहरू बेचिरहेको छु । स्थानीय कफी निर्यात पनि गर्छु । विश्वकै ठूलो कफी ब्रान्ड अमेरिकन स्टारबक्स हो । यो ब्रान्डले ३० हजार आउटलेट चलाउँछ । अमेरिकन कम्पनी भए पनि उसले अमेरिकन कफी प्रवद्र्धन गर्दैन । किनकि, उत्तर अमेरिकामा कफी नै फल्दैन । 

जति उचाइमा कफी फल्छ, त्यति राम्रो हुन्छ । यो फाइदा हामीलाई छ । तर, यसतर्फ न राज्यको ध्यान पुगेको छ, न कृषककै ।

विदेशमा कफी बेच्दा कफी मात्र यहाँको भएर भएन, कफीपसलको वातावरण नै नेपाली हुनुपर्छ । नेपालको कथा कफीसपमा झल्किनुप¥यो, अनि मात्र नेपालको कफी प्रवद्र्धन हुन्छ । विदेशीले दिल खोेलेर खर्च गर्छन् । अब मलाई विदेशमा हिमालयन जाभाका ५०–६० आउटलेट खोल्न समस्या छैन । ग्राहक पनि मज्जाले पाइन्छ । तर, समस्या नेपाली कफी पर्याप्त हुनुपर्‍यो । गुणस्तरको पनि चाहियो । नेपाली कफी भन्दै विदेशी कफी बेचेर ग्राहक ठग्दै बदनाम हुने पक्षमा म छैन ।

उपलब्धि
साझेदार आनन्द गुरुङ र मैले नेपाललाई विश्व कफी म्यापमा चिनाउने पनि मिसन लिएर व्यवसाय सुरु गरेका थियौँ, पैसा कमाउनु मात्र उद्देश्य थिएन । विश्व कफी म्यापमा चिनाउन योगदान पनि गरियो । दुई दशकअघि नेपालमा कफी फल्छ भन्ने नै विदेशमा थाहा थिएन । काठमाडौंमै कफी खाने चलन थिएन । अहिले कफी मेसिन उपत्यकाबाहिरका सहरसहरमा पुग्दै छ । काठमाडौंका गल्लीगल्लीमा चियापसल होइन, कफीपसल देखिन थालेका छन् । 
दुई दशकअघि मैले कफीपसल सुरु गर्दा विदेशी कफी प्रयोग गर्दिएको भए त्यसपछि खुलेका कफीपसलले पनि आयातीत कफी नै प्रयोग गर्थे होलान् । यसै पनि स्थानीय कफी मह“गो छ, विदेशबाट आयातीत सस्तो कफी प्रयोग गरौँ भनेको भए स्थानीय उत्पादनको प्रवद्र्धन हुँदैन थियो । कफीले उद्यमशीलता र रोजगारी सिर्जनामा पनि ठूलो सहयोग गरिरहेको छ । राजस्वमा योगदान बढ्दै छ ।

हिमालयन जाभाको विदेशका आउटलेटमा आउने ग्राहकले यो सगरमाथाको फेदमै फलेको कफी हो भनेर सोध्छन् । तर, त्यो त होइन । विदेशीले नेपाल भन्नेबित्तिकै सगरमाथा सोच्छन् । विदेशीको यस्तै सोच हाम्रा लागि सम्भाव्यता हो । विदेशीले हिमालयको कफी भन्दै मीठो मानेर पिउँछन् । नेपाली कफीको चर्चा गर्छन् । यो पनि ठूलो उपलब्धि हो । अमेरिकाको रेस्टुरेन्ट समीक्षा गर्ने सबैभन्दा ठूलो वेबसाइट ‘वाइइएलपी’मा नेपाली कफीबारे धेरै राम्रा समीक्षा आइरहेका हुन्छन् । यसले देखाउँछ– हामीले कफी उत्पादन गर्न सक्ने हो भने अन्तर्राष्ट्रिय बजार हाम्रा लागि खुला छ ।