१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एमजे अकबर
२०७६ बैशाख २६ बिहीबार ०८:३६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

भारतीय निर्वाचन र वंशवादको कमजोर प्रभाव

अमेठीमा हौसलासाथ चुनाव लडिरहेकी स्मृति इरानीसँग डराएजस्तो देखिएका राहुल गान्धीले आफ्ना लागि केरलको बायनाडबाट सुरक्षित वैकल्पिक क्षेत्र रोजेका छन्

Read Time : > 2 मिनेट
एमजे अकबर
२०७६ बैशाख २६ बिहीबार ०८:३६:००

भारतीय आमनिर्वाचनको सरगर्मी आफ्नै गतिमा अघि बढिरहेको छ । आधाभन्दा धेरै स्थानमा निर्वाचन भइसकेको छ । नतिजा अझै टाढा भए पनि केही व्यक्तिमा भने छट्पटाहट सुरु भइसकेको छ । इलेक्ट्रोनिक भोटिङ मेसिन अर्थात् इबिएमलाई देखाएर उनीहरूले चिच्याहट सुरु गरिसकेका छन् । तर, इबिएमबारे दुष्प्रचार भएको यो पहिलो चुनाव भने होइन । 

बारामतीमा आफूलाई अजेय ठान्ने शरद पवारले पछिल्लो निर्वाचनमा कहिल्यै इबिएमको खोट देखाएनन् । यसपटक उनले घोषणा नै गरेका छन्, आफ्नो किल्ला मानिएको निर्वाचन क्षेत्रमा छोरी सुप्रिया सुले हारिन् भने त्यसको एउटै कारक इबिएम हुनेछ । उनले यतिसम्म भनेका छन्– यदि इबिएमले उनको आशाअनुसारको तस्बिर देखाएन भने हिंसा भड्किन सक्छ । यस्तो न पहिलोपटक भएको हो, न अन्तिमपटक नै । हरेक नेताले आफ्नो सम्भावना कमजोर देखेका वेला यस्ता अनेक बहाना बनाउने गरेका छन् । 

आमनिर्वाचनले एउटा महत्वपूर्ण  तथ्य स्थापित गर्न खोजेजस्तो देखिन्छ, त्यो हो वंशवादी राजनीतिको असर कमजोर बन्दै गएको छ । यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको चुनाव अभियानको प्रत्यक्ष परिणाम मान्न सकिन्छ । उनले आफ्नो अभियानलाई सोनिया–राहुल गान्धीविरुद्ध मात्रै सीमित राखेनन्, यसलाई व्यापक अवधारणाका रूपमा विकास गरेर वंशवादमाथि नै जेहाद छेडे । यसैको चपेटामा परेका पवार सम्भावित क्षतिलाई लिएर आशंकित छन् । 

कर्नाटकमा पनि यस्तै छ । जनता दल–सेक्युलरका पुरोधा एचडी देवेगौडामाथि विरोधीले व्यंग्य गरिरहेका छन् । देवेगौडा अहिले चुनावी लडाइँमा उत्रिएका छन्, जब कि दुई सिटमा उनका नाति चुनाव लड्दै छन् । कांग्रेससँगको गठबन्धनमा पार्टीलाई प्राप्त कोटामध्ये आधा सिटमा उनको परिवारका सदस्य चुनाव लड्दै छन् । यसमा यो तथ्य पनि बिर्सन हुँदैन कि उनका छोरा राज्यका मुख्यमन्त्री छन् । विपक्षीले यसलाई चुट्किला नै बनाएका छन् । जुन यस्तो छ, ‘भगवान्लाई धन्यवाद छ कि देवेगौडाका २८ नाति छैनन् । नत्र यो राज्यका सबै २८ सिटमा उनले आफ्ना पार्टीका प्रत्यासी बनाउने थिए ।’

बंगालमा ममता बेनर्जीले आफ्नो विभाजनकारी राजनीतिबाट मतदाताको एक ठूलो वर्गलाई विमुख गराएकी छिन् । बंगालको ७० प्रतिशत जनसंख्या गाउँमा बस्छ । जहाँ, आर्थिक संकट ठूलो छ । यस्तो अवस्थामा आफ्ना भतिजा अभिषेक बेनर्जीका कारण पनि ममताको पक्षमा नकारात्मक माहोल बनिरहेको छ ।

अभिषेक यस परिवारका राजनीतिक उत्तराधिकारीका रूपमा अघि सरेका छन् । प्रधानमन्त्री बन्ने लालचले पनि उनलाई वंशवादको जालमा फसाएको छ । यस्तो अवस्थामा उनी कलकत्ताको गद्दीमा आफ्नो नजिकका आफन्तलाई राख्न चाहन्छिन् । अभिषेकले सहरको मध्य भागमा एक आलिसान बंगला बनाएका छन् । मतदाताका नजरमा यो भ्रष्टाचारको प्रतीक हो । उनीहरू यस भवनको तुलना ममता बेनर्जीको हवाई चप्पलसँग गर्दै छन् ।  

प्रधानमन्त्री बन्ने लालचले ममता बेनर्जीलाई वंशवादको जालमा फसाएको छ । उनी कलकत्ताको गद्दीमा आफ्नो नजिकका आफन्तलाई राख्न चाहन्छिन् ।
 

यसपटक अमेठी र रायबरेलीबाट राहुल गान्धी र सोनिया गान्धी चुनाव लड्दै छन् । १९६७ को आमनिर्वाचनपछि स्वतन्त्र निर्वाचन क्षेत्रका रूपमा अस्तित्वमा आएको अमेठीमा १५औँ पटक लोकसभा निर्वाचन हुँदै छ । एक चुनावलाई छाडेर अहिलेसम्म अमेठी र रायबरेलीले उस्तै जनादेश दिएका छन् । यसमा केवल १९९६ को चुनाव अपवाद रह्यो । तर, अमेठीमा हौसलासाथ चुनाव लडिरहेकी स्मृति इरानीसँग राहुल गान्धी डराएजस्तो देखिएका छन् ।

यसको प्रमाण यही हो कि उनले मतदातासँग यस इलाकामा गहिरिएको गरिबीको जवाफ दिन सकेका छैनन् । उनले आफ्ना लागि केरलको बायनाडबाट सुरक्षित वैकल्पिक क्षेत्र पनि रोजेका छन् । राहुल गान्धीको हाउभाउ देखेर अनुमान लगाउन सकिन्छ कि उनी अमेठीमा हार्न सक्छन् । यसमा हैरान हुनुपर्ने कारण छैन । तर, नजिकैको रायबरेली सिटमा कुनै आश्चर्य सम्भव छ ? कागजमा यहाँ श्रीमती सोनिया गान्धी हाबी छिन् । मायावती र अखिलेश यादवले उनीविरुद्ध प्रत्यासी पनि उतारेका छैनन् । भाजपासँग पनि यस क्षेत्रमा स्मृति इरानीजस्ता प्रभावशाली उम्मेदवार छैनन् । तर, विकासको अभावका कारण यहाँ पनि कंग्रेसको अवस्था राम्रो छैन ।  सोनियाको तुलनामा शरद पवार र मुलायम सिंह यादवजस्ता वंशवादी नेताले कमसे कम आफ्नो निर्वाचन क्षेत्रमा विकास त गरेका छन् । तर, गान्धी परिवार यस मामिलामा निकै पछि छ । 


(अकबर भारतीय जनता पार्टीका नेता तथा पूर्वमन्त्री हुन्)दैनिक जागरण डट कमबाट