१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख २६ बिहीबार ०६:३४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

देउवाको आक्रोश : राष्ट्रपति महारानी बनिन्, सभामुख इतिहासकै काँतर

'राणा फाल्यौँ, पञ्चायत फाल्याैं, राजा फाल्याैं, यो सरकारले कार्यशैली नसुधारे फेरि आन्दोलनमा जान्छौँ '

Read Time : > 2 मिनेट
२०७६ बैशाख २६ बिहीबार ०६:३४:००

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख कृष्णबहादुर महराले पदीय दायित्व बिर्सिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । पार्टीको राष्ट्रिय जागरणअन्तर्गत काठमाडौं जिल्लाको अभियान उद्घाटन गर्दै बुधबार देउवाले सरकारको कार्यशैली तानाशाही भएको र प्रधानमन्त्री केपी ओलीको अमर्यादित अभिव्यक्तिलाई संसद्मा सभामुखले छुट दिएको आरोप लगाए । उनले राष्ट्रपति भण्डारी महारानी बन्न खोजेको बताए । 

सरकारले कर्मचारी प्रशासनदेखि न्यायालयसम्मै हस्तक्षेप गरेको देउवाले बताए । हस्तक्षेप नरोकिए कांग्रेस आन्दोलनमा जाने उनको चेतावनी छ । ‘अब कम्युनिस्टबाट मुक्तिका लागि आन्दोलन गर्नुपर्ने दिन आउन सक्छ । कांग्रेसको जागरण अभियान यसैका लागि हो,’ देउवाले भने । जागरण अभियान कांग्रेसका लागि अवसर र चुनौती दुवै भएको भन्दै देउवाले अभियानलाई प्रभावकारी बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिए । 

सबै प्रतिनिधि निर्वाचित गर्न सकिन्छ

सभापति देउवाले केन्द्रीय सदस्य तयार भए तल्लो तहबाट चुनिएपछि मात्रै महाधिवेशन प्रतिनिधि बनाउन आफू तयार रहेको सुनाए । ‘जिल्ला सभापतिहरूको चासो केन्द्रीय सदस्य पनि निर्वाचित भएपछि मात्रै महाधिवेशन प्रतिनिधि बन्नुपर्छ भन्नेमा देखिएको छ,’ देउवाले भने, ‘तर, मैले केन्द्रीय सदस्यले माने मात्रै सहमति गराउँछु भनेको थिएँ । तर, उनीहरूले मानेनन् । सबै केन्द्रीय सदस्य तयार हुन्छन् भने भोलि नै चेन्ज गराउन तयार छु ।’

केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था आफ्नो पालामा नभई गिरिजाप्रसाद र सुशील कोइरालाको पालाकै अभ्यास भएको पनि देउवाले बताए । गिरिजा र सुशीलको पालामा विरोध नगर्ने र आफ्नो पालामा विरोध गरेको भन्दै उनले असन्तुष्टि जनाए । 

केन्द्रीय सदस्य प्रकाशमान सिंहले संविधान मिच्न खोजे कांग्रेस चुपचाप बस्न नहुने बताए । ‘सरकार जनवादी केन्द्रीयता लागू गर्नका लागि सबैतिर हस्तक्षेपको नीतिमा लागेको छ,’ सिंहले भने, ‘संविधान मिच्न खोजे हामी टुलुटुलु हेरेर बस्नुहुँदैन । दुईतिहाइ भएपछि जे पनि गरे हुन्छ भन्ने मानसिकताप्रति खबरदारी गर्नुपर्छ ।’ कांग्रेसले संगठनलाई विधि, विधान र पद्धतिमा हिँडाए मात्र बलियो पार्टी बन्ने उनको भनाइ थियो । 
पार्टी मजबुत बनाउन तल्लो तहका अधिवेशन समयमै गरेर जानुपर्ने पनि उनले बताए । सबैले पार्टी बनाउने प्रण गरे मात्र निर्वाचनमा भोगेको हारबाट माथि उठ्न सकिने उनको भनाइ थियो । 

कार्यक्रममा केन्द्रीय सदस्य बालकृष्ण खाणले कांग्रेस कमजोर बने राष्ट्रियता, लोकतन्त्र र जनअधिकार नै कमजोर बन्ने बताए । ‘वाइडबडी, बालुवाटारको जग्गा मात्रै होइन हामी सबैको भावना जोडिएको सहिदमञ्च बेचिएको विषय आएका छन्,’ खाणले भने, ‘यसरी ओलीपथ ज्ञानेन्द्रपथमा जाँदै गरेको विषयमा प्रश्न उठाउन नपाइने हो ?’ नेपालको संविधानले मेरो सरकारलाई नचिनेको भन्दै खाणले संविधानविपरीत राष्ट्रपति र प्रधानमन्त्रीले मेरो सरकार भन्न नपाउने बताए । 

जागरण अभियान देशैभर

कांग्रेसको राष्ट्रिय जागरण अभियानमा ७५ जिल्लामा सुरु भएको छ । सबै जिल्लामा कांग्रेस नेताहरूले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् । संगठन सृदृढीकरण, आन्तरिक एकता र सरकारविरुद्ध भण्डाफोर गर्न भन्दै बुधबारदेखि नेताहरूले पहिलो चरणको कार्यक्रम उद्घाटन गरेका हुन् । 

कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई सबै जिल्लामा पठाएको थियो । सात प्रदेशमा शीर्ष नेतालाई उद्घाटनसँगै सम्बोधनका लागि खटाएको छ । काठमाडौंमा सभापति शेरबहादुर देउवा, विराटनगरमा उपसभापति विजयकुमार गच्छदार, धनुषामा नेता रामचन्द्र पौडेल, पोखरामा महामन्त्री पूर्णबहादुर खड्का, बुटवलमा डा. शशांक कोइराला, सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र कैलालीमा उपसभापति विमलेन्द्र निधि पुगेका थिए । 

उनीहरूले पनि सरकारले कर्मचारी प्रशासन, न्यायालयमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । सरकारका क्रियाकलाप अधिनायकवादउन्मुख भएको भन्दै नेताहरूले पार्टीभित्र आन्तरिक एकता भए मात्रै सरकारविरुद्ध प्रभावकारी रूपमा खबरदारी गर्न सकिने बताएका छन् ।

राणा फाल्यौँ, पञ्चायत फाल्याैं, राजा फाल्याैं, यो सरकारले कार्यशैली नसुधारे फेरि आन्दोलनमा जान्छौँ : देउवा

हिजो संसद्मा देखिहाल्नुभो । प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोले । हामीले डिलिट गर्नुपर्छ भन्यौँ, विरोध गर्‍यौँ, तर सभामुखले डिलिट गर्न सकेनन् । नेपालको संसदीय इतिहासमै यति कमजोर, डरपोक र काँतर सभामुख देखिएकै थिएनन् । धेरै सभामुख देख्यौँ, तर यस्तो निरीह देखेका थिएनौँ । 

सरकार सत्तापक्षको, हाउस (सदन) प्रतिपक्षको भन्ने भनाइ छ । तर, सभामुखले त्यसको ओज राख्न सकेनन् । सभामुख निरीह भएपछि प्रधानमन्त्रीले जे पायो त्यही बोले । मैले त्यही भएर भनेको, कम्युनिस्ट शासन आएपछि यस्तै हुन्छ भनेर । 

राष्ट्रपतिको शैली उस्तै गरी बेलायती महारानीको जस्तो छ । गणतन्त्र आएपछि नेपाल सरकार भन्ने परम्परा नै बसिसकेको थियो । अहिले किन बेलायती महारानी शैलीमा मेरो सरकार भन्नुपर्‍यो ? हिजो राजा–महाराजाहरूको जस्तै अभ्यासमा राष्ट्रपतिलाई अब ‘हर मेजेस्टी’ भन्नुपर्ने हो ? बेलायती महारानीको भन्दा बढ्ता भइसक्यो कम्युनिस्टको हालत । 

राणा फाल्यौँ, पञ्चायत फाल्याैं, राजा फाल्याैं, तर कुर्सी भाँच्ने, रेलिङ भाँच्ने पार्टी होइन हाम्रो । अब कम्युनिस्टबाट मुक्तिका लागि आन्दोलन गर्नुपर्ने दिन आउन सक्छ । जागरण यसैका लागि हो ।