मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख २५ बुधबार २१:४८:००
Read Time : > 4 मिनेट
१२औँ वार्षिकोत्सव विशेषांक

श्रीलंकाबाट सिकौँ

Read Time : > 4 मिनेट
२०७६ बैशाख २५ बुधबार २१:४८:००

विनोद चौधरीले सन् २००० मा सुरु गरेको हस्पिटालिटी व्यवसायलाई उचाइमा पु¥याउने जिम्मेवारी माइँला छोरा राहुलको काँधमा छ । उनी सन् २००६ मा होटेल व्यवसायमा छिर्दा चौधरी समूहअन्तर्गत एक दर्जनजति होटेल सञ्चालनमा थिए, अहिले १ सय २७ होटेल पुगिसके । नेपाल, भारत, भुटान, श्रीलंका, माल्दिभ्स, चीन, दुबई, न्युयोर्कदेखि अफ्रिकासम्म लक्जरी होटेल फैलिसकेका छन् । ग्रुपले वर्षमा १० देखि १५ होटेल थपिरहेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक राहुलको लक्ष्य छ– सन् २०२० सम्म दुनियाँभर दुई सय होटेल पु¥याउने र सन् २०२५ सम्म नेपालको अर्बपति होटेलियर बन्ने । राहुलले नयाँ पत्रिकाका नवीन अर्यालसँग व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा :

नेपाल विश्वकै अलौकिक मुलुक हो । तीन–चार घन्टामै हिमालको मुटु कमाउने चिसोदेखि तराईको हपहपी गर्मीसम्म अनुभव गर्न सकिन्छ । यसरी नेपालमा प्रकृतिले पर्यटक लोभ्याउने सम्पूर्ण चिज दिएको छ । हाम्रो भौगोलिक अवस्थिति पनि गज्जबको छ, उत्तरतिर चीन र दक्षिणतिर भारत । विश्वकै विशाल र तीव्र आर्थिक विकास गरिरहेका मुलुकको बीचमा नेपाल छ । दुई मुलुकमा साढे दुई अर्ब जनसंख्या छ । अहिले चिनियाँ र भारतीयको खर्च गर्ने क्षमता ह्वात्तै बढेको छ । विश्वभर घुमफिर गर्नेमा पनि चिनियाँ र भारतीय नै अगाडि छन् । नेपालमा पहिले युरोपियन र अमेरिकन बढी आउँथे । अहिले चिनियाँ र भारतीय बढी आउँछन् ।
चौधरी समूहको विश्वभर होटेल सञ्जाल फैलिएको छ । अन्य मुलुकमा हाम्रा होटेलमा पनि भारतीय र चिनियाँ पर्यटकको वृद्धिदर सबैभन्दा बढी छ । बरु अमेरिकी र युरोपेली पर्यटक घटिरहेका छन् । चिनियाँ र भारतीय पर्यटकले सिजन कुर्दैनन् । त्यसैले हाम्रो ध्यान भारतीय र चिनियाँ पर्यटकमा केन्द्रित हुनुपर्छ । 

बढ्दो कनेक्टिभिटी
नेपालमा प्रकृतिमा रमाउनेदेखि धार्मिक, सांस्कृतिक र साहसिक पर्यटक ल्याउन सकिन्छ । नेपालको बाहिरी दुनियाँसँग कनेक्टिभिटी पनि बढ्दै गइरहेको छ । धेरै मुलुकसँग नेपालको हवाई सम्पर्क छ । भारतका मुख्य सहरमा हवाई सम्पर्क छ । बस पनि चल्छन् । चीनमा दैनिक आधा दर्जन उडान हुन्छन् । कोरिया, बैंकक, मलेसिया, सिंगापुर, हङकङ, दुबई, कतारमा उडान हुन्छ । नेपाल वायुसेवा निगमले जापानमा उडान गर्ने अनुमति पाइसकेको छ । बढ्दो कनेक्टिभिटीले नेपालमा पर्यटक भित्र्याउन सहज हुँदै छ । तर, समस्या पूर्वाधारमै देखिन्छ । जबसम्म मुलुकभित्र पर्याप्त पर्यटक पूर्वाधार निर्माण हुँदैन, तबसम्म पर्यटन क्षेत्र सुस्तगतिमा मात्र अगाडि बढ्छ । 

नेपालमा विश्वका धनाढ्य पर्यटक भित्र्याउन सकिन्छ । तर, जबसम्म पूर्वाधार निर्माण हुँदैनन्, तबसम्म पर्यटन क्षेत्र सुस्त गतिमा मात्र अगाडि बढ्छ ।

आश्चर्यजनक मुलुक
नेपाल सानो मुलुक हो, तर आश्चर्यजनक । दुई–तीन घन्टाको दूरीमा सूर्योदय हेर्न सकिन्छ । प्रकृतिमा रमाउन सकिन्छ । -याफ्टिङ, बन्जी, ट्रेकिङ जान सकिन्छ । हेलिकोप्टर चढेर बिहानको ब्रेकफास्ट खान सगरमाथा वा अन्नपूर्ण बेसक्याम्प पुग्न सकिन्छ । यहाँ बुद्धिस्ट सर्किट छ । एकैठाउँ यस्तो अवसर कहाँ पाइन्छ र ? 
विश्वभरकै हस्पिटालिटी व्यवसाय फरक भइसक्यो । अहिले हामी बेड बेच्दैनौँ, एक्सपेरियन्स (अनुभव) बेच्छौँ । एक्सपेरियन्सका लागि मान्छे जतिसुकै पैसा तिर्न तयार हुन्छन् । ‘पिस अफ माइन्ड’ र ‘एक्सपेरियन्स’का लागि मान्छेले जे पनि गर्न खोज्छ । नेपालमा सफारी, ट्रेकिङ, ¥याफ्टिङ, साहसिक गतिविधिमा रमाउन पाइन्छ । पर्यटकले खोजेभन्दा बढी एक्सपेरियन्स लिन पाउँछन् । नेपालीहरू दिल खोलेर पाहुनाको स्वागत–सत्कार गर्छन् । नेपाली शान्त छन्, मीठो बोल्छन् । नेपाललाई अहिले पनि मान्छेले हिडन ट्रेजर देशका रूपमा हेर्छन् । अमेरिका, युरोप घुम्दा एउटै स्वाद पाइन्छ । तर, नेपाल घुम्दा धेरै कुराको एक्सपेरियन्स लिन पाइन्छ । त्यसैले धेरैको घुम्नैपर्ने सूचीमा नेपाल हुन्छ । 

पूर्वाधारमा अडिएको पर्यटन
नेपालमा जतिसुकै सम्भावना भए पनि वा जतिसुकै प्रचार गरिए पनि पूर्वाधारको विकास नगरी पर्यटक भिœयाउन सम्भव छैन । निजी क्षेत्रले राम्रा–राम्रा होटेल खोलिरहेका छन् । होटेलका ठुल्ठूला ब्रान्डहरू भित्रिँदै छन् । तर, धेरै होटेल खुलेर मात्र हुँदैन । हाम्रो एयरपोर्ट, रोडलगायत पूर्वाधार पनि त्यत्तिकै राम्रो हुनुप-यो । तब न पर्यटक ओइरिन्छन् । पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रले एकैसाथ आ–आफ्नो क्षेत्रका पूर्वाधार विकासमा ध्यान दिन सक्नुपर्छ । 
दिल्लीबाट काठमाडौं आइपुग्न एक घन्टा लाग्छ । एयरपोर्टबाट बाहिर निस्कन तीन घन्टा लाग्छ । एयरपोर्टको यस्तो अवस्था छ, नेपालबारे कस्तो सन्देश जान्छ ? पर्यटकले कुनै देशको पहिलो अनुभव नै एयरपोर्टमा लिने हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गरेर दुईवटा धावनमार्ग बनाउन सकिन्थ्यो । एयरपोर्टमा सेवा–सुविधा पनि अन्तर्राष्ट्रियस्तरको बनाउन सकिन्थ्यो ।

याे पनि पढ्नुहाेस :  राहुलको सपना अर्बपति  होटेलियर

त्रिभुवन विमानस्थलको कम्पाउन्ड डोमेस्टिक एयरपोर्टका लागि बनाइएको थियो । एयरपोर्टभित्र ठूलो क्षेत्रफलमा गल्फ कोर्स छ । विमानस्थलका लागि जग्गा अति नै आवश्यक छ, जग्गा पाउन यति गाह्रो छ, मान्छे एयरपोर्टमा गल्फ खेलिरहेका छन् । गल्फ कोर्स, आयल निगमको डिपोसम्म एयरपोर्ट विस्तार गर्न सकिन्छ । ठूलो कम्पाउन्ड भएमा दुईवटा धावनमार्ग सजिलै बन्छन् । यो गर्न चाहना र भिजन चाहिन्छ । 

श्रीलंकाबाट सिक्नुपर्छ
नेपालमा बल्लतल्ल १० लाख पर्यटक पुगे । तर, गुणस्तरीय पर्यटनको अवधारणामा हामीले अझै पनि काम प्रारम्भ गरेका छैनौँ । नेपालमा कति गुणस्तरीय पर्यटक भित्रिन्छन् त ? ठमेलमा पाँच डलरमा रुम पाउँछ, सय डलरको पनि पाउँछ । बिक्री हुने पाँच डलरकै हो । अनि कसरी गुणस्तरीय पर्यटन आउँछन् । गुणस्तरीय पर्यटक भिœयाउन हामीले नीतिगत डिपार्चर लिनुपर्ने हुन्छ । हामी जहिल्यै ‘ब्याग प्याकिङ डेस्टिनेसन’ बनिरहनुहुँदैन । 

हामीले श्रीलंकामा सन् २००० मा होटेल सुरु गर्दा कोठाको रेट ४० अमेरिकी डलर थियो । अहिले त्यही कोठा दुई सय २० डलरमा बिक्री गरिरहेका छौँ । अहिले नेपाल श्रीलंकाले १९ वर्षअघि भोगेकै अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंका सरकारले पाँचतारेका कोठाहरू १५० डलरभन्दा कममा बेच्न नपाउने नीति बनाइदियो । अहिले श्रीलंकाको पर्यटन लोभलाग्दो छ । सबै बहुराष्ट्रिय ब्रान्ड भित्रिएका छन् । श्रीलंकाबाट हामीले सिक्नुपर्छ । श्रीलंकामा चीन र भारत लगानीका लागि हानथाप गरिरहेका छन् । 

हामीले मेघौली सेराई खोलेको तीन-चार वर्ष भयो । त्यो होटेलमा कोठाको रेट औसत ६-७ सय डलर छ । पर्यटक हेलिकोप्टर चढेर पुग्छन् । प्लेन चार्टर्ड गरेर जान्छन् । भरतपुरमा उत्रेर पनि जान्छन् । तर, भरतपुरबाट मेघौलीसम्म पुग्न निकै कठिन छ । उच्च कोटिको पर्यटक कच्ची सडकमा हल्लिँदै जान राम्रो मान्दैनन् । हामीले स्तरीय रिसोर्ट बनायौँ । अब सरकारले राम्रो सडक बनाउनुपर्छ । 

अहिलेको विकासमा पहिलो समस्या कर्मचारीतन्त्र, दोस्रो समस्या पूर्वाधार अभाव । नेपालले पर्यटकलाई अनअराइभल भिसाको सुविधा त दिएको छ । तर, एयरपोर्टमा भिसामा छाप हान्नका लागि घन्टौँ लाइनमा बस्नुपर्छ । हाम्रो सिस्टम नै स्मार्ट भइदिएन । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भनेर हामी लागिरहेका छौँ, तर कार्ययोजनामा ध्यान पु-याउन सकिरहेका छैनौँ ।
हवाई सुरक्षा पनि मुख्य चुनौती हो । एउटा हवाईजहाज दुर्घटना हुनेबित्तिकै युरोप र अमेरिकाले नेगेटिभ ट्राभल एडभाइजरी जारी गर्छन् । त्यसले ठूला होटेल प्रभावित भइहाल्छन् । प्राकृतिक विपत्तिले पनि उत्तिकै चुनौती थपेको छ ।

विदेशी ब्रान्डको आकर्षण 
नेपालमा धमाधम ताज, अलफ्ट, मेरियट, हिल्टनलगायत विदेशी ब्रान्डहरू आइरहेका छन् । यदि नेपालमा सम्भावना नदेखेको भए आउँदैनथे । लगानी गर्न निजी क्षेत्र तयार देखिन्छ । हामी पनि लक्जरी होटेलमा ठूलो लगानी गर्दै छौँ । मलाई पनि डर लागिरहेको छ, कतै होटेल चलाउन नसकिने त होइन ? हामीले मेघौलीमा सम्भावना देखायौँ । सफारी लज खोल्यौँ, ताज ग्रुपलाई भित्र्यायौँ । ललितपुरमा होटेल खोल्यौँ । यो क्रम जारी छ । हाम्रो विश्वभरि एक सय २७ होटेल पुगिसके । हामी प्रत्येक वर्ष १० देखि १५ होटेल थपिरहेका छौँ । 

युवालाई सम्भावना
सरकारले विदेशमा रहेका युवालाई नेपालमा अवसर देखाउनुपर्छ । युवाहरू धेरै स्मार्ट भइसके । उनीहरू नेपाल आउनै पर्दैन, दुनियाँभर काम पाउन सक्छन् । मान्छेले सजिलो जीवनशैली र अवसर खोज्छ । विदेशमा पढेका युवा नेपालमा किन आउने ? त्यहाँभन्दा राम्रो अवसर पाउनुप¥यो या आफ्नै बिजनेस हुनुप¥यो या काम गर्ने अवसर हुनुप¥यो । अवसर पाएनन् भने नेपाल आएका युवा पनि फर्किन्छन् ।