मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका
२०७६ बैशाख २५ बुधबार १५:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

समायोजनमा गएका कर्मचारीको सेवा, सुविधा कटौती नहुने : मन्त्री पण्डित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २५ बुधबार १५:२६:००

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन बनाउने संवैधानिक व्यवस्थाअनुसार त्यसको आधार र मापदण्ड तयारी भइरहेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार ‘संघीय निजामती सेवा ऐनलाई व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा उनले प्रदेश र स्थानीय तहको अधिकार कटौती नहुने गरी दुवै तहको निजामती सेवा ऐनको आधार र मापदण्ड तय गर्ने प्रतिवद्धता व्यक्त गरे  । प्रदेश र स्थानीय तहको समायोजनमा गएका कर्मचारीको सेवा, सुविधा कटौती गर्ने पक्षमा सरकार नरहेको उनले बताए । 

बैठकमा समितिका सदस्यहरुले प्रदेश र स्थानीय तहको अधिकार कटौती नहुने गरी संघीय निजामती सेवा ऐन बनाउन सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य जनार्दन शर्माले प्रदेश र स्थानीय तहको अधिकारमाथि हस्तक्षेप नहुने गरी संघीय निजामती सेवा ऐनको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सो ऐनले प्रदेश र स्थानीय तहका कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने आवश्यक्ता औंल्याए । 

समितिका अर्का सदस्य प्रेम सुवालले संघमा बढि कर्मचारी हुने व्यवस्था गरिएको भन्दै आपत्ति जनाए । उनले स्थानीय तहमा सबैभन्दा बढि कर्मचारी परिचालन हुने कानुनी व्यवस्था गर्न पनि सरकारको  ध्यानाकर्षण गराए । ४७ हजार भन्दा बढि कर्मचारी संघमा राख्ने कानुनी व्यवस्थाले स्थानीय तह र प्रदेशलाई कमजोर बनाउने सुवालको दावी छ ।

बैठकमा समितिका सदस्यहरुले संघ, प्रदेश र स्थानीय तहमा विभेद हुने गरी कर्मचारीहरुको व्यवस्था नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।