१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख २५ बुधबार ०७:३३:००
Read Time : > 3 मिनेट
फिचर

साहित्य-यात्रा : गुराँसमा  फुलेको रोल्पा

Read Time : > 3 मिनेट
२०७६ बैशाख २५ बुधबार ०७:३३:००

मकैको खोस्टा, गुराँस, रुखका पात, दुबो सबथोक माला बनेर टाँसिएका छन्, गलाभरि । युद्ध जितेको सिपाहीसँग देखाउन केही नभए पनि मनभित्र कति हो कति खुसी ! त्यही खुसीले रोल्पाको टुँडिखेल भरिएको छ । छेवैमा शान्ति स्तम्भमा सहिद रखवार गरिरहेका छन् । सहिदले मर्नुअघि के सोचेथे कुन्नि ?

पुग्नु छ थवाङ । कविहरूको लामो लस्कर छ, घाम भेट्न हिमाल उक्लिरहेका ‘पाकजोरा’जस्ता । उसैगरी हिँड्थे कुनैवेला जनसेना । ओखरेनी, घामतारा, घमिरे, जलजला । गुरिल्लाले मैलाएका बाटो हुन् यी । कति बिलाइगए होलान् यो बाटो हिँडेका गुरिल्ला ?

वैशाखको चर्को घाम । हिँडेर ओखरेनी पुग्दा झिसमिसे भइसकेको थियो । सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सीमामा पर्छ, ओखरेनी । डाँडामा उभिएर सोच्दा सम्झनुपर्ने सबथोक बिर्साउँछ, यो ठाउँले । 

कमरेड शेष स्वागत गेटअगाडि गेटभन्दा अग्लो भएर उभिएका छन् । जनयुद्धको लामो इतिहास भोगेका शेष त्यति उत्साहित देखिएनन् । ‘कमरेडहरू लालसलाम !’ भन्दै जोडजोडले मुठ्ठी उठाउन चाहन्थे उनी । ‘जनयुद्धबाट जे जति आर्जन भयो, यसैमा टेकेर समृद्ध नेपाल निर्माण गर्नतिर लाग्ने हो,’ अमिलो मन बनाएर पनि समृद्धिको सरकारी भाषा भट्याए उनले । 

‘मेस’ चलेको छ, ओखरेनीमा । ठूलो आगोको मूस्लोभित्र गुन्जिएकै छ, दोहोरी । लमजुङबाट पुगेका कवि प्रज्वल अधिकारी र रोल्पाकी देवी गुरुङ नारिएका छन् । पूर्वजनसेना क्षितिज मगर चोसेमोसे भएर धुवासँगै हराएका छन् । कुम जोडेर उभिएका कसैले विप्लवलाई बोलाउँदा कान ठाडो बनाएका स्थानीय ‘चुल्ठे विप्लव’ देखेपछि हैरान भए । खासखास खुसखुस गरे, ‘अर्कै विप्लव रैचन्, विप्लव प्रतीक रे ।’

ओखरेनीबाट पैँतीस सय मिटर अग्लो पहाड काट्न सबैले आवश्यक खजना जुटाए । राति अबेरसम्म आगोवरिपरि घुमिरहेका विप्लव बलियो लठ्ठी समाएर अघि लागेपछि बाबु त्रिपाठी, राज शाहहरू लथ्य्राकलुथु्रक भएर पछि लागे ।

जलजला धुरीको सहिद स्तम्भ पुग्ने गरी ओखरेनीबाट बाटो उकालियो । लालीगुराँस निकै कम देखिन्छन् । सेतो, कलेजी, बैजनी अनेक रङका गुराँसले ढकमक्क । घमिरे पाखालाई हेर्दा निकै अद्भूत लाग्छ, कवि विप्लव प्रतीकलाई । ‘प्रकृतिले कस्तो अद्भूत तरिकाले मिलाएर राखेको छ हगि ?’ विप्लव थामिनसक्नु अवस्थामा छन् । ‘हर रात सपनीमा ऐठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि’विप्लव प्रतीकको यो चर्चित गीतको कथा सुन्दै जलजला पुगियो । त्यतिवेलासम्म क्यामेराभरि जलजला खाँदिइसकेको थियो । 

‘जलजला पुगेपछि रामबहादुर थापा बादलले मेरो मृत्यु भयो भने यहीँ ल्याएर गाडिदिनु भनेको रे,’ युद्धकालीन कहानी सम्झँदै छन्, कथाकार नवीन विभास । हालका गृहमन्त्री रामबहादुर थापा बादलले जनयुद्धकै समयमा ‘सिज अभियान’ चलाएका थिए, जसको उभारले उनलाई नेतृत्वको माथिल्लो खुट्किला टेक्न सघायो ।

जलजला यात्रामा जनयुद्धका सम्झिनसक्नुका कहानी पनि सँगसँगै छन् । प्रकृतिको अद्भूत कलाकृति, धार्मिक सम्पदा यी यावत् कुराले यात्रा साँच्चै अविस्मरणीय बनिरहेको छ । कवि देवी नेपाल, स्नेह सायमी, विप्लव प्रतीकसहित सयभन्दा बढी यात्रामा छौँ । लाग्छ सिंगो नेपाल हामीसँग यात्रामा छ ।  पुगियो जलजला । 

जलजलाको टुप्पोमा बसेका छन्, जनवादी गायक मोहित श्रेष्ठ, पूर्वजनसेना कमान्डर क्षितिज मगर र द्वन्द्वकै विषयमा लामो समय पत्रकारिता गरेका नवीन विभास ।
‘भेटेर तिमीलाई, सोधुँ सोधुँ लाग्यो, 
लेखेर तिम्रो गीत, गाउँ गाउँ लाग्यो,
प्यारो जलजला !’

अनायासै सहिद स्तम्भमा गुन्जिएको गीतले सबैलाई भावुक बनायो । खुसी या बेखुसीले हो, सहिद स्तम्भमा रातो झन्डा जोडजोडले फरफरायो । सहिद स्तम्भ बनाउने हात जिउँदो होलान् ? झन्डा गाड्ने मान्छे कता होलान् ? सहिद स्तम्भलाई साक्षी राखेर हालेको जनयुद्धको भाका म¥यो या मारियो कि ! जसरी सकिए गाउँका सिलुक, जसरी सकिए गाउँका गीत ।
चुनु गुरुङ कतै सम्झनाको कुनामा आएर बसिन्– 
‘तिम्रै तिम्ति बरु यो ज्यान गए गैजाला
तिमीसँग गहिरो माया बस्यो जलजला
मेरो प्यारो लालकिल्ला प्यारो जलजला ....।’

सैनिक हिरासतमा मारिएका चुनु गुरुङले जलजलालाई जनयुद्धको प्रतिविम्ब बनाएर गीत गाइन् । जलजलासँग चुनु गुरुङजस्ता कैयौँको सपना मिसिएको थियो । जलजलामा फुलेका गुराँस भेटेर किन–किन क्षितिज मगर उत्साहित छन् । ब्यारेक जितेर सन्देश सुनाउन गाउँ छिरेको छापामारजस्तो उनको चेहरा साँच्चै हेरिरहूँ लाग्ने भएको छ ।

जनयुद्ध र रोल्पालीकै काँध टेकेर उक्लिएका नेताले जलजला र समग्र रोल्पाको विकासका लागि सोच्नुपर्ने र गर्नुपर्ने कति छ कति ! जलजलामा कलकल पानी उसैगरी बगिरहेको छ । ‘जस्तापाता कसरी पुग्यो जलजलामा ?’ कवि स्नेह सायमीलाई सायद मन परेन । जलजलाको सौन्दर्यमा जस्तापाताले निर्लज्जता प्रस्तुत गरेको भन्दै धेरैले व्यंग्य गरे । मेस चलिरहेको छ । दश घन्टाभन्दा बढी भइसकेको छ, पदयात्रा थालेको । ओखरेनी, घामतारा, घमिरे, जलजलासँग गफिँदागफिँदै पनि मनका अन्तरकुन्तरबाट भावना प्रवाहित भई नै रहेका छन् । थबाङ–जेल्बाङ बाटो जलजलाको बीचबाटै कुँदिएको छ । पैँतीस सय मिटर अग्लो ठाउँमा पनि पानीको खोला नै बगेको देख्दा अचम्मित छौँ, सबै ।

‘जलजलाको टुप्पोमा बसेर आफ्ना कविता वाचन गरुँला भन्ने कल्पना गरेको थिइनँ,’ कवि विप्लव प्रतीक औधी खुसी देखिन्छन्, जलजला चढ्न पाएकोमा । उसो त बेखुसी कोही थिएन । हाम्रो गन्तव्य भने थबाङ हो । ठाडै ओरालोले थबाङमोह कम गरिदियो । लामो हिँडाइले पनि कतिलाई अप्ठ्यारो आभास भइरहेको थियो । 

थबाङ पुग्न आतुर मन बेखुसी भइदियो । कारण, अँध्यारोले थबाङ हेर्न दिएन । ‘दिउँसो तीन बजेदेखि पर्खिरहेका छौँ,’ थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले पर्खाइपछिको खुसी सुनाए । मकै र भटमासको अग्र्यानिक स्वादले थबाङको खुला हृदय र सौहार्दता बुझ्न सहज भयो । 

जनयुद्धको केन्द्रको मानक बनाएको रोल्पामा साहित्य पनि फस्टाएको छ । साहित्यिक मन भएका रोल्पा नगरपालिकाका मेयर पुरण क्षेत्री यसको मुख्य नायक छन् । मुख्य र सहनायककै संयोजनमा यति बिघ्न कहानी अडिएको छ ।

अघिल्लो साल ‘बृहत् साहित्य सम्मेलन’ गरेर देशकै ध्यान तानेको रोल्पा नगरपालिकाले दोस्रो संस्करणको रूपमा ‘रोल्पा गुराँस साहित्य मेला’ आयोजना गरी फेरि आकर्षित गर्‍यो । मुख्य आकर्षण मानिएको कविता ट्रफी एक सय ८७ लाई उछिनेर खोटाङका १९ वर्षीय मोहन संग्रामले उचाले ।

रोल्पाको विद्रोह र साहित्य, साहित्यमा प्रगतिशील चेत, रोल्पाको रैथाने संस्कृति, समकालीन कविता लेखनको परम्पराजस्ता बहसले रोल्पा मात्र होइन, देश नै समेटियो ।

युद्धले रोल्पालाई जीवन दियो । अनि कति जीवन पनि लियो । हिसाब नमिलेको धेरै भइसक्यो । खैर, छोडौँ त्यो हिसाब । मंगले बुढाले भूवनको अनुहार बिर्सिए कि सम्झिँदै छन् अझै । दिलकुमारीले दुई–दुई श्रीमान् युद्धमा गुमाएपछि पनि बाँच्ने आँट त गरेकै छिन् । रोल्पाको माटोमा बगेको रगतसँग जलजलामा ढकमक्क फुलेको गुराँसको सौन्दर्य कहिलेसम्म मिसिएला ? भुइँमान्छेहरूको आवाज उठाएको बन्दुकलाई अब कलमको पनि सहारा मिल्छ कि !