मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
चित्र : दवायर डटइन
२०७६ बैशाख २३ सोमबार १४:०२:००
Read Time : > 2 मिनेट
ब्लग

‘भारतीय प्रधानमन्त्री मोदीलाई यतिको खुला पत्र !’

Read Time : > 2 मिनेट
२०७६ बैशाख २३ सोमबार १४:०२:००

नमस्कार मोदी जी

म यति जी । दुनियाँका धेरै मानिस मलाई घिनलाग्दो हिममानव पनि भन्ने गर्छन् । दुनियाँको महान रहस्य मध्य एकलाई वर्णन गर्ने यो अशिष्ट तरिका हो । सोच्नुहोस् त यदि कसैले तपाईलाई घिनलाग्दो हिममानव भन्यो भने तपाईलाई कस्तो महसुस हुन्छ ? त्यसकारण पनि तपाईको पार्टीको एक नेता, एक चौकीदार तरुण विजयको ट्विटले मलाई चस्स छोयो ।

उनले लेखेका छन्, ‘बधाई छ, हामीलाई तपाईप्रति सदैव गर्व छ । सलाम भारतीय सेनाको पवर्तारोहण अभियान टोली । तर कृपया, तपाईहरु भारतीय हो, त्यसैले यतिलाई जनावर नभन्नुस् । उसलाई सम्मान दिनुहोस् र हिममानव भन्नुहोस् ।’

जब मैले यो पढे, कपालले ढाकिएको मेरो अनुहारमा मन्द मुस्कान आयो र आँखामुनि आँशु रसाएर तुरुन्तै जमेर बर्फ बन्यो । यो मकालु वरुण राष्ट्रिय निकुन्जमा एकदमै चीसो छ । तर चौकीदार तरुण विजयले मप्रति दर्शाएको स्नेह र सम्मानले मेरो ह्रृदयलाई न्यानो र आत्मालाई खुसी तुल्याएको छ । संभवत मजस्तो कुनै मिथक प्राणीप्रति यसकिसिमको सम्मान र शिष्टाचार व्यक्त गरिएको यो पहिलोपटक हो । मैले आफ्नो छाति थप्थपाए । निकै आह्लादित हुँदै हिउँमा यताउता नाच्न थाले । र यतिधेरै माया पाएकोमा रोमान्चित भए । मैले तपाईका सैनिकले पत्ता लगाउन भनेर मेरा थप पदचिह्न छाडिदिएको छु । मैले कहिल्यै चौकीदार तरुण विजयलाई भेट्ने मौका पाए भने कस्सम, म उनलाई कसेर अँगालो हाल्नेछु र उनीसँगै हिउँमा नाच्नेछु ।

 

मोदीजी मैले तपाईलाई पत्र लेख्नुको खास कारण यो हो कि, तपाईहरु सबै मलाई बुझ्नुहुन्छ । किनकि, मजस्तै तपाई पनि अलिक मिथक नै हुनुहुन्छ । हामी दुवै मिथक प्राणी हौ । थुप्रै किस्सा तपाईका वरिपरी त्यसरी नै घुमिरहेका छन्, जसरी मेरो वरिपरी घुमिरहेका छन् । मेराबारेका किस्सा त्रास, आश्चर्य, भय, दुःख र यहासम्मकी आतंकले भरिएका छन् । मैले सुनेसम्म तपाईबारेका किस्सा पनि उस्तै छन् ।

 

हिमाली भेगमा रहने आमाहरु अक्सर मलाई पुकार्छन्, जब उनीहरुका बच्चाहरुलाई डराउनुपर्ने हुन्छ । ‘तिमी छिट्टै खाना खाऊ नत्र यति आएर तिमीलाई खाइदिन्छ’ वा ‘तिमी झट्ट आँखा बन्द गरेर सुत नत्र यतिले आएर लैजान्छ’ अथवा ‘जंगलमा धेरै नघुम, यति तिमीजस्तो बदमाशलाई लैजान पर्खिरहेको छ ।’ यस्तै, यस्तै ।

मलाई लाग्छ, तपाईका प्रवक्ता, मन्त्री, शुभचिन्तक, सहयोगी र भक्तहरु पनि तपाईलाई पुकार्छन, जब उनीहरु देशवासीलाई डराउन र देशवासीले गर्न नचाहेको काम गराउन उनीहरुलाई डर देखाउनुपर्ने हुन्छ  । के यो सत्य हो ? पक्कै पनि, तपाईको वरिपरी घुमिरहेको मिथले मेरो वरिपरी घुम्ने हरप्रकारका मिथलाई पार गरेको छ । त्यो अझ उपल्लो स्तरको छ ।

उदाहरणका लागि अपरिहार्यताको मिथलाई नै लिऊ, ‘मोदी नभए अर्को को त ?’ अकाट्यताको अर्को मिथ पनि छ, ‘आएगा तो मोदी ही (मोदी नै आउनेछन्) ।’ सुशासनको अर्को मिथ पनि छ कि, तपाई नै देशको रक्षक र चौकीदार हो र तपाईको नेतृत्वमा पछिल्ला केही वर्षमा देशले ठूलो प्रगति गरेको छ । भनिँदैछ कि मजस्तै एक बादर प्रजातिको प्राणी फेला परेको छ, जसले आफ्नै टाउको कोतरिरहेको छ ।

के तपाईको देशका जनता साँच्चिकै यो कुरा पत्याइरहेका छन् ? नोटबन्दीको नौटंकीका बाबजुद बेरोजगारी अहिलेसम्मकै उच्चबिन्दुमा तानिएको छैन र ? मेरो मिथ बनाउनेहरुले तपाईबाट एक-दुई वटा कुरा सिक्न जरुरी छ ।

मिथ निर्माणको कुरा गर्दा त्यो ‘बाल नरेन्द्र कमिक’ तपाईको बाल्यकाललाई कल्पनाबाहिरको बनाउने एउटा राम्रो प्रयास थियो । तर मैले भन्नै पर्छ मेरा लागि ‘तिबेत’ को ‘टिनटिन’झै तपाईका लागि भने त्यो पर्याप्त छैन । हेरगेले गलत भूगोल बताए, म तिब्बतमा होइन नेपालमा छु । तर उनको वर्णन मलाई पनि बहुतै रमाइलो लाग्यो । त्यसले त्यो पुस्ताका पाठकलाई रोमान्चित बनायो । मलाई लाग्दैन कि ‘बाल नरेन्द्र’ कहिल्यै त्यो कोटीमा पुग्न सक्छ । माफ गर्नुहोला ।

मैले भन्नै पर्छ, म त्यसबेला आफ्नो टाउको हल्लाएर बेस्कन हासे, जब मैले पढे कि तपाईले आमाबाट छुटाएर लगेको गोहीको बच्चालाई उनैसँग फर्काइदिनुभयो । पक्कै पनि तपाईको त्यो उभयचर प्राणीसँगको निडरता पत्रकार सम्मेलनमा प्रकट हुने तपाईको निडरता धेरै मिल्दोझुल्दो छ । हा हा । (यतिले मजाक गरेको हो । कृपया नरिसाउनु होला ।)

जे होस् तपाईसँग राम्रै कुराकानी भयो मोदी जी । सूर्य अस्ताउँदो क्रममा छ, अब मलाई पहाड उक्लेर आफ्नो सुन्दर, न्यानो गुफामा पुगेर बस्नु छ । तपाईको ठीक विपरीत मलाई राम्रो र लामो निन्द्रा सुत्नु छ ।

स्नेह सहित
यति जी

(भारतीय सेनाले यतिको पदचिह्न भेटिएको भन्दै तस्बिरहरु सार्वजनिक गरेपछि यो विषयले गत साता निकै चर्चा पायो । सामाजिक सन्जालमा भारतीय सेनाको दाबीलाई मजाकको विषय पनि बनाइयो । जे भए पनि यसले थुप्रै सन्चार माध्यममा स्थान पायो । यही सन्दर्भमा प्रकाशनमा आएको यो व्यङ्ग्यसामाग्री र यससँगै प्रस्तुत गरिएको चित्र दवायर डटइनबाट साभार गरिएको हो ।)