मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २३ सोमबार ११:४८:००
Read Time : > 2 मिनेट
सप्तरंग

पौडिन जानेकैले मेरी बास्सै खेल्न पाएँ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २३ सोमबार ११:४८:००

०६३ सालमा एसएलसी पास गरेर गोरखाबाट काठमाडौं आएँ । बाहिरबाट आउनेहरूका लागि काठमाडौंमा गाह्रो हुन्छ । कसरी बाँच्ने, के गर्ने, जागिर पाउनै गाह्रो । काठमाडौंमा दर्पन फिल्मस् भन्ने अभिनय सिकाउने एउटा इन्स्टिच्युट थियो । त्यहाँ एक वर्ष अभिनय सिकेँ । सानैदेखि मलाई अभिनयमा औधी रुचि थियो । त्यही कारण पनि फिल्म इन्स्टिच्युटमा भर्ना भएको थिएँ । 

पछि रवि डंगोल दाइसँग भेट भयो । उहाँको नम्बर खोजेर ‘पाले दाइ’ भन्ने फिल्मको सुटिङ भइरहेको ठाउँमा गएँ । उहाँलाई मसँग अभिनयमा एकदम रुचि भएको बताएँ । उहाँले सहयोग गर्ने बताउनुभयो । त्यो समयमा मसँग फोन थिएन । सबैको फोन डायरीमा टिपेर बोक्थेँ । रवि दाइसँग जितु नेपाल दाइको फोन नम्बर मागेर फिरेँ । 

जितु दाइलाई फोन गरेँ । उहाँले जिरे खोर्सानीको अफिसमा आउन भन्नुभयो । सहयोग गर्ने वचन पनि दिनुभयो । त्यही वचनका कारण ६ महिनासम्म जिरे खोर्सानीको अफिस धाएँ । एक दिन अचानक जिरे खोर्सानीको सुटिङ स्पटमा केदार घिमिरे (माग्ने बूढा) दाइलाई भेटाएँ । टिभीमा हेर्दा अर्कै देखिएको, उहाँलाई लाइभमा भेट्दा त छक्कै परेँ । विश्वास गर्न कठिन भयो । तर, माग्ने बूढा दाइ नै भएको कन्फर्म भएपछि फोन नम्बर मागेँ । अभिनयमा एकदमै रुचि भएको बताएँ । जब मेरी बास्सै टिभीमा आउँछ, माग्ने दाइलाई फोन गरेर मलाई पनि रहर छ भनिरहेँ । पछि दमन दाइले मेरी बास्सै छाडेपछि केदार दाइले ‘आउ न त काम गर्न’ भन्नुभयो । ०६४ सालको असारतिर देखि मेरी बास्सैको टिममा सामेल भएँ । तर, सुरुमा नै अभिनय पाइनँ । 

माग्ने बूढालाई गुन्डाले पिटेर खोलामा फाल्ने सिन थियो । अब माग्ने बूढालाई बचाउनुप-यो । कसले बचाउने त भन्दा पौडी खेल्न जान्ने मान्छेले । अनि मेरो नाम आयो ।

मेरी बास्सैको अफिस जान थालेपछि सीताराम कट्टेल दाइसँग भेट भयो । उहाँ र केदार दाइले एकदम सहयोग गर्नुभयो । एक–डेढ वर्षजति स्पटमा काम गरेँ । दुई–तीन वर्ष साउन्डम्यान भएर गरेँ । त्यही क्रममा माग्ने बूढालाई गुन्डाले पिटेर खोलामा फाल्ने सिन थियो । अब माग्ने बूढालाई बचाउनुप¥यो । कसले बचाउने त भन्दा पौडी खेल्न जान्ने मान्छेले । त्यो पनि माझीले । अनि मेरो नाम आयो । त्यसपछि मैले मेरी बास्सैमा ब्रेक पाएँ, बल्छी ध्रुवेको भूमिकामा । 
मेरी बास्सैमा काम गर्दै गइयो । सीताराम दाइले मलाई एक-डेढ वर्ष स्टेज प्रोगाममा सँगै लिएर जानुभयो । पात्र जन्माउनका लागि केदार दाइको भूमिका थियो । दुवैजनाप्रति म कृतज्ञ छु । काम गर्ने सिलसिलामा पछि असिस्टेन्ट डाइरेक्टर भएँ । राजु मास्टर र मैले दाइहरू कार्यक्रमका लागि विदेश गएका वेला स्क्रिप्टको काम पनि ग-यौँ । 

पछि आर्थिक कारणले गर्दा केदार दाइले मेरी बास्सै छाड्नुभयो । सीताराम दाइ हुनुहुन्थ्यो । केही समयपछि उहाँले पनि छाड्नुभयो । भूकम्पपछि सामाजिक काममा व्यस्त भएका कारण उहाँले छाड्नुभएको थियो । त्यसपछि मैले र राजु मास्टरले गरिदिन प्रस्ताव आयो । 
एक वर्षदेखि काम गरिरहेका थियौँ । विवादहरू भए । समयमा पैसा नपाउनेलगायत अनेक समस्या आइलाग्न थाल्यो । राजु मास्टरले अर्को ‘ह्वाट’ भन्ने सो युट्युबमा चलाउनुभएको थियो । हप्तामा तीन दिन मात्र काम हुन्थ्यो । बाँकी दिन फुर्सद नै हुन्थ्यो । अफिसले यसमा आपत्ति जनायो । ‘आफ्नोतिर धेरै ध्यान दिने भए मेरी बास्सै छाडिदिनुस् । मेरी बास्सैमा काम गर्न चाहनुहुन्छ भने आफ्नो काम छाडिदिनुस्,’ भन्यो । त्यपिछि होलीको एपिसोडबाट हामीले मेरी बास्सै छाड्यौँ । 

मेरी बास्सै छाड्दा दुःख पनि लाग्यो । वर्षौंसम्म काम गरेको थिएँ । जुन पात्रले मेरो जीवन नै परिवर्तन गरेको थियो । म सामान्य किसानको छोरो । हिजोको दिनमा कोठाभाडा तिर्न गाह्रो हुन्थ्यो । अहिले जुन अवस्थामा छु, त्यो बल्छी ध्रुवेको कारण नै छु । आजभन्दा १० वर्षअगाडि एक ठाउँमा भुइँ पुछ्ने काम गर्थें । त्यतिवेला मलाई कसैले पनि चिन्दैनथे । अहिले सबैले चिन्छन्जस्तो लाग्छ । मलाई चिनाउने काम मैले निभाएको भूमिका बल्छी ध्रुवेका कारण नै हो ।

त्यो पात्रसँग १०-१२ वर्ष काम गरेँ । बल्छी ध्रुवेसँग मेरो प्रेम छ । मेरी बास्सै मेरो घर पनि हो, एक हिसाबले । घर छाड्नुपर्दा दुःखी त भएँ नै । त्यहीँ झुन्डिरहको भए आर्थिक हिसाबमा केही प्रगति पनि हुँदैनथ्यो । मैले पनि बाँच्नुपर्छ । परिवार छन्, पाल्नुपर्छ । अब त्यही पात्रमा अर्को सिरियल ल्याउँदै छौँ, राजु मास्टर र मैले । केही समयपछि एनटिभीबाट नै प्रसारण हुनेछ ।