१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ बैशाख २२ आइतबार ०९:५४:००
Read Time : > 1 मिनेट
खेलकुद

पुलिसलाई मेचीनगर गोल्डकप उपाधि

Read Time : > 1 मिनेट
२०७६ बैशाख २२ आइतबार ०९:५४:००

नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडेनडेथमा हराउँदै शनिबार काँकडभिट्टामा आयोजित मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सडेनडेथमा मानबहादुर परियारको  प्रहार आर्मीका गोलरक्षक विकेश कुथूले छेक्न नसक्दा पुलिसले उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले १० लाख र उपविजेता आर्मीले पाँच लाख रुपैयाँ हात पारेका छन् । नेपालगन्जमा दुई साताअघि सम्पन्न आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलको स्वर्ण भिडन्तमा आर्मीले पुलिसलाई हराएको थियो । पुलिसले काँकडभिट्टामा आर्मीसँग नेपालगन्जमा बेहोरेको हारको बदला लियो । 

निर्धारित समय गोलरहित
प्रतिस्पर्धात्मक बनेको फाइनलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा दुवै टोलीबाट ३–३ गोल भए । टाइब्रेकरमा समेत उपाधि छिनोफानो नहुँदा खेल सडेनडेथमा पुग्यो । सडेनडेथमा आर्मीका विकास तामाङको प्रहार अकासिएको थियो । पुलिसका मानबादुरको प्रहार पोस्टमा लागेको थियो । क्रसबारबाट रिबाउन्ड भएकोे बल गोलरक्षक कुथूको शरीरमा ठोक्किँदै गोलमा परिणत भयो । 

टाइब्रेकरमा गोलरक्षक चम्किए
टाइब्रेकरमा पुलिसका सुमन लामा, कप्तान भरत शाह र रेजिन सुब्बाले गोल गरेका थिए । अजित भण्डारी र आशिष गुरुङको प्रहार आर्मीका गोलरक्षक कुथूले बचाए । आर्मीका दीपकुमार लामा, टेकबहादुर बुढाथोकी र सन्तोष तामाङ गोल गर्न सफल भए । नवयुग श्रेष्ठको प्रहार अकासिएको थियो । जर्जप्रिन्स कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाए । पुलिसका गोलरक्षक खड्का म्यान अफ द म्याच घोषित भए । 

उत्कृष्टले पाए जनही २१ हजार
प्रतियोगिताका सबै उत्कृष्ट खेलाडीले जनही २१ हजार रुपैयाँ पाएका छन् । राइजिङ प्लेयर काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका एन्जल गुरुङ भए । उत्कृष्ट गोलरक्षकको उपाधि पुलिसका शत्रुघ्न चौधरीले पाए । यसैगरी, उत्कृष्ट डिफेन्डर पुलिसका आशिष गुरुङ घोषित भए । उत्कृष्ट मिडफिल्डर आर्मीका सेसेहाङ आङदेम्बे र उत्कृष्ट स्ट्राइकर आर्मीका नवयुग श्रेष्ठ भएका छन् ।  पुलिसका अनन्तराज थापा उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी हुँदै पुलिसका रवि पासवानले एक लाख रुपैयाँ हात पारे ।