मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गीता आचार्य, शाखा अधिकृत, राष्ट्रिय सतर्कता केन्द्र 
गीता आचार्य
२०७६ बैशाख २२ आइतबार ०९:४७:००
Read Time : > 2 मिनेट
लोकसेवा

अधिकृत भएपछि श्रीमानलाई वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पढाएँ 

Read Time : > 2 मिनेट
गीता आचार्य
२०७६ बैशाख २२ आइतबार ०९:४७:००

निजामती सेवालाई समाजको मर्यादित र प्रतिष्ठित पेसाका रूपमा लिइन्छ । तर, बढ्दो आकर्षणका कारण लोकसेवामा चर्को प्रतिस्पर्धा हुन्छ । महिलाको हकमा आरक्षण सुविधा भए पनि लोकसेवा पास गर्नु पहिलेभन्दा निकै चुनौतीपूर्ण हुँदै गएको छ । त्यसैले लोकसेवा पास गर्न अथक मिहिनेत र नियमित अध्ययन जरुरी हुन्छ। 
मेरो लोकसेवा यात्रा

स्नातक तहमा व्यवस्थापन संकायको विद्यार्थी भएकाले मेरो सपना बैंकर बन्ने थियो । त्यसैले पनि लोकसेवा पढ्ने सोच मेरो दिमागमा कहिल्यै आएन । स्नातक तह अध्ययनका क्रममा बुबाले किनेर ल्याइदिनुभएको लोकसेवाका किताब धमिराले धुल्याउँदासम्म पनि हेरिनँ । त्यतिवेला लोकसेवा पास हुन सक्छु भन्ने लाग्दैनथ्यो । स्नातक तहको अध्ययन सकिनेबित्तिकै मेरो विवाह भयो । विवाहपछि पढाइलाई निरन्तरता दिन गाह्रो हुन्छ भनिन्छ । तर, मेरो हकमा त्यस्तो भएन । 

घरपरिवारबाटै मलाई लोकसेवा पढ्न प्रेरणा मिलेको हो । घरनजिकैको विद्यालयमा निम्नमाध्यमिक तहको अस्थायी शिक्षकबाट राजीनामा दिएर लोकसेवा पढ्न काठमाडौं आएकी थिएँ । ०७० मा काठमाडौं आएर लोकसेवा तयारी थालेँ । पहिलो वर्ष समय अभाव र लोकसेवाको शून्य तहबाट सुरु गर्नुपर्ने भएकाले नायब सुब्बाको तयारी गरेँ । ०७१ मा नासु पास गर्न सफल भएँ । र, साबिकको पुनरावेदन अदालत बुटवलमा सिफारिस भएँ । त्यसै वर्ष शाखा अधिकृतको फाराम त भरेँ, तर राम्रो तयारी भएको थिएन । ०७२ सालमा आएर शाखा अधिकृतमा खुलातर्फबाट सिफारिस भएँ । 

 नियमित तथा सबै पत्रको सन्तुलित अध्ययनका कारण म नायब सुब्बा र शाखा अधिकृत दुवै परीक्षामा पहिलो सहभागितामा नै सफल भएँ । आफू वैदेशिक रोजगारीमा रहेर मलाई लोकसेवा पढाउने श्रीमान्लाई शाखा अधिकृत भएपछि १० वर्षे वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पढाएँ । उहाँ पनि पास हुनुभयो । 

यसरी पढेँ

  • व्यक्तिअनुसार अध्ययन शैली फरक–फरक हुन्छ । कसैले घोकेर, लय मिलाएर त कसैले सूत्र बनाएर सम्झने गर्छन् । तर, मेरो अध्ययनशैली अरूको भन्दा बेग्लै छ । मैले घोकेर र सूत्र बनाएर पढ्न कहिल्यै सकिनँ । धेरै समय लगातार पनि पढ्न सक्दिनथेँ । 
  • पत्रपत्रिकाका लेख तथा बृहत् पुस्तकहरूको अध्ययन गरेर विषयवस्तु बुझ्ने कोसिस गर्थें । तयारी कक्षाका पृष्ठपोषण कक्षाहरूमा सहभागी हुँदा स्वमूल्यांकन गर्ने, आफ्ना प्रतिस्पर्धी चिन्नेलगायतका अवसर मिल्यो । र, त्यहीँबाट आफ्ना कमी–कमजोरी सुधार्न सहज भयो । 
  • परीक्षामा उत्तर लेख्दा परिमाणभन्दा गुणस्तरलाई मध्यनजर गर्थें । उपयुक्त शब्द चयनलाई ध्यानमा राखेर विषयवस्तुभित्र पसेर उत्तर लेख्ने प्रयास गरेँ । मेरो वस्तुगतभन्दा विषयगत पक्षको तयारी बलियो थियो । 
  • लामो समय लगातार पढ्न म सक्दिनँ, बीच–बीचमा ‘रिफ्रेसमेन्ट’ चाहिन्छ । लगातार दुई घन्टा पढेँ भने एक घन्टा त मलाई ‘रिफ्रेस’ हुनुपर्छ । 
  • पढ्दा एउटै विषयवस्तुमा पनि धेरै सामग्रीको अध्ययन गरेर आफ्नो मौलिकतामा छुट्टै निचोड निकाल्थेँ । केही समय भए पनि निमावि तहमा गणित विषय अध्यापन गराएकाले मलाई ‘आइक्यू’मा त्यसले धेरै सघाउ पुग्यो । 
  • काठमाडौंमा भर्खर आएको र यहाँ धेरै साथी नबनाइसकेकाले मेरो समूह अध्ययन कहिल्यै भएन । 
  • यसरी नियमित तथा सबै पत्रको सन्तुलित अध्ययनका कारण म नायब सुब्बा र शाखा अधिकृत दुवै परीक्षामा पहिलो सहभागितामा नै सफल भएँ । आफू वैदेशिक रोजगारीमा रहेर मलाई लोकसेवा पढाउने श्रीमान्लाई शाखा अधिकृत भएपछि १० वर्षे वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पढाएँ । उहाँ पनि पास हुनुभयो । 
  • यसबाट मलाई के लाग्छ भने मिहिनेत गर्‍यो भने असम्भव केही पनि छैन ।

आफूलाई सहज हुने गरी पढ्नुपर्छ

  • पढ्ने शैली सबैको फरक–फरक हुने भएकाले आफूलाई कसरी पढ्दा सहज हुन्छ, त्यस्तै शैली अपनाउँदा राम्रो हुन्छ । 
  • परीक्षा दिएर बाहिर आउँदा साथीहरूका कुरा सुन्दा मलाई पनि लाग्थ्यो कि यिनीहरूले यति धेरै मिलाएका छन्, मेरो त थोरै मिलेको छ, पास हुन गाह्रो छ । तर, यथार्थमा त्यस्तो नहुँदो रहेछ, कसैले अरूलाई हतोत्साहित गराउन पनि यसो भन्ने गर्दछन् । त्यसैले यस्तो बहकाउमा नआएर अध्ययनलाई निरन्तरता दिनुपर्छ । 
  • विषयगत अध्ययनलाई फराकिलो बनाएर पढ्न सकेमा उत्तर लेख्दा सहज हुन्छ । परीक्षामा सोधिएको प्रश्नले के मागेको छ भन्ने कुरालाई ध्यान दिएर मौलिक तथा तथ्यपरक उत्तर लेख्दा राम्रो हुन्छ । 
  • अध्ययन गर्दा विषयवस्तुसँग मेल खाने पत्रपत्रिकामा प्रकाशित लेख, आवधिक योजना तथा प्रशासनिक सुधार प्रतिवेदनमा प्रकाशित विषयहरूलाई विषयवस्तुसँग आन्तरिकीकरण गरेर पढ्नु राम्रो हुन्छ । 
  • पढ्दा अरूको नोट तथा विभिन्न संस्थाका नोट त अरू सबैले लेख्ने हुनाले आफ्नो छुट्टै मौलिक उत्तर लेख्दा पृथक हुन्छ र जाँचकीलाई प्रभाव पार्न सकिन्छ । पढेका 
  • विषयलाई निरन्तर रूपमा पुनरावलोकन र समय–समयमा स्वमूल्यांकन गर्नुपर्छ ।