मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
जितेन्द्र खड्गा
२०७५ मङ्सिर २७ बिहीबार ०५:००:००
Read Time : > 1 मिनेट
प्रदेश

सशस्त्र मोर्चाले बुझायो हतियार

Read Time : > 1 मिनेट
जितेन्द्र खड्गा
२०७५ मङ्सिर २७ बिहीबार ०५:००:००

गोइत समूहबाट विद्रोह गरेका ११ नेता शान्तिपूर्ण राजनीतिमा आए
सशस्त्र संघर्षरत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका एघारजना नेता राज्यलाई हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आएका छन् । सरकारलाई हतियार बुझाउँदै उनीहरूले सशस्त्र संघर्ष त्यागेको घोषणा गरेका हुन् । सरकारद्वारा गठित राजनीतिक वार्ता समितिका सदस्यहरूको उपस्थितिमा उनीहरूले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई हतियार बुझाए ।

शान्तिपूर्ण राजनीतिमा आएकाहरू जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीबाट गत २ जेठमा विद्रोह गरेका नेता हुन् । गोइत नेतृत्वको समूहसँग विद्रोह गरेपछि उनीहरूले अविनाश भनिने उपेन्द्र यादवको संयोजकत्वमा मोर्चा गठन गरेका थिए । सरकारद्वारा गठित वार्ता समितिसँग विभिन्न चरणमा गोप्य रूपमा भएका वार्तामा सहमति जुटेपछि उनीहरू बुधबार हतियार बुझाएर सार्वजनिक भएका हुन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको सरकारीनिवासमा आयोजना गरिएको कार्यक्रममा उनीहरूले हतियार बुझाए । कार्यक्रममा सरकारको वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डे, सदस्यद्वय ताराकान्त चौधरी र सुरेश आले मगर पनि उपस्थित थिए ।

वार्ता समितिलाई पहिलो सफलता
नेपाल सरकारले गत असोजमा असन्तुष्ट पक्षहरूसित वार्ता गर्न पाण्डेको संयोजकत्वमा तीन सदस्य राजनीतिक वार्ता समिति गठन गरेको थियो । त्यसयता समितिले विभिन्न समूहसँग वार्ता गरिरहे पनि हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आएको यो पहिलो समूह भएको संयोजक पाण्डेले बताए । उनीहरूसँग बन्दी रिहाइ, राजनीतिक मुद्दा फिर्ता, प्रहरी तथा नेपाली सेनामा मधेसी युवाको भर्नासहितका ६ बुँदे सम्झौता भएको समितिका संयोजक पाण्डेले जानकारी दिए ।

शान्तिपूर्ण संघर्ष गर्ने चाहना
मोर्चाका संयोजक अविनाश भनिने उपेन्द्र यादवले आफूहरू अब शान्तिपूर्ण राजनीतिमा सक्रिय हुने बताए । यसअघि मधेस र देशका लागि सशस्त्र आन्दोलन गरेको बताउँदै उनले मधेसलाई अधिकार सम्पन्न बनाउन तथा सरकारसँग भएका सम्झौता कार्यान्वयन गराउन अब शान्तिपूर्ण संघर्ष जारी राख्ने बताए ।

हतियार बिसाउनेहरूको सूची
मोर्चा संयोजक अविनाश भनिने उपेन्द्र यादव, नेताहरू प्रदीप भनिने नथुनी यादव, रोशन भनिने रामपुकार साह, कमल भनिने योगेन्द्र यादव, भगत सिंह भनिने भवानीप्रसाद अगरिया यादव, बद्री यादव, राहुल भनिने मोहम्मद नसीर, सञ्जय भनिने देवेन्द्र खड्गा, शंकर भनिने सञ्जय यादव र फूलबाबु भनिने पूmलकुमार यादव हतियार बुझाएर सार्वजनिक भएका हुन् । उनीहरूले १० थान कटुवा पेस्तोल, लामो नाल भएको एक थान कटुवा पेस्तोल, दुई थान रिभल्भर, कटुवा पेस्तोलमा प्रयोग हुने ९ थान गोली, रिभल्भरमा लोड भएको गोली १ थान र १ थान डेटोनेटर बुझाएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

#जनतान्त्रिक तराई मुक्ति मोर्चा