१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख २२ आइतबार ०८:०३:००
Read Time : < 1 मिनेट
समाचार

छोरा स्वीकार, जन्मदर्ता अस्वीकार

Read Time : < 1 मिनेट
२०७६ बैशाख २२ आइतबार ०८:०३:००

नरहरिनाथ गाउँपालिका–२ कोटबाडाका बिर्ख विष्ट र आमसरा दर्जीका छोरा रत्न विष्ट नौ वर्ष भइसक्दा पनि जन्मदर्ताको प्रमाणपत्र पाएका छैनन् । बाबु बिर्खले रत्नलाई दलित आमाबाट जन्मिएको भन्दै जन्मदर्ता बनाउन मानेका छैनन् । बिर्ख र आमसराबीच प्रेम सम्बन्धबाट ०६७ सालमा रत्नको जन्म भएको थियो । 

विष्टले दलित आमाबाट बच्चा जन्मिएका कारण छोराको जन्मदर्ता बनाउन नमानेको स्थानीय प्रेम दर्जीले बताए । ‘पहिला प्रेम गर्न कुनै बच्चा जन्माउन जातले छेकेन,’ उनले भने, ‘अहिले बच्चा भएपछि दलित भन्दै आफ्नो बच्चालाई नलिनु र जन्मदर्तासमेत नबनाउनु जातीय विभेद हो ।’ बिर्खले रत्न आफ्नै सन्तान भएको स्विकारिसकेका छन् । प्रेम सम्बन्धबाट सन्तान जन्मे पनि ९ भदौ ०६७ मा ६ वर्ष पुगेपछि आफ्नो घर लैजाने भनेर बिर्खले साबिकको कोटबाडा गाविसका खम्म दर्जी र कुमालगाउँ महासिंह बुढाको रोहबरमा कागज गरेका थिए ।

रत्न अहिले आमासँगै मामाघरमा बस्दै आएका छन् । जन्मदर्ता गराउन बाबुको नागरिकता चाहिने भए पनि बिर्खले बनाउन नमानेको मामा जनक दर्जीले बताए । ‘अहिले भान्जालाई मैले नै पालणपोषण गर्दै आएको छु,’ उनले भने, ‘पहिला लैजाने भनेर कागज गरिएको थियो । अहिले कागज हातमा छ । तर, बाबुले लिन मान्दैनन् ।’ दलित आमाबाट जन्मिएको बच्चालाई बाबुको जिम्मा लगाउन पहल भइरहेको दलित अधिकारकर्मी वीर तिरुवाले बताए ।