मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७६ बैशाख २० शुक्रबार ०९:२५:००
Read Time : > 1 मिनेट
विश्व

समुद्री आँधी ‘फानी’ भारतको पूर्वी तटतर्फ बढ्दै

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ बैशाख २० शुक्रबार ०९:२५:००

फानी नाम गरेको सामुद्रिक आँधी आउन लागेकाले भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । बंगालको खाडीबाट दुई सय किलोमिटर प्रतिघन्टाको वेगमा भारतको उडिसातर्फ बढिरहेको सो आँधी शुक्रबार बंगलादेशतर्फ जानेछ । आँधीको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्हरूले अनुमान गरेका छन् । पूर्वी तटका दुई मुख्य बन्दरगाहको काम बन्द भएको छ भने तल्लो क्षेत्रमा बसोवास गरेका मानिसलाई सुरक्षित क्षेत्रतर्फ लैजान हजारौँ उद्धारकर्ताले सहयोग गरेका छन् ।

उडिसाको तट हुँदै बंगलादेशतर्फ जाने

समुद्री आँधी हाल बंगालको खाडीबाट झन्डै दुई सय किलोमिटर प्रतिघन्टाको वेगमा भारतको उडिसा राज्यतर्फ बढिरहेको मौसमविद्हरूले बताएका छन् । फानीले शुक्रबार जमिनमा ठूलो असर गर्न सक्ने उनीहरूले चेतावनी दिएका छन् । आँधी उडिसाको तट हुँदै बंगलादेशतर्फ लाग्नेछ । सो समुद्री आँधी पूर्वी भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने नेपालको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आठ लाख प्रभावित हुन सक्ने

भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीले उडिसा राज्यको १३ वटा जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्न सक्ने इलाकाबाट सारिएको बताएका छन् । उनीहरूलाई एक हजार विद्यालय र सरकारी भवनमा आश्रय दिइएको छ । एक लाखभन्दा बढी मानिसलाई उडिसाको पुरी सहरबाट सारिएको छ । आँधीका कारण शुक्रबार अपराह्न हिन्दूहरूको तीर्थस्थल पुरीनजिकै भुस्खलन हुने अनुमान गरिएको छ ।

आँधीले पुरीको ८५८ वर्ष पुरानो जगन्नाथ मन्दिरमा असर गर्न सक्ने भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । उडिसाका सम्पूर्ण विद्यालय र विश्वविद्यालय बन्द छन् । सामुद्रिक आँधी २ सय किलोमिटर प्रतिघन्टाको गतिमा आउन सक्ने भारतीय मौसमविद्हरूले चेतावनी दिएका छन् । उडिसाको राजधानी भुवनेश्वर जलवायु केन्द्रका निर्देशक एचआर विश्वासले आँधीबाट कम्तीमा ११ जिल्ला प्रभावित हुने बताए । मानिसहरूलाई घरभित्रै बस्न निर्देशन दिएको उनले जानकारी दिए । पूर्वी तटका माझीहरूलाई समुद्रमा नजान भारतको राष्ट्रिय विपत् व्यवस्थापन निकायले जनाएको छ ।

 
आन्द्र प्रदेश र तामिलनाडुमा उच्च सतर्कता

आँधीले उडिसाको छिमेकमा पर्ने राज्य आन्द्र प्रदेश र तामिलनाडुलाई पनि प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । त्यसैले ती क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ । भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले सताउने गरेको छ । सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २ सय ५० ले ज्यान गुमाएका थिए भने ६ सयजना बेपत्ता भएका थिए । आँधीले करोडौँ रुपैयाँबराबरको भौतिक क्षति पु-याएको थियो । गत अक्टोबरमा पनि सामुद्रिक आँधी टिल्लीका कारण उडिसा राज्यबाट करिब तीन लाख व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको थियो ।