मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विदुर पौडेल
२०७५ पौष १२ बिहीबार ०७:४३:००
Read Time : > 1 मिनेट
समाचार

लघु विद्युत् आयोजनाको पोल जीर्ण हुँदा जोखिम बढ्यो

Read Time : > 1 मिनेट
विदुर पौडेल
२०७५ पौष १२ बिहीबार ०७:४३:००

तीनपाटन र फिक्कल गाउँपालिकामा विद्युत्लाइन विस्तार गर्न गाडिएका काठका पोल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ । २१ किलोवाट क्षमताको वाक्सुखोला लघु जलविद्युत् योजनाबाट उत्पादित बिजुली वितरण गर्न गाडिएका काठका झन्डै पाँच सय पोल जीर्ण बनेका हुन् । यो आयोजनाबाट तीन सय घरमा बत्ती बलेको छ । काठका पोल जीर्ण भए पनि नयाँ पोल हालिएको छैन । तीनपाटन–८ को बाहुनतिल्पुङ, फिक्कल–२ को पोखरी र ३ को खोलागाउँमा वाक्सुखोला लघु जलविद्युत् आयोजनाको बिजुली बल्छ । १० वर्षअघि गाडिएका जीर्ण पोल फेर्न बजेट नभएको आयोजनाले जनाएको छ । काठका पोल धमिराले कुहिएर ढल्न थालेका छन् । कतिपय ढलेका पोल टेको लगाएर ठड्याइएको छ ।

उपभोक्ताले आफैँले जंगलबाट काठका पोल काटेर त्यतिवेला विद्युत् लाइन विस्तार गरेका बाहुनतिल्पुङका पदमबहादुर मगरले बताए । ‘कुन वेला पोल ढलेर विद्युत् अवरुद्ध हुने हो टुंगो छैन,’ मगरले भने, ‘हामी आफैँले मिहिनेत गरेर गाउँमा विद्युत् आयोजना निर्माण गरेका हौँ । गाउँ झिलिमिली बनायौँ, तर जीर्ण पोल फेर्न कतैबाट सहयोग पाइएन ।’ आयोजना निर्माणमा त्यतिवेला ४९ लाख रुपैयाँ खर्च भएको थियो ।

 नयाँ पोल किन्ने  बजेट छैन 
उपभोक्तासँग विद्युत्को महसुल थोरै लिने गरेकाले आयोजनासँग फलाम र सिमेन्टका पोल किन्ने बजेट नभएको योजनाका अध्यक्ष तोयानाथ बरालले बताए । जीर्ण पोल फेर्न सबैतिर हारगुहार गरे पनि सुनुवाइ नभएको उनले गुनासो गरे । तीन वडाका चार सय ६१ घरमा विद्युत् सेवा पु¥याउने आयोजनाको लक्ष्य थियो । तर, पोल अभावकै कारण बाँकी घरमा विद्युत् विस्तारसमेत हुन नसकेको बरालले बताए । गाउँपालिकासँग बजेट नहुँदा जीर्ण पोल फेर्न नसकिएको फिक्कल गाँउपालिका–२ का अध्यक्ष शंकर भण्डारीले बताए । 

‘यस वर्ष विद्युत् पोल ढलेको टुलुटुलु हेरेर बस्नुको हामीसँग विकल्प छैन,’ भण्डारीले भने, ‘अर्को वर्ष पोल फेर्न केही बजेट छुट्याउने योजना बनाएका छौँ ।’ तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले भने स्थानीयले आयोजनाको संरक्षण र विकासमा ध्यान नदिएको आरोप लगाए । ‘स्थानीयले नै आयोजनाको संरक्षण र विकासमा ध्यान दिनुपथ्र्यो, तर त्यो भएन,’ उनले भने । गाउँपालिकाले यस वर्ष आयोजनाको कुलो मर्मत गर्न तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको उनले बताए । बाहुनतिल्पुङमा केन्द्रीय आयोजनाको विद्युत् लाइन विस्तार गर्न ५६ लाख रुपैयाँसमेत छुट्याएको उनको भनाइ छ ।