१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २० शुक्रबार ०८:३५:००
Read Time : < 1 मिनेट
अर्थ

सार्कको समृद्धिका लागि आर्थिक अन्तरनिर्भरता आवश्यक : अर्थमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २० शुक्रबार ०८:३५:००

अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियाली जनताको कल्याण र समृद्धिका लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको बताएका छन् । फिजीको नादीमा बिहीबार आयोजित एसियाली विकास बैंकको ५२औँ वोर्डस् अफ गभर्नरको वार्षिक बैठकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरूको तेह्रौँ बैठकको अध्यक्षता ग्रहण गर्दै उनले यस्तो धारणा राखेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

दक्षिण एसिया विश्व आर्थिक वृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउँदै गएको उनले बताएका छन् । तर, अन्तरदेशीय सडक सञ्जाल र अन्तरआबद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा पाँच प्रतिशतभन्दा माथि पुग्न सकेको उनले बताए । 

अर्थमन्त्री खतिवडाले दक्षिण एसियाको समग्र अर्थिक स्थायित्वको चर्चा गर्दै नेपालले इतिहासमै लगातार तेस्रो वर्षसम्म ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्न सफल भएको बताए ।  

बिहीबार नै एसियाली विकास बैंक, युरोपियन लगानी बैंक, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफट्रेजरीका उच्च पदस्थ अधिकारीहरूसँग भएको बेग्लाबेग्लै द्विपक्षीय बैठकहरूमा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीका लागि अनुकूल वातावरण निर्माणलगायतका बारेमा जानकारी गराएका छन् ।