मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १९ बिहीबार ०९:३३:००
Read Time : > 1 मिनेट
खेलकुद

आइसिसीको टी-२० वरीयतामा पारस खड्काभन्दा भारतीय ब्याट्सम्यान रोहित शर्मा दुई स्थान पछाडि

पारसको ३८औँ स्थान यथावत्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १९ बिहीबार ०९:३३:००

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार जारी गरेको टी–२० पुरुष वरीयतामा तीन नेपाली खेलाडीले स्थान बनाएका छन् । राष्ट्रिय सिनियर टोलीका कप्तान पारस खड्का, वसन्त रेग्मी तथा सोमपाल कामीले टी–२० वरीयता पाएको आइसिसीले जनाएको छ । अलराउन्डरतर्फ कप्तान पारस यथावत् स्थानमै छन् । ३८औँ स्थानमा रहँदा पारसले ७६ अंक पाएका छन् । पारसको यो करिअरकै राम्रो वरीयता स्थान हो । 

पारसभन्दा पछाडि रोहित

टी–२० अलराउन्डर वरीयतामा भारतका चर्चित ब्याट्सम्यान रोहित शर्मा पारसभन्दा दुई स्थानले पछाडि छन् । यसैगरी, बंगलादेशका सौम्य सरकार, इंग्ल्यान्डका जोए रुट तथा वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान किरन पोलार्ड पनि पारसभन्दा पछाडि छन् । पारसभन्दा एक स्थान अगाडि पाकिस्तानका इमाद वासिम छन् । 

सोमपाल ४९औँ स्थानमा

टी–२० अलराउन्डरमा सोमपाल ४९औँ स्थानमा छन् । पारसभन्दा उनी ११ स्थानले पछाडि छन् । सोमपालले एक स्थान सुधार गरेका हुन् । अघिल्लोपटक उनी ५०औँ स्थानमा थिए । यसपटक सोमपालले अलराउन्डरमा ६० अंक पाए । सोमपालभन्दा एक स्थानमाथि मोइन अली छन् । सोमपालले अस्ट्रेलियाका नाथन कोल्टर निल र अफगानिस्तानका गुल्वदिन नैवलाई पछि पारे । यता बलिङ वरीयतामा सोमपाल ६८औँ स्थानमा रहेको आइसिसीले जनाएको छ ।

ब्याटिङमा पारस तीन स्थान तल

अलराउन्डरमा राम्रो वरीयता पाएका पारस टी–२० ब्याटिङ वरीयतामा भने तीन स्थान तल झरेका छन् । यसपटक उनी ९५औँ स्थानमा रहे । यसपटक उनले तीन सय पाँच अंक बटुलेका छन् । अघिल्लोपटक उनी ब्याटिङ वरीयताको ९२औँ स्थानमा थिए । 

वसन्तको दुई स्थान सुधार

नेपालका भेट्रान बलर वसन्त रेग्मी टी–२० बलिङ वरीयताको ६९औँ स्थानमा छन् । वसन्तले यसपटक दुई स्थान सुधार गरेका छन् । अघिल्लोपटक उनी ७१औँ स्थानमा थिए । उनी अलराउन्डर र ब्याटिङ वरीयतामा पर्न सकेनन् । बलिङ वरीयतामा सोमपाल र वसन्तले समान चार सय नौ अंक बटुलेका छन् ।

नेपाल १४औँ स्थानमै

आइसिसी टी–२० राष्ट्रको वरीयतामा नेपाल १४औँ स्थानमै छ । नेपालले सात खेलबाट ४३ अंक बटुलेको छ । पाकिस्तान एक सय ३५ अंकका साथ शीर्ष स्थानमा छ । भारत एक सय २२ अंकका साथ दोस्रो स्थानमा छ । इंग्ल्यान्ड तेस्रो स्थानमा छ । 

रसिद, बाबर र म्याक्सवेल शीर्ष स्थानमा

टी–२० बलिङ वरीयतामा अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् । उनले सर्वाधिक सात सय ८० अंक जोडेका छन् । यसैगरी, ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर अजाम आठ सय २५ अंकका साथ शीर्ष स्थानमा रहे । अलराउन्डरमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् ।