Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७६ बैशाख १९ बिहीबार ०८:३५:००
Read Time : < 1 मिनेट
विश्व

रेलको लिकमा सेल्फी लिँदा तीन किशोरको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ बैशाख १९ बिहीबार ०८:३५:००

भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीनजना किशोरलाई रेलले किचेको छ । भारतमा पछिल्लो समय रेलको लिकमा सेल्फी लिने क्रममा मृत्यु हुने किशोर–किशोरीको संख्या बढिरहेकोे बताइरहेका वेला पछिल्लो घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार सेल्फी लिँदै गरेका चौथा व्यक्ति भने जोगिएका छन् ।

प्रत्यक्षदर्शी एमएस डबासका अनुसार चारैजना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै थिए । त्यही वेला तीव्रगतिमा आएको रेलले तीनजनालाई किच्यो । ती युवा एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन पानीपत पुगेका थिए ।
सेल्फी लिँदा हुने मृत्युमा भारत अग्रपंक्तिमा
प्रविधिको क्षेत्रमा निरन्तर फड्को मारेको भारतमा एक अर्बभन्दा बढी मानिसले मोबाइल फोन प्रयोग गर्छन् । तीमध्ये ३० करोडले स्मार्टफोन प्रयोग गर्छन् । विश्वमा सबैभन्दा बढी भारतमा सेल्फी लिने जमात बढ्दो रहेको विभिन्न अध्ययनले देखाएका छन् । सेल्फीप्रतिको भारतीयको मोह अनौठो भएको विज्ञहरू बताउँछन् । किशोर–किशोरी र युवायुवतीले खतरा मोलेर विभिन्न पोजमा सेल्फी लिँदा दुर्घटना बढेको विज्ञहरूले बताउँदै आएका छन् ।

दिल्लीस्थित कार्नेजी मेलन युनिभर्सिटी र इन्द्रप्रस्था इन्स्टिच्युट अफ इन्फरमेसनका अनुसार पछिल्ला वर्षमा भारतमा विश्वमा सबैभन्दा बढी सेल्फीसँग सम्बन्धित घटनामा मानिसको मृत्यु हुने गरेको छ । सन् २०१४ देखि २०१६ सम्म सेल्फीसँग सम्बन्धित घटनामा विश्वभर १२७ को मृत्यु भएको थियो । तीमध्ये ७६ जना भारतीय थिए । मृत्यु हुनेमध्ये सबै युवायुवती थिए ।

 गतवर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिने क्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । तर, सेल्फी लिने क्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ ।