मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लक्ष्मी काफ्ले झापा |
२०७५ मङ्सिर २७ बिहीबार ०१:२५:००
Read Time : < 1 मिनेट
समाचार

बालक अपहरण गरी १५ लाख फिरौती माग्ने तीन पक्राउ

Read Time : < 1 मिनेट
लक्ष्मी काफ्ले झापा |
२०७५ मङ्सिर २७ बिहीबार ०१:२५:००

सात वर्षीय बालक अपहरणमा संलग्न तीनजनालाई झापा प्रहरीले पक्राउ गरेको छ । भारत बिहारको सुपौलका मोहम्मद सद्दामका सात वर्षीय छोरा महफुज आलमको अपहरणमा संलग्न गौरीगन्ज गाउँपालिकाका ४७ वर्षीय बद्री यादवसहित तीनजना पक्राउ परेका हुन् ।

यादव संघीय समाजवादी फोरमका नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा गौरीगन्ज गाउँपालिकाको अध्यक्षका उम्मेदवार थिए । त्यसअघि ०६४ र ०७० सालको निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट यादव प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । उनै यादवको योजना र संलग्नतामा गौरीगन्ज–४ का श्रीप्रसाद मुखिया र उनकी श्रीमती अञ्जुदेवी मुखियाले सात वर्षीय बालक आलमलाई अपहरण गरेका प्रहरीले जनाएको छ ।

बालकको फिरौतीबापत उनीहरूले अभिभावकसँग १५ लाख भारतीय रुपैयाँ माग गरेका प्रहरीको भनाइ छ । बालक रहेकै स्थानबाट प्रहरीले २७ वर्षकी अञ्जुदेवीलाई पक्राउ गरेको थियो । उनकै सूचनाका आधारमा मंगलबार बिहान गौरीगन्‍ज गाउँपालिका–६ खजुरगाछी बस्ने नेता बद्री यादवलाई गौरीगन्ज चोकबाट र सोही स्थानका श्रीप्रसाद मुखियालाई गौरीगन्‍ज गाउँपालिका–४ कदम गाछीस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ गरिएका तीनैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट अपहरणमा परेका थिए बालक
प्रहरीका अनुसार भारतको सुपोल जिल्लाबाट बालक महफुज २० मंसिरमा अपहरणमा परेका थिए । बालकलाई प्रहरीले मंगलबार दमक–५ गोर्खाली टोलस्थित देउराली होटेलको कोठा नम्बर १०७ बाट मुक्त गरेको छ । बालकलाई बन्धक बनाएर राखेको अवस्थामा फेला पारिएकोे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार बालकको अपहरण भएको सूचना प्रहरीले सोमबार साँझ पाएको थियो ।