मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपेन्द्र अधिकारी
२०७६ बैशाख १८ बुधबार ०८:२४:००
Read Time : > 1 मिनेट
समाचार

भरतपुर अस्पतालमा गुणस्तरहीन औषधि

Read Time : > 1 मिनेट
दीपेन्द्र अधिकारी
२०७६ बैशाख १८ बुधबार ०८:२४:००

परीक्षणका क्रममा गुणस्तरहीन प्रमाणित १६ हजार आठ सय ९३ बोटल स्लाइनपानी डेढ वर्षदेखि भरतपुर अस्पतालको गोदाममा थन्किएको छ । फिर्ता लैजानुपर्ने निकायले नलैजाँदा डेढ वर्षदेखि अस्पतालको गोदाममा स्लाइनका बोटल थन्किएको हो । आपूर्ति व्यवस्था महाशाखाले विभिन्न निकायबाट खरिद गरी त्यो औषधि भरतपुर अस्पतालमा पठाएको थियो । 

प्रयोगमा आएको केही समयपछि परीक्षणका लागि औषधि व्यवस्था विभागमा पठाउँदा स्लाइन गुणस्तरहीन भएको पुष्ठी भएको थियो । आपूर्ति भएदेखि गुणस्तरहीन प्रमाणित हुँदासम्म के–कति औषधि प्रयोग भयो भन्ने तथ्यांक आफूहरूसँग नभएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ । गुणस्तरहीन औषधि नष्ट गर्ने अधिकार आफूहरूसँग नभएको भरतपुर अस्पतालका मेडिकल स्टोर प्रमुख विष्णु सापकोटाले बताए । ‘हामीले आपूर्तिकर्तालाई नै बारम्बार गुणस्तरहीन स्लाइन लैजान आग्रह गरिरहेका छौँ, तर लगेका छैनन्,’ सापकोटाले भने । 

क्षेत्रीय मेडिकल स्टोर हेटौँडाबाट आठ हजार र केन्द्रीय मेडिकल स्टोर पथलैयाबाट २१ हजार दुई सय ५० बोटल गरी कुल २९ हजार दुई सय ५० बोटल रिंगर ल्याक्टेट इन्जेक्सन भरतपुर अस्पतालमा प्राप्त भएको सापकोटाले बताए । गुणस्तरहीन औषधि फिर्ता लाने विषयमा सम्बन्धित निकायले चासो नदिएकोप्रति महालेखा परीक्षकको कार्यालयले चासो देखाएको छ । उले औषधि आपूर्ति गर्दा भएको सम्झौता कार्यान्वयन गर्न सुझाब दिएको छ ।

 आपूर्तिकर्ता कम्पनीलाई औषधि फिर्ता लैजान पटक–पटक पत्र पठाए पनि सम्बोधन नभएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । गुणस्तरहीन औषधि गोदाममा रहँदा अन्य औषधि राख्नका लागि ठाउँ अभाव भएको अस्पताल प्रशासनले जनाएको छ । महालेखा परीक्षकको कार्यालयले औषधि आपूर्ति गर्दा गुणस्तरमा ध्यान दिन सुझाब दिएको छ । स्लाइनपानीका साथै अन्य औषधिले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले मानव स्वास्थ्यका ख्याल गरी औषधि आपूर्ति गर्न अस्पताल प्रशासन र आपूर्ति व्यवस्था महाशाखालाई महालेखाले ध्यानाकर्षण गराएको हो ।