मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ बैशाख १८ बुधबार ०७:४२:००
Read Time : > 2 मिनेट
राजनीति

माधव नेपालको घुमफिर : ११ महिनामा १० विदेश भ्रमण

Read Time : > 2 मिनेट
२०७६ बैशाख १८ बुधबार ०७:४२:००

चीन भ्रमणबाट फर्केको २४ घन्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे । यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटक–पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटिप्पणी हुने थालेको छ । ‘अहिले त उहाँ पारिवारिक कामका लागि अमेरिका जानुभएको छ,’ नेकपा प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने, ‘उहाँको पटक–पटकको विदेश भ्रमणले एकतामा विलम्ब भएको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल पार्टी एकता घोषणा भएको ११ महिनामा १० पटक विदेश भ्रमणमा निस्केका छन् । उनी नेकपाभित्र सबैभन्दा धेरै विदेश भ्रमण गर्ने शीर्ष नेतामा पर्छन् । उनी सबैभन्दा धेरै चीन तीनपटकगएका छन् । अमेरिका दुईपटक पुगे । नेपालले बेलायत, लाओस, घाना, कम्बोडिया, ब्राजिल एक–एकपटकभ्रमण गरेका छन् । 

नेपालको बढ्दो विदेश भ्रमणले पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनको भागबन्डा र ज्येष्ठ कम्युनिस्ट मञ्चको एकतामा ढिलाइ हुन लागेको नेकपा स्रोतले बतायो । नेपाल चीनद्वारा आयोजित बेल्ट एन्ड रोड फोरममा सहभागी भई चार दिनपछि आइतबार साँझ स्वदेश फर्किएका थिए । 
सोमबार बिहानको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कटाक्ष गर्दै ‘माधव कमरेडले नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’ भनेको एक सचिवालय सदस्यले बताए । प्रधानमन्त्री ओलीको कटाक्ष सुनेर बाँकी नेता पनि बैठकमा हाँसेको ती नेताले बताए । 

नेपाललाई चिनियाँ निमन्त्रणा बढी
नेता नेपालले सबैभन्दा बढी निम्ता उत्तरी छिमेकी मुलुक चीनबाट पाएका छन् । उनी गत ११ महिनामा चीन मात्रै तीनपटक पुगे । अघिल्लो वर्ष २६ देखि ३१ असारसम्म उनी सिल्क रोड इन्टरनेसनल को–अपरेसन अर्गनाइजेसनको निमन्त्रणामा चीन पुगेका थिए । बेल्ट एन्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एन्ड टे«क कम्युनिकेसन फेयरमा उनी सहभागी भएका थिए । 

अघिल्लो वर्षकै ३ भदौमा पनि उनी साताव्यापी चीन भ्रमणमा निस्केका थिए । त्यसपटक उनी श्रीमती गायत्री नेपालका साथ चीन भ्रमण गएका थिए । पछिल्लोपटक गत साता उनलाई चीनले बेल्ट एन्ड रोड फोरममा सहभागी हुन निम्ता गरेको थियो । फोरममा नेपालसहित केन्द्रीय सदस्य श्रीनाथ बराल र अनेरास्ववियुका सचिव सुदेश पराजुली चीन पुगेका थिए । फोरममा नेपालको उच्च प्रतिनिधिमण्डलको नेतृत्व भने राष्ट्रपति विद्या भण्डारीले गरेकी थिइन् । 

पार्टी एकता भएलगत्तै जेठ १९ गते नेपाल ब्राजिल भ्रमणमा निस्केका थिए । माक्र्सवादबारे आयोजित कार्यक्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि ब्राजिल पुगेका थिए । नेपालमा माक्र्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एसियन स्कुल स्थापना गर्ने प्रतिबद्धतासहित उनी २९ जेठमा स्वदेश फर्किएका थिए । 
यस्तै, १० साउनमा नेपाल साताव्यापी भ्रमणमा कम्बोडिया गए ।

भानुभक्त ढकाल, सुजाता कोइरालालगायत नेता कम्बोडिया गएका थिए । गत वर्ष १५ देखि २० भदौसम्म नेपाल अमेरिका भ्रमणमा निस्के । ३ देखि ९ असोजसम्म स्थायी कमिटी सदस्य पम्फा भुसाल र बलराम बास्कोटासहित नेपाल घाना भ्रमणमा निस्के । सोसलिस्ट पार्टी अफ घानाको आयोजनामा भएको साम्राज्यवाद र पुँजीवादविरोधी सम्मेलनमा सहभागी हुन नेपाल घाना पुगेका थिए । 

नेपाल कात्तिक २९ गते गैरआवासीय संघ, बिर्टिस गोरखा सैनिकलगायत संघसंस्थाको निम्तामा बेलायत पुगे र बेलायतबाट उनी ५ मंसिरमा स्वदेश फर्किएका थिए । १६ माघमा लिलामणि पोखरेल, छविलाल विश्वकमा, जयन्ती राई, बिना श्रेष्ठ, विष्णु रिजालसहित लाओस पुगे । साताव्यापी भ्रमण गरी २२ माघमा उनी स्वदेश फर्केका थिए ।

विदेश भ्रमण कहिले कहाँ ?

 -१६ वैशाख ०७५ अमेरिका 
-११ वैशाख ०७६ चीन 
-१६ माघ ०७५ लाओस 
-२९ कात्तिक ०७५ बेलायत
-३ असोज ०७५ घाना 
-१५ भदौ ०७५ अमेरिका 
-३ भदौ ०७५ चीन 
-१० साउन ०७५ कम्बोडिया 
-२६ असार ०७५ चीन
-१९ जेठ ०७५ ब्राजिल 

विदेश भ्रमणले कतिपय वेला पार्टीमा असर
नारायणकाजी श्रेष्ठ, प्रवक्ता, नेकपा

अहिले अमेरिका भाइकी छोरीको विवाहमा जानुभएको हो । त्यो उहाँको व्यक्तिगत पारिवारिक काम हो । प्रायः विदेश जाँदा पार्टीमा सल्लाह भएको थाहा छैन । सायद अध्यक्ष कमरेडसँग सल्लाह गर्नुहुन्थ्यो । उहाँ विदेश हुँदा कतिपय वेलामा पार्टीमा असर परेको छ । विदेश भ्रमणले पनि पार्टी एकतामा विलम्ब भएको छ ।

उहाँको भ्रमणले एकता लम्बिएको होइन 
विष्णु रिजाल,नेकपा केन्द्रीय सदस्य

पार्टीको सल्लाहमा पारिवारिक कार्यक्रममा जानुभएको छ । चार दिनपछि स्वदेश फर्किहाल्नुहुन्छ । उहाँका कारणले एकता लम्बिएको विल्कुल होइन । अध्यक्षद्वयले होमवर्क गरिरहनुभएको छ । माधव कमरेड हिजो पनि नेपालमै हुनुहुन्थ्यो, भोलि पनि नेपालमै हुनुहुन्छ ।