१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दिनेश पराजुली
२०७६ बैशाख १७ मंगलबार १०:४६:००
Read Time : < 1 मिनेट
प्रदेश

जनप्रतिनिधि–कर्मचारी विवादले कार्यालयमा ताला

Read Time : < 1 मिनेट
दिनेश पराजुली
२०७६ बैशाख १७ मंगलबार १०:४६:००

विकास निर्माणका काम अड्काएर राखेको आरोप लगाउँदै सप्तकोसी नगरपालिकाका जनप्रतिनिधिले निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उपप्रमुख आशा चौधरी र वडा नम्बर १ का अध्यक्ष नारायण आचार्यसहितको टोलीले आइतबार चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 

वडाध्यक्ष आचार्य डिभिजन वन कार्यालय सप्तरीले पक्राउ पुर्जी जारी गरेका फरार अभियुक्त हुन् । चौधरीले तीन दर्जनभन्दा बढी विकास निर्माणका फाइल अड्काएर राखेपछि कार्यालयमा तालाबन्दी गर्नुपरेको उपप्रमुख चौधरीले दाबी गरिन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव रेग्मी चौधरीलाई नै निमित्त दिएर चैतदेखि बिदा बसेको र चौधरीले काम गर्नै नमानेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाइ छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईं पुसमा सरुवा भएपछि चौधरीले नै निमित्त भएर काम गरेका थिए । उनकै समयमा सम्झौता भएका अधिकांश फाइल अहिले अड्किएको जनप्रतिनिधिको गुनासो छ । ‘रेग्मीले पुराना फाइलबारे म जान्दिनँ भन्ने, चौधरीले फाइलमा हातै लाउँदिनँ भन्न थालेपछि नगरका सबै काम प्रभावित भए । त्यसैले तालाबन्दी गर्नुप-यो,’ चौधरीले भनिन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने आफूलाई आर्थिक कारोबार गर्ने अधिकार नभएकाले फाइल अगाडि नबढेको बताए । समस्याको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत जानकारी गराइएको छ । सिडिओ सुरेन्द्र पौडेलले आपसी असमझदारीमा आफ्नै घरभित्र ताला लागेको बताउँदै त्यहीँबाट समस्याको समाधान खोज्नु उत्तम हुने बताए । प्रमुख प्रशासकीय अधिकृत तीन दिनपछि कार्यालयमा हाजिर हुने जानकारी पाएको बताएका उनले त्यसपछि समस्या समधान हुने विश्वास व्यक्त गरे ।