मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
दिवाकर पन्त
२०७६ बैशाख १७ मंगलबार ०८:२०:००
Read Time : > 1 मिनेट
अर्थ

काठमाडौं-दिल्ली हवाई टिकट पाउनै मुस्किल : हवाई भाडा पनि चर्काे, उडान थप्दै निगम

Read Time : > 1 मिनेट
दिवाकर पन्त
२०७६ बैशाख १७ मंगलबार ०८:२०:००

आर्थिक संकटग्रस्त जेट एयरले काठमाडौंको आफ्नो उडान बन्द गरेसँगै काठमाडौं–दिल्लीको भाडामा अस्वाभाविक वृद्धि भएको छ । उपलब्ध सिट संख्याको तुलनामा माग अत्यधिक बढेपछि काठमाडौं–दिल्ली उडान गर्ने हवाईसेवा कम्पनीहरूले उडान भाडामा ३ सय प्रतिशतसम्म वृद्धि गरेका हुन् । जेट एयरले आफ्नो नेपाल उडान बन्द गरेसँगै यात्रुहरूको मागअनुसार वायुसेवा कम्पनीले सिट उपलब्ध गराउन नसक्दा मूल्य बढेको अर्बिट इन्टरनेसनल ट्राभल्सका द्रोण निरौलाले बताए । जेट एयरले काठमाडौं–दिल्ली चारवटा उडान गरेर दैनिक साढे ६ सय यात्रुलाई सेवा दिन्थ्यो । जेटको सेवा बन्द भएसँगै ती यात्रु अन्य विमानसेवाबाट यात्रा गर्नुपर्दा टिकटको माग ह्वात्तै बढेको व्यवसायी निरौलाले बताए ।

सामान्य अवस्थामा नेपाल वायुसेवा निगमको काठमाडाैं–दिल्ली दोहोरो भाडा सबैभन्दा सस्तो १५ हजार रुपैयाँमा पाइन्थ्यो । तर, अहिले ४२ हजारदेखि ४५ हजार पुगेको छ । त्यसैगरी, एयर इन्डियाको उडानमा पनि एकातर्फी हवाई भाडा २७ हजारभन्दा बढी पुगेको छ । 

नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली रुटमा वैशाख १८ गते बुधबारदेखि वाइडबडी एयरबस थ्री थट्री जहाजबाट दैनिक एक उडान थप्ने भएको छ । यसअघि न्यारो बडी १ सय ५८ सिटे जहाजबाट मात्रै उडान गर्दै आएको थियो । २ सय ७६ सिटे विमानबाट सेवा थप्दा यात्रुलाई भइरहेको टिकट अभाव हट्न मद्दत पुग्ने निगमका सह प्रवक्ता नवराज कोइरालाले बताए । निगमले अहिले यस रुटमा सातामा ११ वटा उडान गर्दै आएको छ । नयाँ उडान तालिकाअनुसार सातामा हरेक दिन बिहान १ सय ५८ सिटे जहाजबाट र राति २ सय ७६ सिटे जहाजबाट उडान गर्ने निगमले जनाएको छ । 

यस्तो हुन्छ भाडादर
निगमले आफ्नो रेभेन्यु म्यानेजमेन्ट प्रणालीअनुसार १३ प्रकारका भाडादर कायम गरेको छ । सोअनुसार सबैभन्दा सस्तो टिकटदरमा यात्रा गर्न चाहनेले करिब ६ महिनाअघि नै बुक गर्नुपर्ने प्रवक्ता कोइरालाले बताए । उनका अनुसार जति छिटो टिकट चाहिने हो, त्यति नै बढी मूल्यको सिट खरिद गर्नुपर्ने व्यवस्था हवाईसेवा कम्पनीले मिलाएका हुन्छन् । सस्तो दरको टिकट पहिला सकिने र क्रमशः महँगो दरको टिकट यात्रुले किन्दै जानुपर्ने हुँदा अहिले काठमाडौं–दिल्लीको उडानमा टिकट महँगिएको बताइएको छ ।

काठमाडौं–दिल्ली रुटमा चाप
सामान्यतया भारतको कुनै पनि सहर आउजाउ गर्ने यात्रु काठमाडौं–दिल्ली रुटबाट नै यात्रा गर्छन् । पछिल्ला दिनमा उपचार गर्न भारत जाने नेपालीले यही रुटको विमानसेवा प्रयोग गर्छन् । साथै, रोजगारीका लागि खाडी देश जाने नेपाली कामदारलाई कतिपय कम्पनीले दिल्ली वा मुम्बई ट्रान्जिट गराएर लैजान्छन् । त्यसैगरी, भारतका विभिन्न सहरमा अध्ययन वा व्यवसाय गर्ने व्यक्तिहरूले पनि दिल्ली हुँदै यात्रा गर्ने हुँदा काठमाडौं–दिल्ली रुटमा सदैव चाप रहने ट्राभल व्यवसायी बताउँछन् ।