मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख १७ मंगलबार ०७:५०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

नेपाल र चीनका राष्ट्रपतिबीच वार्ता : पारवहन प्रोटोकलसहित  सात सम्झौतामा हस्ताक्षर

Read Time : > 3 मिनेट
२०७६ बैशाख १७ मंगलबार ०७:५०:००

गणतान्त्रिक नेपालका राष्ट्रप्रमुखबाट पहिलोपटक भएको राजकीय भ्रमणलाई चीनले भव्य सम्मान दिएको छ । सोमबार अपराह्न ग्रेट हल अफ दी पिपुलको पब्लिक स्क्वायरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई स्वागत गरे । करिब आधा घन्टा लामो द्विपक्षीय औपचारिक वार्तामा राष्ट्रपति सीले नेपालको आर्थिक रुपान्तरणमा सघाउने बचन दिएका छन् । 

ग्रेट हल अफ दि पिपुलको पब्लिक स्क्वाएरमा चिनीया कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका पोलिटब्युरो सदस्य, केन्दीय सचिवालयका सचिव तथा केन्द्रीय कार्यलयका निर्देशक तिङ सुयसियाङ, पोलिटब्युरो सदस्य केन्दीय परराष्ट्रमामिला हेर्ने कार्यालयका निर्देशक याङ जेइची, नेशनल पिपुल्स कंग्रेसको केन्द्रीय समितिका उपाध्यक्ष उ वैहुवा, स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री  वाङ यीलगायतका विशिष्ट अधिकारीले स्वागत गरेका थिए ।  कार्यक्रममा सैनिक अर्केष्टाले  दुवै मुलुकको राष्ट्रिय गीत बजाएका थिए । चिनीया जनमुक्ति सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा २१ तोपको सलामी दिइएको थियो । चिनियाँ बालबालिकाले हातमा फुल फहराउदै राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।

दुई चरणको औपचारिक वार्ता
स्वागत समारोहपछि राष्ट्रपति भण्डारी र उनका चिनियाँ समकक्षी सि नेतृत्वका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता भएको थियो । औपचारिक वार्तापछि पुनः सानो समूहमा अलग्गै छलफल भएको नेपाली दूताबासका उपनियोग प्रमुख सुशील लम्सालले बताए ।  दोस्रो चरणको वार्तामा राष्ट्रपति भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मूख्यमन्त्री डोरमणि पौडेल, परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल थिए । चिनका तर्पmबाट परराष्ट्रमन्त्री वाङ्यीसहित उच्च अधिकारी थिए । 

सिले सम्झिए मदन भण्डारी
द्विपक्षीय औपचारिक वार्तामा राष्ट्रपति भण्डारीले सन् १९९३ अप्रिलमा तत्कालीन नेता एवं आफ्ना श्रीमान् मदन भण्डारीको चीन भ्रमण भएको र आफू पनि संयोगबस अप्रिलमै चीनको राजकीय भ्रमणमा आइपुगेको बताइन् । उपनियोग प्रमुख लम्सालका अनुसार जबाफमा चिनियाँ राष्ट्रपति सिले भने, ‘जननेता मदन भण्डारी चीनका असल मित्र हुनुहुन्थ्यो । उहाँको परिवारका सदस्यका रुपमा तपाईँलाई स्वागत गन पाउँदा हामी गौरवान्वित छौँ । उहाँको सम्झना गर्दै हामीले दुइदेशको मित्रतालाई अझै प्रगाढ बनाउँदै लैजानुपर्छ ।’

नेपाल–चीन रेल र तातोपानी नाकाको चर्चा 
राष्ट्रपति भण्डारीले दुवै देशले आपसी लाभका प्राथमिकता पहिचान गरेर कार्यान्वयनमा जोड दिनुपर्ने बताइन् । वेल्ट एण्ड रोड फोरमको सफल आयोजना गरेकोमा सिलाई बधाइ दिँदै संयुक्त बक्तव्यमा नेपाल चीन रेल्वे तथा हिमालय सीमापार बुआयामिक सम्पर्क सञ्जाल परेकोमा धन्यवाद दिइन् । सीले वेल्ट एण्ड रोड फोरममा सहभागी भएकोमा राष्ट्रपति भण्डारीप्रति खुशी व्यक्त गरे ।  सिको जबाफ थियो, ‘हामीले नेपाललाई सधैँ मद्दत गर्दै आएका छौँ, कहिल्यै साथ छाड्दैनौँ । नेपाल चीन रेल दुवै देशका जनताको साझा अभिप्राय हो ।’ 

राष्ट्रपति सिले रेलको पूर्वसम्भाव्यता अध्ययन भइसकेको सन्दर्भ निकाल्दै दुवै पक्षका रेलवे बिभागले सम्भाव्यता अध्ययन गर्नुपर्ने र  रेलको आगामी ढाँचा तय गर्नुपर्ने बताए । राष्ट्रपति सिले नेपाल चीन तातोपानी नाका मेको अन्तिम साताअघि नै खुल्ने बताएको उपनियोग प्रमुख लम्सालले बताए । ‘त्यसबाहेक नेपाल चीन सीमापार आर्थिक क्षेत्र निर्माण गर्नुपर्छ’ सिको भनाई थियो, ‘नेपाल भ्रमण बर्ष २०२० सफल पार्न पनि चीनको सहयोग हुन्छ ।’  नेपालले अपनाएको एक चीन नीतिप्रति धन्यवाद बाहेक सुरक्षा बिषयमा राष्ट्रपति सिले चर्चा गरेनन् ।
 
सि नेपाल आउन इच्छुक 
राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको निम्ता दोहो-याइन् । ‘नेपाल चीन सम्बन्धको एउटा महत्वपूर्ण पक्ष भनेको उच्चस्तरीय भ्रमण आदनप्रदान हो’ राष्ट्रपति भण्डारीको भनाई थियो, ‘हामी तपाईंको भ्रमणको प्रतिक्षामा छौँ ।’ जबाफमा सिले नेपाल भ्रमण गर्ने आफ्नो प्राथमिकतामा रहेको तर समय लाग्ने बताए । लम्सालका अनुसार सिको जबाफ थियो, ‘तपाईँको सुन्दर देश भ्रमण गर्न म इच्छुक छु । दुवै पक्षलाई सजिलो हुने समय तय गरेर यसको चा“जो मिलाउनुपर्छ ।’ 

पारवहन सम्झौता कार्यान्वयनमा
नेपाल र चीनबीच सन् २०१६ मा भएको पारवहन सम्झौताको प्रोटोकलमा गत २२ भदौमा सहमती जुटेको थियो । तर, हस्ताक्षर भएको थिएन । सोमबार प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपाल–चीनबीच यातायात तथा पारवहन सम्झौता कार्यन्वयमा आएको छ । यससँगै नेपालको पारवहनमा भारतसँगको एकल परनिर्भरता औपचारिकरुपमै तोडिएको छ । अब नेपालले चीन हुँदै तेस्रो मुलुकसँग आयात–निर्यात गर्न सक्ने छ । 

सात बन्दरगाहमा पहुँच 
प्रोटोकलमा नेपालले चीनका सामुन्द्रिक तथा शुख्खा गरी ७ बन्दरगाह प्रयोग गर्न सक्ने व्यवस्था छ । हाललाई तियान्जेन, सेनजे, लियानयुंगाङ्ग र झाङ्गजियाङग सामुन्द्रिक बन्दरगाह प्रायोग गर्न सक्ने प्रोटोकलमा उल्लेख छ । त्यस्तै, लान्जाओ, ल्हासा र सिगात्से शुख्खा बन्दरगाह प्रयोग गर्न सकिने छ । 

६ नाकाबाट आयात–निर्यात
हालसम्म नेपाल र चीनबीचका ३ नाका अन्तर्राष्ट्रिय व्यापारका लागि र तीन नाका दुई देशीय व्यापारका लागि खुला गरिएका थिए । पारवहन प्रोटोकलले अब ६ वटै नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सकिने व्यवस्था गरेको छ । प्रोटोकलले रसुवा, कोदारी, किमाथाङ्का, नेचुङ्ग, यारी र ओलाङ्गाचुङ्गोला नाकामार्फत पारवहन ढुवानी गर्न सकिने व्यवस्था गरेको छ ।

सिगात्सेसम्म नेपाली ढुवानी 
प्रोटोकलले नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिाग्तेसम्म पारवहन ढुवानीका लागि आउजाउ गर्न सक्ने व्यवस्था पनि गरेको छ । अहिले नेपालका ढुवानी साधन (ट्रकहरू) केरुङसम्म मात्रै पुग्ने गरेका छन् । त्यस्तै, रसुवाबाहेक अन्य जिल्लाका नागरिकता भएका चालकलाई समेत प्रवेशमा रोक लगाइएको थियो । अब भने नेपाली नागरिकता भएका चालकले अनुमति लिएर ढुवानी साधन सिगात्सेसम्म लैजान सक्ने छन् ।
  
दुई स्थायी संयन्त्र 
पारवहन सम्झौता तथा प्रोटोकल कार्यन्वयनका क्रममा देखिएका समस्या समाधानका लागि सचिव र सहसचिवस्तरका दुई स्थायी संयन्त्र समेत बनाउने सम्झौता भएको छ । नेपालको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव र चीनको यातायात मन्त्रालयका उपमन्त्रीस्तरमा संयुक्त परामर्श संयन्त्र बनाउने सम्झौता भएको छ । यस्तै, प्राविधिक विषयमा वार्ता गर्न नेपालको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव र चीनको यातायात मन्त्रालयका महानिर्देशकस्तरको संयुक्त परामर्श उपसमिति समेत गठन गर्ने सहमति भएको छ । 

सात सम्झौतामा हस्ताक्षर 
सन् २०१६ मा भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलसहित नेपाल–चीनबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको छ ।  नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका तर्फबाट यातायातमन्त्री ली सियाओफङले हस्ताक्षर गरेका छन् । यसले अब नेपाललाई चीनका बन्दरगाह प्रयोग गरी तेस्रो मुलुकसँग व्यापार गर्ने बाटोलाई वैधानिकता दिएको छ । हस्ताक्षरसँगै सम्झौता लागू भएको नेपाली अधिकारीहरूको भनाइ छ । 

चिनीया सहायताका परियोजनाको मर्मत तथा सम्भारका लागि अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको छ । त्यसैगरी आर्थिक तथा प्राबिधिक सहकार्य सम्झौता, नेपालको उत्तरी क्षेत्रमा जिविकोपार्जनमा सहायतासम्बन्धी सम्झौता, भन्सारमा सहकार्य तथा प्रशासनिक सहकार्यसम्बन्धी सम्झौता, नेपाली गुणस्तर तथा मापदण्ड विभाग र चीनको गुणस्तर प्रशासन सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्तै, नेपालबाट चीनमा सांस्कृतिक सम्पदाको अबैध ओसारपसार एवम् चोरी निकासी रोक्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ । 

नेपाललाई चीनले एक अर्ब चिनियाँ युयान सहयोग गर्ने घोषणा गरेको छ । योमध्ये ८० करोड युयान प्रकोप व्यवस्थापनको तयारीका लागि र २० करोड रुपैयाँ हिमाली भेगका जनताको जीविकोपार्जनका लागि खर्च गर्ने सहमति भएको छ । 

द्विपक्षीय भेटपछि  चिनीया कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य च्राओ लचीले भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । साझ च्राओले राष्ट्रपति सीको तर्फबाट भण्डारीको सम्मानमा रात्रीभोजको आयोजना गरेका थिए । रात्रीभोजमा प्रतिनिधिमण्डलका सबै नेपाली सदस्य सामेल थिए । राष्ट्रपति भण्डारी मंगलवार तिब्बतको ल्हासा जाने कार्यक्रम छ ।