१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
झलनाथ खनाल
२०७६ बैशाख १६ सोमबार ०८:५६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

पार्टी एकताका जटिलता

Read Time : > 4 मिनेट
झलनाथ खनाल
२०७६ बैशाख १६ सोमबार ०८:५६:००

पार्टी एकताको पूर्णतासँगै अब हामी सबैले गुट–उपगुट बिर्सी सिंगो पार्टी नेकपालाई नै आफ्नो सम्पूर्ण जीवन सम्झेर अघि बढ्नुपर्छ

कम्युनिस्ट आन्दोलनको एकता, त्यसमा पनि ठूला दलहरूको एकता, आफैँमा एउटा गौरवशाली, जटिल र चुनौतीपूर्ण प्रक्रिया हो । यस्तो प्रक्रियालाई अगाडि बढाइरहँदा होसियारीपूर्वक, दूरगामी दृष्टिकोणले अगाडि बढ्नुपर्ने हुन्छ । हामीले दुई पार्टीको एकीकरण गरिरहँदा विगतमा भएका एकीकरणका महत्वपूर्ण अनुभवलाई पनि ध्यानमा राख्न पाएको भए हुन्थ्यो । एकीकरण जतिवेला हामीले गरेका थियौँ, त्यो एकीकरण एउटा महान्, ऐतिहासिक, दूरगामी महत्वको थियो । नेपाली कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनको विषय पनि थियो । तर, दुइटा पार्टीको एकीकरण गरिसकेपछि तल्लो तहका कमिटी विघटन गर्ने जुन निष्कर्ष निकाल्यौँ । त्यसले हामीलाई अप्ठ्यारोमा पा-यो । एक वर्षसम्म बडो अन्योलको अवस्थाबाट गुज्रिनुपर्यो । एक वर्षसम्म हाम्रा सारा पार्टी कमिटी र सदस्य निष्क्रिय भए । जनवर्गीय संगठन निष्क्रिय भए । त्यसले हामीलाई निकै ठूलो नोक्सानी भएको छ । त्यतिवेला कमिटीहरू विघटन नभएको भए अहिलेको जस्तो भद्रगोल अवस्था आउने थिएन । एकता नभएसम्म साविकका कमिटीले काम गर्थे, एकता भएपछि नयाँ कमिटी बन्थ्यो, पुरानो स्वतः विघटन हुन्थ्यो । 

तर, एकीकरण आखिरी एउटा अनिवार्य प्रक्रिया थियो । एकीकरणविना नेपाली कम्युनिस्ट आन्दोलनले आफूलाई सुदृढ गर्न सक्दैनथ्यो । त्यसकारण यस एकतालाई अन्यथा गर्न सक्ने सम्भावना थिएन । एकीकरणलाई सुदृढ गर्नु, त्यसलाई उन्नत स्तरमा उठाउनु, अझ सुव्यवस्थित बनाउनुको विकल्प थिएन । त्यस्तो अवस्थामा हामीले प्रयत्नलाई फेरि अगाडि बढाउँदै लग्यौँ । एकता प्रक्रियालाई अगाडि बढाउने क्रममा एकआपसमा वार्ता, छलफललाई निरन्तर अगाडि बढायौँ । ती वार्ता र छलफल फलदायी ढंगले अगाडि बढ्दै गए । हामीले कसरी एकीकरण गर्ने, एकीकरण गर्दा कस्तो सिद्धान्त, नीति, मापदण्ड अपनाउनुपर्ने हुन्छ भन्ने विषयमा छलफल गर्दै गयौँ । छलफलका क्रममा अनेकौँ विकल्प, विचार आए । त्यसमा पनि अनेक विवाद थिए । तर, अन्त्यमा आएर हामी (सचिवालय) एउटा फर्मुलामा सहमत भयौँ । त्यसैका आधारमा जिल्ला तहको नेतृत्व टुंगो लागेको छ । यसले पार्टीमा उत्साह सिर्जना गरेको छ । गति सिर्जना गरेको छ । जिल्ला तहको एकताले पार्टीलाई अझ बलियो बनाउने निश्चित छ । 

दुइटा पार्टीको एकीकरण गरिसकेपछि तल्लो तहका कमिटी विघटन गर्ने कार्यले हामीलाई अप्ठ्यारोमा पार्यो, एक वर्षसम्म अन्योलपूर्ण अवस्था रह्यो

आवधिक व्यवस्था
अहिले हामीले एकता प्रक्रिया अगाडि बढाइरहँदा आवधिक र तात्कालिक कार्यभारलाई सम्पादन गर्नुपर्नेबारे विशेष रूपमा सोचेका छौँ । पार्टीलाई एकताबद्ध गर्ने उच्चतम अभिभारा सम्पन्न गर्ने क्रममा कुनै पनि कमरेडले कुनै पनि जिम्मेवारी लिएर अगाडि बढ्नुपर्ने हुन्छ । जसलाई ध्यानमा राखेर हामीले के निष्कर्ष निकाल्यौँ भने पहिला आआफ्ना पार्टीमा जो जिल्ला प्रमुख हुनुहुन्थ्यो, अथवा निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो, उहाँहरू नै अध्यक्ष वा सचिव हुने भन्ने मापदण्ड बनायौँ । हिजोका जिल्ला कमिटीका कतिपय प्रमुख कमरेड केन्द्रीय कमिटीका सदस्य पनि बन्नुभएको छ । कोही जनप्रतिनिधि (सांसद, मेयर आदि) बन्नुभएको छ । उहाँहरूको हैसियतमा कुनै कमी हुँदैन । उहाँहरूको जे हैसियत छ, त्यो रहिरहन्छ । उहाँहरूले अहिले जिल्ला तहको समेत कार्यभार सम्पन्न गरेर अगाडि बढ्नुपर्ने थप आवश्यकता आइपरेको मात्रै हो । केही जिल्लामा जिल्ला कमिटीको अध्यक्षभन्दा सचिव माथिल्लो तहको सदस्य भएको पनि देखा परेको छ । तर, माथिको हैसियत कायम राख्दै तलको काम सम्पादन गर्नुपर्ने भएकाले त्यसले खासै अप्ठ्यारो पार्दैन । मिलेर हामीले काम गर्नुपर्ने हुन्छ । त्यसरी मात्रै कमिटीलाई एकताबद्ध बनाउँदै, सृदृढ बनाउँदै अगाडि बढ्न सक्छौँ । फेरि यो आवधिक प्रक्रिया मात्रै हो । अर्थात् ६ महिने प्रक्रिया मात्रै हो । हामीले ६ महिनाभित्र हरेक जिल्लाका अधिवेशन सम्पन्न गर्ने अठोट गरेका छौँ । जिल्ला कमिटीले निर्वाचित कमिटीलाई जिम्मेवारी दिइसकेपछि आफ्ना काम र कर्तव्यले पूर्णता पाउँछ । त्यसपछि माथिल्लो कमिटीको पनि काम छँदै छ । 

वैशाखभित्र बाँकी काम 
एकताको प्रक्रिया जिल्ला तहसम्म त पुग्यो, कतिपय केन्द्रीय निकाय गठन गर्नुपर्नेछ । हामीले आयोगहरू गठन गर्नुपर्ने आवश्यकता छ । केन्द्रीय कमिटीभित्र पोलिटब्युरो गठन गरिसकेका छैनौँ । केन्द्रीय सदस्यको कार्यविभाजन गर्नुपर्नेछ । जनवर्गीय संगठन अझै एकताबद्ध भइसकेका छैनन् । कतिपय विशेष संरचना बनाउने विषय पनि बाँकी नै छ । यी काम हामीले गर्न बाँकी छ । हामीले लगातार बसेर जनवर्गीय संगठनको एकता, विभाग गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनलगायत प्रयत्न गरेका थियौँ । बाँकी काम वैशाखभित्रै सम्पन्न गर्न सचिवालय दृढतापूर्वक लागेको छ । कतिपय कमरेड विदेश जानेलगायत अन्य कतिपय एजेन्डा राख्नुहुन्छ । दायाँबायाँ नअलमलिईकन नियमित रूपमा सचिवालयको बैठक बसेर बाँकी काम टुंग्याउनुपर्छ । यसरी अगाडि बढ्दा चार–पाँच दिनभित्रै बाँकी सबै काम टुंगो लगाउन सक्छौँ । त्यसपछि पार्टी एकीकृत ढंगले नयाँ कार्यदिशा, नीति, पद्धति, प्रक्रियाका आधारमा अगाडि बढ्न थाल्छ । 

महाधिवेशनको प्रश्न 
पार्टी एकता भएको दुई वर्षभित्र महाधिवेशन गर्ने मोटामोटी धारणा हामीले अगाडि सारेका छौँ । त्यो धारणा संशोधन भएको छैन । यद्यपि एक वर्ष एकीकरण सम्पन्न नहुँदै बितेको अवस्था छ । त्यसकारण अबको एक वर्षमा सबै काम भ्याइन्छ त भन्ने प्रश्न पनि उठेका छन् । तर, हामीले भ्याउने गरी जानुपर्छ । जिल्ला अधिवेशन ६ महिनाभित्र गर्न सक्ने अवस्था भयो भने अन्य अधिवेशन सम्पन्न गर्न पनि त्यति अप्ठ्यारो हुँदैन । दुई वर्षमै महाधिवेशन गर्न नसकिए पनि थोरै समय लम्ब्याएर महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । समयमै अधिवेशन गर्न सकिएन, बैठकहरू गर्न सकिएन, पार्टीलाई पद्धति, प्रक्रियाअनुरूप अगाडि बढाउन सकिएन भने पार्टीले अग्रगति लिन सक्दैन । त्यसकारण पार्टीलाई समग्रमा नै अग्रगतिमा लान पद्धतिपूर्वक र निर्धारित समयभित्र गर्नुपर्ने काम गरेर अगाडि बढ्नुपर्छ । महाधिवेशन पनि सकेसम्म हामीले निर्धारण गरेको समयभित्रै सम्पादन गर्नुपर्छ । 

 नेता–कार्यकर्तालाई आह्वान
अहिले नेपाली कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा आएको छ । हामी कम्युनिस्ट आन्दोलनका ७० वर्ष पार गरी ७१ वर्षमा प्रवेश गरेका छौँ । ७१ वर्षका अनुभव अत्यन्त महत्वपूर्ण छन् । हामीले वैचारिक क्षेत्रमा, सैद्धान्तिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा संगठनात्मक क्षेत्रमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेका छौँ । त्यति मात्रै होइन, हामीले राजकीय क्षेत्रमा पनि उपलब्धि हासिल गरेका छौँ । नेपालमा पहिलोपटक कम्युनिस्ट पार्टीको बहुमतको सरकार बनेको छ । केन्द्रमा मात्रै होइन, हामीले प्रदेशहरूमा समेत बहुमत प्राप्त गरेका छौँ । स्थानीय तहमा समेत हामीले ६० प्रतिशतभन्दा बढी सिट हासिल गरेका छौँ । र, नेपालमा एउटा ठूलो शक्ति निर्माण भएको छ । यो शक्तिलाई सुदृढ गर्ने, गतिशील बनाउने, समुन्नत बनाउने काममा सम्पूर्ण कमरेडहरू एकजुट भएर लाग्नुपर्छ । हामीले अब कुनै पनि प्रकारका गुट–उपगुट आदिको सम्झना पनि गर्नु हुन्न । बैठकहरू नियमित सञ्चालन गर्नुपर्छ । सिंगो पार्टी नेकपालाई नै हामीले आफ्नो सम्पूर्ण जीवन सम्झनुपर्छ । र, आफ्नो क्रियाकलापको थलो सम्झनुपर्छ । सामूहिक रूपमा अगाडि बढ्दा मात्र समाजवादमा पुग्न सकिन्छ । यसरी अगाडि बढ्यौँ भने हामी चाँडै नेपाली कम्युनिस्ट आन्दोलनलाई अझ उचाइमा लान सफल हुनेछौँ । र, मुलुकलाई विकास र निर्माणको काममा पनि नयाँ लहरका साथ रूपान्तरित गरेर अगाडि बढ्न सक्छौँ । हामीसामु अहिले अवसर र चुनौती दुवै छन् । 
(खनाल नेकपाका वरिष्ठ नेता हुन्)