१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ९ मंगलबार १o:२७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

द्रुत बसबारे अध्ययन गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार १o:२७:oo

उपत्यकामा ३ असोजदेखि सञ्चालनमा आएको द्रुत बस सेवालाई प्रभावकारी बनाउन द्रुत बस अध्ययन समिति गठन गरिएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूको संयोजकत्वमा समिति गठन गरिएको हो । 

आइतबारदेखि अध्ययन थालेको समितिले एक साताभित्र द्रुत बस सञ्चालन प्रभावकारी भए–नभएकोबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पेस गर्नेछ । ‘हामीले द्रुत बस त सञ्चालन गरिसकेका छौँ, तर यसका राम्रा र नराम्रा दुवै पक्ष छन् । एक साताभित्र हामीले यसको अध्ययन गरेर मन्त्रीज्यूलाई प्रतिवेदन पेस गर्छौँ,’ उनले भने, ‘अध्ययनपछि द्रुत बसको प्रभावकारिताबारे स्पष्ट हुन्छ ।’ ३ असोजमा उद्घाटन भएपछि ४ असोजदेखि नियमित २५ वटा बस यस सेवाअन्तर्गत गुड्न थालेको उनले बताए ।

तर, शिक्षक आन्दोलनका कारण ट्राफिक जाम बढेपछि ५ असोजसम्म द्रुत बसबारे विभिन्न टीकाटिप्पणी हुँदै आएका थिए । शिक्षकको आन्दोलन स्थगित भएपछि द्रुत बस सेवा सहज बनेको विभागको भनाइ छ । समितिले द्रुत बसको लेन कसरी व्यवस्थित पार्ने, अन्य सवारीसाधनलाई अवरोध नहुने गरी कसरी सञ्चालन गर्ने, समयमै गन्तव्यमा कसरी पुग्नेलगायत राम्रा–नराम्रा पक्ष समेटिएको सुझावसहितको प्रतिवेदन भौतिकमन्त्रीलाई पेस गर्नेछ ।

समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, यातायात व्यवस्था विभागलगायतका प्रतिनिधिहरू सहभागी छन् । यस समितिले पेस गरेको प्रतिवेदनका आधारमा द्रुत बस सेवालाई थप व्यवस्थित गरिनेछ । सरकारले ३ असोजदेखि सञ्चालन गरेको द्रुत बस सेवा बिहान ९–११ र बेलुकी ४–६ बजेसम्म सञ्चालन हुँदै आइरहेको छ ।