मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
कृष्णनगर–१ को भन्सार नाका नजिक रहेको ६०० बेड क्षमताको होल्डिङ सेन्टर
डिलाराम भुसाल कपिलवस्तु
२०८० असोज ७ आइतबार १६:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमानाकामा बनाइएका होल्डिङ सेन्टर प्रयोगविहीन

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०८० असोज ७ आइतबार १६:३१:००

सरकारले कपिलवस्तुस्थित भारतीय सीमानाकामा होल्डिङ सेन्टर निर्माण गरेको वर्षौँसम्म सञ्चालनमा आउन सकेको छैन। भारतबाट नेपाल भित्रिएकाहरूलाई प्रवेश विन्दुमै पिसिआर र एन्टिजेट परीक्षण गरी संक्रमितलाई सुरक्षित राख्न हजारजना अट्ने होल्डिङ स्टेसन निर्माण भएका छन्।

०७८ वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले आठवटा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो। सोअनुसार झापाको काँकरभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गाैरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा निर्माण भएका छन्।

कृष्णनगर नगरपालिका– १ स्थित भन्सार नाकानजिक ६ सय बेड तथा सोही वडाको शिवनगरमा चार सय बेड क्षमताको होल्डिङ स्टेसन निर्माण गरिएको छ। नेपाली सेनाले ठेक्का लगाएर हनुमान कन्स्ट्रक्सन ललितपुरमार्फत २७ करोड ६७ लाख ८२ हजार पाँच सय ३५.१४ रुपैयाँमा यी होल्डिङ सेन्टर निर्माण गरेको हो।

होल्डिङ स्टेसन निर्माणको काम पूरा भए पनि कसले सञ्चालन गर्ने भन्ने स्पष्ट नहुँदा सञ्चालनमा आउन सकेको छैन। होल्डिङ सेन्टर सञ्चालन नहुँदा कृष्णनगर नगरपालिकाले भन्सार कार्यालयको एउटा कोठामै स्वास्थ्य जाँच गरिरहेको छ। भारतबाट नेपाल प्रवेश गर्ना साथ भन्सार गेट नजिकै  ६ सय बेडको होल्डिङ सेन्टर छ। तर उक्त सेन्टर हालसम्म सञ्चालन नहुँदा उपयोगविहीन भएको छ।

कृष्णनगर– १ शिवनगरमा बनाइएको ४०० बेड क्षमताको होल्डिङ सेन्टर
कृष्णनगर– १ शिवनगरमा बनाइएको ४०० बेड क्षमताको होल्डिङ सेन्टर

होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्रले परिपत्र नगरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य बताउँछन्। ‘सिसिएमसिसीको निर्णयअनुसार रक्षा मन्त्रालयमा कसरी कसले सञ्चालन गर्ने भन्ने विषयमा परिपत्र पठाएको र केही समयमै यसबारे जानकारी हुन्छ। अहिलेसम्म कुनै जानकारी छैन, अब हामी तयारी अवस्थामा छौँ। आवश्यक उपकरण पनि छ। स्थानीय सरकार वा नेपाली सेना कसले सञ्चालन गर्ने भन्ने केही दिनमा थाहा हुन्छ,’ उनले भने।

यता कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्र तथा प्रदेशले स्थानीय तहलाई स्रोत–साधन उपलब्ध गराउनुपर्ने बताउँछन्। ‘होल्डिङ सेन्टर अति आवश्यक छ, तर सञ्चालनका लागि स्थानीय तहलाई समस्या छ,’ शाहले भने, ‘केन्द्र र प्रदेश सरकार यस विषयमा गम्भीर हुन आवश्यक छ। अहिले सेन्टरवरिपरि घाँस उम्रिएको छ।’ यी होल्डिङ सेन्टरको व्यवस्थापन चाँडै गर्न नसके राज्यको करोडौँ लगानी त्यसै खेर जाने उनको भनाइ छ।

अहिले कोरोना महामारी कम भए पनि सीमानाकामा कोभिड, मलेरिया, टिबी, एचआइभीजस्ता रोगको जाँच भइरहेको छ। ‘चाडपर्व नजिकिँदै गर्दा भारतवाट आउनेहरूको भिडभाड छ। नजिकैको होल्डिङ सेन्टर खाली छ। हामी यहाँ असहज अवस्थामा काम गरिरहेका छौँ,’ स्वास्थ्यकर्मीहरू बताउँछन्। उनीहरूका अनुसार अहिले दैनिक ४० देखि ८० जनाको स्वास्थ्य जाँच भइरहेको छ। तर, परीक्षण गर्दा संक्रमण रिपोर्ट पजिटिभ आउनेहरूलाई पनि सीधै घर पठाउन स्वास्थ्यकर्मीहरू बाध्य छन्।