१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७६ बैशाख १३ शुक्रबार १०:४१:००
Read Time : > 1 मिनेट
विश्व

पुटिन र उत्तर कोरियाली नेताबीच शिखर वार्ता

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ बैशाख १३ शुक्रबार १०:४१:००

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता सम्पन्न भएको छ । दुवै नेताबीच रुसको सुदूरपूर्वी तटीय सहर भ्लादिभोस्तकमा बिहीबार शिखर वार्ता भएको हो । पुटिनको मैत्रीपूर्ण निमन्त्रणामा उत्तर कोरियाली नेता किम बुधबार निजी रेल चढेर रुसको भ्लादिभोस्तक पुगेका थिए । उनलाई परम्परागत सांस्कृतिक वेशभूषामा सजिएका स्थानीयले भव्य स्वागत गरेका थिए ।

शिखर वार्तामा कोरियाली प्रायद्वीपको ‘परमाणु समस्या’लगायत विषयमा छलफल भएको थियो । पुटिन र किमले दुई देशबीच रहेको ऐतिहासिक सम्बन्धबारे चर्चा गरेका थिए । केही महिनाअघि अमेरिकासँग भएको आणविक वार्ता विफल भएपछि किमले रुसको समर्थन खोज्न थालेको विज्ञहरूले टिप्पणी गरेका छन् । शिखर वार्तापछि दुवै नेताले कोरियाली प्रायद्वीपमा आणविक समस्या समाधान गर्ने र रुस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रतिबद्धता जनाएका छन् । 
 द्विपक्षीय सम्बन्धमा सुधार
शिखर वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरियाली प्रायद्वीपको तनाव अन्त्यका लागि रुसले ठोस पहल चाल्ने बताएका थिए । पुटिनले किमलाई स्वागत गर्दै भने, ‘तपाईंको भ्रमणले  द्विपक्षीय सम्बन्धमा अझ सुधार ल्याउनेछ र कोरियाली प्रायद्वीपको समस्या समाधान खोज्नेतर्फ रसियाले ठोस कदम चाल्नेछ ।’ सो अवसरमा पुटिनले उत्तर कोरियालाई पूर्ण रूपमा निःशस्त्र पार्ने हो भने प्योङयाङलाई अन्तर्राष्ट्रिय सुरक्षा प्रदान गर्नुपर्ने बताएका थिए । वार्तापछि पुटिनले किमको प्रशंसा गरेका थिए । आणविक हतियार नियन्त्रण गर्ने विषयमा  किम सदैव खुला रहेको पुटिनले बताए । आगामी दिनमा रुस र उत्तर कोरियाबीचको सम्बन्धलाई नयाँ आयाम दिने पुटिनले प्रतिबद्धता व्यक्त गरे  । 
 वार्ता अर्थपूर्ण : किम
उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपका विविध विषयलाई सम्बोधन गर्न राष्ट्रपति पुटिनसँगको शिखर वार्ता  अर्थपूर्ण भएको बताए । ‘अहिले, विश्वकै ध्यान कोरियाली प्रायद्वीपमा केन्द्रित छ, जारी भेटवार्ता कोरियाली प्रायद्वीपमा उत्पन्न समस्या समाधानमा महत्वपूर्ण हुने मैले विश्वास गरेको छु,’ किमले भने । क्रेमलिनका अनुसार दुई नेताबीच तीन घन्टा लामो वान टु वान वार्तापछि प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । दुवै प्रतिनिधिमण्डलबीच करिब चार घन्टा वार्ता भएको थियो । उत्तर कोरियाको प्रतिनिधिमण्डलमा उच्च सैनिक अधिकारी र किमका विश्वास–पात्र थिए भने रुसी प्रमण्डलमा रुसी उपप्रधानमन्त्री युरी टुटनेभ, विदेशमन्त्री सर्गेई लाभरोभ, यातायातमन्त्रीलगायत वरिष्ठ अधिकारी थिए ।

के चाहन्छन् रुस र उत्तर कोरिया ?
रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभका अनुसार क्रेमलिन उत्तर कोरियाको विषयमा जारी ६ पक्षीय वार्ता फेरि सुरु हुनुपर्ने पक्षमा छ । सोही वार्ता प्रक्रियामार्फत् कोरियाली प्रायद्वीपमा परमाणु अस्त्रको विवादलाई सम्बोधन गर्न सकिने क्रेमलिनको विश्वास छ । सन् २००३ मा सुरु गरिएको सो  वार्तामा दुई कोरिया, रुस, अमेरिका, चीन र  जापान सहभागी थिए ।  तर, त्यस्तो बहुपक्षीय वार्ता पछिल्लो समय रोकिएको छ । अमेरिकासँग सम्बन्ध चिसिएपछि उत्तर कोरियाले अहिले रुस र चीनजस्ता बलिया विश्वशक्ति आफ्नो पक्षमा रहेको देखाउन खोजिरहेको छ । प्योङयाङसँगको जारी वार्ता रुसका लागि कोरियाली प्रायद्वीपमा आफ्नो प्रभाव देखाउने अवसर पनि हो ।