१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
जग्गा पास गरेपछि मालपोत कार्यालयमा सामूहिक तस्बिर खिचाउँदै
२०७६ बैशाख १३ शुक्रबार ०७:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

तीन समाजसेवीले दिए २१ सुकुमबासी दलित परिवारलाई नि:शुल्क जग्गा

Read Time : > 1 मिनेट
२०७६ बैशाख १३ शुक्रबार ०७:४९:००

महावै गाउँपालिका–२ ओदाका तीन समाजसेवीले भूमिहीन २१ दलित परिवारलाई ४१ सय वर्गमिटर जग्गा निःशुल्क पास गरिदिएका छन् । मनबहादुर सिंह, हर्कबहादुर सिंह र कर्णबहादुर सिंहले पुस्तौँदेखि अर्काको जग्गामा बस्दै आएका दमाईं थरका स्थानीय २१ दलित परिवारलाई जग्गा पास गरिदिएका हुन् । 

कर्णबहादुर कालिकोटका सामाजिक अभियन्ता हुन् । दलित बस्तीमा चर्पी बनाउन आग्रह गर्दा उनीहरूले जग्गा नभएको बताएपछि कर्णबहादुरले जग्गा दिलाउन पहल गरेका थिए । कर्णबहादुरको पहलमा आफूहरूले जग्गा पाएको भद्रे दमाईंले बताए । ‘हामीसँग चर्पी बनाउनसमेत जग्गा थिएन,’ उनले भने, ‘कर्णबहादुर सिंह त हाम्रा लागि भगवान् हुन् ।’ मनबहादुर र हर्कबहादुर उनका काका हुन् । 

जग्गा पास गर्दा लागेको मालपोत रसिद, जग्गाको कर र नामसारीको रकम पनि उनीहरूले नै तिरिदिएका छन् । जग्गा पास गर्ने क्रममा जिल्ला मालपोतमा लागेको रकम पनि दलित परिवारलाई तिर्न नलगाएको मनबहादुर सिंहले बताए । 

हर्कबहादुरले २० परिवारको नाममा जग्गा गइसकेको र एक परिवारका लागि पास प्रक्रिया शुक्रबार (आज) टुंगिने उनले बताए । प्रतिपरिवार करिब दुई सय वर्गमिटरका दरले जग्गा पाएका छन् । उनीहरूले जिल्ला मोलपोत कार्यालयमा जग्गा पासपछि लालपुर्जा देखाएर सामूहिक तस्बिर पनि खिचाए । 

यी हुन् जग्गा पाउनेहरू
दलित परिवारलाई कित्ताकाट गरेरै जग्गा पास गरिदिएका छन् । जग्गा पाउनेमा मनजिते दमाईं, श्रीभक्त दमाईं, दुर्ग दमाईं, राधिका परियार, दिले परियार, नयाँ परियार, लल्ता दमाईं र नैनकला परियार छन् । यस्तै, लालदरी परियार, अबि परियार, दुत्कला दमाईं, भद्रे दमाईं, मानसिंह दमाईं, दीपक परियार, रन्ना परियार, मिमबहादुर परियार, मनरूपा दमाईं, राकेश दमाईं, हस्त परियार र सपुरे दमाईंले जग्गा पाएका छन् ।

निमोनियाको औषधि नपाएर बुबाको निधनपछि समाजसेवामा लागे कर्णबहादुर 
कालिकोटको महावै गाउँपालिका–२ ओदामा जन्मिएका कर्णबहादुरका बुबा रेवत सिंहले निमोनियाको औषधि नपाएर ज्यान गुमाए । बुबाको निधन हुँदा कर्णबहादुर आठ वर्षका थिए । त्यसको चार वर्षपछि कर्ण मजदुरी गर्न भारत गए । जवान बुबा गुमाएका कर्णबहादुरलाई सुरुदेखि नै स्वास्थ्य क्षेत्रमा समाजसेवा गर्ने सोच जाग्यो । कालिकोटका विपन्न, दलित र अपांगता भएकालाई निःशुल्क अ‍ैषधि उपचार सेवा दिने अभियानमा लागेँ । 

अमेरिकाको ग्रिनकार्डप्राप्त कर्णबहादुरले दुर्गममा स्वास्थ्य र शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यले ०७० मा ‘ओदा फाउन्डेसन’ स्थापना गरेर सामाजिक अभियान चलाइरहेका छन् । यो संस्थामार्फत अहिले जिल्लाका हजार व्यक्तिको निःशुल्क औषधोपचार भएको छ भने एक सय ६१ जनालाई औषधि र निःशुल्क कृत्रिम अंग वितरण भएको छ । संस्था हाल जिल्लाका एक हजार मानिसको निःशुल्क औषधि उपचार गरेको भने अपांगता भएका एक सय ६१ जनाको औषधि निःशुल्क कृत्रिम अंग दिएको छ ।

चर्पी बनाउने ठाउँसमेत नदेख्दा जग्गा दिन मन लाग्यो : कर्णबहादुर सिंह
कालिकोट खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको छ । तर, चर्पी बनाउने जग्गासमेत नभएका दलित परिवार देखेपछि केही गर्ने सोचेँ । काका मनबहादुरसँग सल्लाह गरेँ । हाम्रो सगोलको जग्गा काका मनबहादुरकै नाममा थियो । उहाँ पनि दलित परिवारलाई जग्गा दिन मञ्जुर हुनुभयो । प्रतिपरिवार झन्डै दुई सय वर्गमिटरका दरले जग्गा दिने व्यवस्था मिलाएँ । जग्गाको लालपुर्जासमेत दिएका छौँ । अब जनता आवास कार्यक्रमबाट दलित परिवारलाई घर बनाउने पहल गर्छु । चर्पी र खानेपानीको व्यवस्था गर्ने तयारी पनि थालेको छ ।