
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनासँग छलफल गरेका छन्। लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले पाँच आयोजनामा निर्माण गरिरहेको छ।
नेपाली सेनाले निर्माण गरिरहेका कतिपय आयोजना सन्तोषजनक नभएपछि मन्त्री ज्वालाले छलफल गर्न लागेका हुन्। काठमाडौं–तराई मधेस फास्ट ट्रयाकमा भनेजति काम हुने सकेको छैन भने कर्णाली करिडोरमा पनि सन्तोषजनक काम भएको छैन। ‘छलफलपछि मन्त्री आफैँ स्थलगत भ्रमणमा जाने कार्यक्रम तय भएको मन्त्रीका निजी सचिव रामहरि शर्माले बताए।
नेपाली सेनाले काठमाडौं–तराई मधेस, कोसी करिडोर, गोरखाको लार्के भञ्जयाङ, कर्णाली करिडोरको खुलालु र सल्लीसल्ला, दार्चुला–टिंकर सडक निर्माण गरिरहेको छ। यी सबै ठाउँको स्थलगत अध्ययन गर्ने कार्यक्रम मन्त्री ज्वालाले बनाएको सहसचिव अर्जुन थापाले बताए।
काठमाडौं तराई मधेस फास्ट ट्रयाकको पछिल्लो समय डिपिआर संशोधन भएको छ। डिपिआर संशोधनपछि लागत मूल्य दुई अर्ब दुई करोड घटेको छ भने निर्माणको समय पनि घटेको छ। टनेल थपिँदा बाटोको लम्बाइ पनि कम भएको छ।
मन्त्री ज्वालाले सडक विभागअन्तर्गत सञ्चालन भएका आयोजनाको ‘टायम कार्ड’ लागू गरेका छन्। तर, नेपाली सेनाले आयोजना गरेका आयोजनाको तालिका बनेको छैन। तालिका बनाउन पनि १८ भदौमा छलफल गर्ने कार्यक्रम राखिएको छ।