मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख १२ बिहीबार ०७:२६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

के हो बर्ड फ्लु ?

Read Time : > 1 मिनेट
२०७६ बैशाख १२ बिहीबार ०७:२६:००

एभियन इन्फ्लुइन्जा, जसलाई सामान्य भाषामा एभियन फ्लु या बर्ड फ्लु मात्र भनिन्छ । यो एक किसिमको घातक इन्फलुइन्जा हो । जुन चरा प्रजातिमा अभ्यस्त भाइरसका कारण हुन्छ । बर्ड फ्लु स्वाइनफ्लु, कुकुरफ्लु, घोडाफ्लु र मानवफ्लुसँग मिल्दोजुल्दो रोग हो । 
यसरी सर्छ 
 सामान्यतया बर्ड फ्लु बिरामी चराकोे सम्पर्कबाट मानिसमा सर्छ । कुखुराजन्य दुषित उपकरणका कारणसमेत अप्रत्यक्ष रूपमा सर्न सक्छ । एभियन इन्फ्लुइन्जा भाइरस संक्रमित कुखुराको नाक, मुख र आँखामा हुन्छ । साथै, कुखुराको बिस्टाको माध्यमबाटसमेत मानिसमा सरेको पाइन्छ । त्यस्तै, कुखुरा काट्दा, भुत्ल्याउँदा, दानापानी दिँदा र हेरचाह गर्दासमेत सर्छ । 

उच्च घातक क्षमताको भाइरस कुखुरामा सरेको २८ घन्टाभित्रै त्यसले पूरै बथान नष्ट गर्न सक्छ । तर, न्यून घातक प्रजातिले भने अन्डा उत्पादनमा प्रभावित पार्छ । मृत्युदर भने न्यून हुन्छ । 

एभियन इन्फ्लुइन्जाको प्रसारण मानिसबाट मानिसमा हुन भने दुर्लभ मानिन्छ । एभियन इन्फलुइन्जाका केही प्रजाति जलचर तथा फिरन्ते जंगली चराको आन्द्रामा बसेका हुन्छन् । तर, यी प्रजातिले बिरलै मात्र मानवमा संक्रमण गराउँछन् । 

रोकथाम
- रोग नियन्त्रण गर्न प्रत्येक कुखुरापालक र व्यवसायीसँग ठोस कार्यविधि तथा योजना हुनुपर्छ । 
- रोग नियन्त्रणका लागि जैविक सुरक्षाको नियमित अभ्यास महत्वपूर्ण मानिन्छ । कुखुराका बथानलाई काँठे कुखुरा, हाँस तथा जंगली चरासँग लसपस हुनबाट बचाउनुपर्छ । 
 -कुखुरा फार्ममा काम गर्नेले चलाउने सवारीसाधन अरूले चलाउनुहुँदैन । 
- बिक्रीका लागि बजार लगिएका कुखुरा पुनः बथानमा फिर्ता गरी मिसाउनहुन्न । 
- व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग गर्नुपर्छ, जसले संक्रमण प्रसारण न्यून गर्न सघाउ पु¥याउँछ । जसमा आँखा, नाक, मुख र हातको सुरक्षा महत्वपूर्ण  मानिन्छ । किनकि, यिनै मार्ग भएर भाइरस शरीरमा प्रवेश गर्ने गर्छ । एप्रोन कभर, बुटकभर, हातकभर, रौँ कभर र टोपीलगायत व्यक्तिगत सुरक्षाका उपकरण सामग्री मानिन्छन् ।
 -आफ्नो फार्ममा बिरामी कुखुरा भएको शंका लागेमा सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराएमा रोग प्रसारण न्यूनीकरण गर्न सहयोग पुग्छ ।

जसलाई जोखिम 
 -कुखुरा फार्मका कामदार र पशुपक्षी नियन्त्रणमा कार्यरत कर्मचारी ।
- प्राणीविज्ञ (ओरनिथोलोजिस्ट), जसले जिउँदो चरासँग व्यवहार गर्छन् ।
 -नेपालको सन्दर्भमा भने संक्रमित कुखुरा फार्म निरीक्षण गर्ने पशुचिकित्साकर्मी र पशुस्वास्थ्य प्राविधिक उच्च जोखिममा पर्ने गरेका छन् । साथै, उनीहरू रोग प्रसारणको संवाहक पनि बन्ने गरेका छन् ।