मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ बैशाख १० मंगलबार ०८:३३:००
Read Time : > 2 मिनेट
प्रदेश

भक्तपुर–नगरकोट सडक : घाम लाग्दा धुलाम्मे, पानी परे हिलाम्मे, स्थानीयले थाले आन्दोलन

Read Time : > 2 मिनेट
२०७६ बैशाख १० मंगलबार ०८:३३:००

भक्तपुर–नगरकोट सडक निर्माण अलपत्र

भक्तपुरको भत्केपाटी–नगरकोट (१५.६६ किमि) सडक विस्तार र कालोपत्रेको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीसँग दुई वर्षमा सक्ने गरी निर्माण सम्झौता भएको थियो । तर, पाँच वर्ष बित्दा पनि सडकको चौडाइ विस्तार गरी कालोपत्रे गर्ने काम अधुरै छ । आयोजनाले २ असार ०७१ असारमा दुई वर्षभित्र काम सक्ने गरी भारतीय कम्पनी एआइपिएल र सैलुङ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेको थियो । 

सडक नबन्दा काठमाडौंनजिकै रहेकोे पर्यटकीय गन्तव्य नगरकोट पुग्ने पर्यटक र स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् । घाम लाग्दा धुलाम्मे हुने र पानी परे हिलाम्मे हुने भएपछि स्थानीयले संघर्ष समिति गठन गरेर आन्दोलन थालेका छन् । एक्जिम बैंक भारतको ऋण सहयोगमा सरकारले सडक सुधार आयोजनाअन्तर्गत भक्तपुर–नगरकोट–सिपाघाट (३६ किमि) सडक निर्माणको योजना अघि सारेको थियो । तर, बजेट अपुग हुने भएपछि तत्काललाई भक्तपुर कमलविनायकको भत्केपाटीदेखि नगरकोटसम्मको सडक चौडा विस्तार गरी कालोपत्रे गर्न ठेक्का लगाएको थियो । 

पाँच वर्षमा ५५ प्रतिशत मात्रै काम
आयोजना र निर्माण कम्पनीबीच भएको दुईवर्षे सम्झौताको म्याद ३ असार ०७३ मै सकिएको छ । त्यसयता निर्माण कम्पनीले नाकाबन्दी, भूकम्पलगायत कारण देखाउँदै पटक–पटक म्याद थप गराएको छ । तीनपटकसम्म थप भएको म्याद गुज्रिँदासम्म पनि काम नसकिएपछि गत जेठमा निर्माण कम्पनीले पुनः म्याद थपको माग गरेको थियो । तर, उचित कारण देखाउन नसकेपछि म्याद थप भएको छैन । पाँच वर्षमा ५५ प्रतिशत मात्रै काम सकिएको छ ।

आयोजनाले ऋण सहयोगका लागि कागजी प्रक्रिया मिलाउन ढिलो गरेपछि निर्माण कम्पनीले करिब नौ महिनापछि मात्रै काम थालेको थियो । आयोजनाले पहिलोपटक २० कात्तिक ०७३ सम्मका लागि एक सय २५ दिन म्याद थपेको थियो । भूकम्प र नाकाबन्दीले असहज भएको भन्दै निर्माण कम्पनीले म्याद दाबी गरेपछि दोस्रोपटक तीन सय ८० दिन र तेस्रोपटक दुई सय २१ दिन म्याद थप गरिएको थियो । 

कम्पनीले चौथौपटक तीन सय ३५ दिन म्याद थपका लागि आग्रह गरे पनि स्पष्ट आधार नदेखाएका कारण पुनः म्याद थप नभएको भक्तपुर–नगरकोट सडक योजनाकी इन्जिनियर सरला न्यौपानेले बताइन् । ‘काम अहिले पनि रोकिएको छैन, तर सुस्त छ,’ उनले भनिन्, ‘अहिलेसम्म ५५ प्रतिशत मात्रै काम सकिएको छ ।’ निर्माण कम्पनीले काम सम्पन्न गर्ने तालिका र काममा भएको ढिलाइबारे प्रस्ट पार्न नसक्दा आयोजनाले म्याद थप गर्न नसकेको उनको भनाइ छ ।

१४ करोड भुक्तानी
पाँच वर्षमा आधा मात्र काम सकेको निर्माण कम्पनीले अहिलेसम्म करिब १४ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । कम्पनीले आठपटकमा १३ करोड ९० लाख रुपैयाँ भुक्तानी लिएको सडक योजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि लागतसमेत थपिएको छ । आयोजनाले सडक निर्माणका लागि ४६ करोडको लागत स्टिमेट तयार गरी ठेक्का आह्वान गरेको थियो । तर, निर्माण कम्पनीले २७ करोडमा काम गर्ने सम्झौता गरेको थियो । समयअनुसार मूल्यांकन गरी १३ प्रतिशत लागत वृद्धि गरिएको आयोजनाले जनाएको छ । अहिले कुल लागत ३० करोड पुगेको छ ।

तीन किमि सडकको चौडा विस्तार बाँकी 
आयोजनाले ट्र्याक खोलेको साढे तीन मिटरको सडकलाई चौडा विस्तार गरी ड्रेनसहित ८.५ मिटरको सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग सम्झौता गरेको छ । तर, निर्माण कम्पनीले अझै तीन किमि सडकखण्डको चौडा विस्तारसमेत सकेको छैन । १२ किमि सडकखण्डमा एक लेयर गिट्टी हाल्ने र रोलरले पेल्ने काम भएको छ । तर काम नसकिँदै भत्किएर सडक हिलाम्मे बनेको छ । ‘थोरै वर्षा हुनासाथ सडक हिलाम्मे हुन्छ, दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ,’ नगरकोटका व्यवसायी अशोक थापाले भने । 

संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा
सडक नबनेपछि यो वर्षामा पनि आवतजावतका लागि समस्या हुने भन्दै स्थानीयले संघर्ष समिति गठन गरेका छन् । नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी र सुडालका बासिन्दाले राजकुमार लामिछानेको संयोजकत्वमा दुई सय ५१ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् । संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय र चाँगुनारायण नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै वर्षाअगावै सडक निर्माण सम्पन्न गराउन दबाब दिएको छ । सडक नबन्दा यात्रुलाई सास्ती भएकाले संघर्ष समिति गठन गरी विभिन्न माग अघि सारिएको संयोजक लामिछानेले बताए । ‘सडक निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती छ,’ उनले भने, ‘सडक अलपत्र छाडिएको छ, उपभोक्तालाई कुनै जानकारी पनि छैन ।’