१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
डा. डिला संग्रौला
२०७६ बैशाख १० मंगलबार ०८:३६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

सरकारलाई झकझकाउन जागरण अभियान

कांग्रेसको जागरण अभियानबाट नयाँ नेपाल निर्माणमा थप प्रेरणा मिल्नुका साथै पार्टीभित्र आमूल रूपान्तरण गर्न बल पुग्नेछ

Read Time : > 4 मिनेट
डा. डिला संग्रौला
२०७६ बैशाख १० मंगलबार ०८:३६:००

नेपाली कांग्रेस २००३ सालदेखि जनताको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै राष्ट्र र जनतामाथि आइपरेका संकट समाधान गर्दै आएको ऐतिहासिक पार्टी हो । सात दशक लामो इतिहास पूरा गरेको र अनेकौँ ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै महत्वपूर्ण  राजनीतिक परिवर्तन गरेको कांग्रेसलाई अझ बढी सशक्त, एकताबद्ध, सुदृढ, विचारशील, कर्मशील, उद्यमशील, ऊर्जावान् एवं सक्रिय बनाउन कांग्रेसले यही ११ वैशाखदेखि लोकतन्त्र दिवस पारेर राष्ट्रिय जागरण अभियान तीन चरणमा सञ्चालन गर्दै छ ।

पहिलो चरणअन्तर्गत ११ वैशाखमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पुग्ने कार्यक्रम छ । उनीहरूले महासमिति बैठकले पारित गरेका निर्णय, पार्टीको संशोधित विधान, कांग्रेसको नेतृत्वमा भएका राजनीतिक उपलब्धि, यसका सैद्धान्तिक पक्षको विवेचना, पार्टी संगठनको सृदृढीकरण, पार्टीभित्र बृहत् एकता, पुराना नेतालाई सम्मान, युवालाई प्रोत्साहन, महिला सशक्तीकरण, तरुणमा नयाँ जागरण, पार्टी सदस्यता वितरण र प्रशिक्षणका साथै वर्तमान सरकारले गरेका अलोकतान्त्रिक र अधिनायकवादी क्रियाकलाप उजागर गर्नेछन् । 

दोस्रो चरण आगामी २४ भाद्रको बिपी जयन्तीको अवसर पारेर सुरु गरिनेछ । यसमा तीन सय ३० प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टीका केन्द्रीय प्रतिनिधि खटाइनेछन् । उनीहरूले सूक्ष्म रूपले जनतासँग साक्षात्कार र अन्तर्क्रिया  गर्नेछन् । तेस्रो चरणको अभियान राष्ट्रिय एकता तथा मेलमिलाप दिवस १६ पुसदेखि सुरु हुनेछ । यो सात सय ५३ स्थानीय तहमा सञ्चालन हुनेछ । समृद्धि र विकासमा जनताको पहुँच कसरी अभिवृद्धि गर्ने भन्ने विषयमा विशेष अन्तर्क्रिया  केन्द्रित हुनेछ । यस जागरण अभियानमा भ्रातृ, शुभेच्छुक संस्था, पार्टीका क्रियाशील सदस्य र कांग्रेस समर्थक लोकतन्त्रप्रेमी महानुभावको पनि प्रतिनिधित्व हुनेछ । 

राष्ट्रिय जागरण अभियान किन ? 
पुनर्जागरण र विकासको युगका लागि : कांग्रेस ठुल्ठूला क्रान्ति, शान्ति, संविधान र संघीयता कार्यान्वयन गर्दै तीनै तहको निर्वाचनपछि प्रतिपक्षमा उभिएको छ । यो युगलाई पुनर्जागरण र विकासको युगमा रूपान्तरण गर्न यो अभियान पहिलो खुड्किलो हुनेछ । 
संघीयता र संविधान कार्यान्वयन : संविधानको मूल्य–मान्यताअनुरूप संविधान कार्यान्वयनका निम्ति थुप्रै कानुन निर्माण गर्नुपर्नेछ । कानुन बनाउन सकिएन भने तीनै तहको सरकार सञ्चालनमा यसले प्रभावित पार्छ । त्यसैले संविधान कार्यान्वयनका साथै संघीयता कार्यान्वयनमा जुट्नु आजको आवश्यकता हो । स्थानीय प्रदेश, संघीय संरचनाअनुसार नयाँ सरकार निर्माण भएको छ । तर, ती निकायले कसरी काम गर्ने भन्ने अलमल छ । त्यसका लागि जनदबाबको खाँचो छ । त्यसैले कांग्रेसले संविधान र संघीयता कार्यान्वयनको नेतृत्व आफैँले लिनुपर्छ । 

संविधानमाथिको मतभेद सम्बोधन : संविधानका केही प्रावधानलाई लिएर मधेसीलगायत विभिन्न समुदायका असन्तुष्टि विद्यमान नै छन्, यसको सम्बोधनको अग्रसरता कांग्रेसले लिनुपर्छ । 
लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण : संविधानको मूल तत्व  भनेको उदार लोकतन्त्र हो । यही लोकतन्त्रमै नेपालका कम्युनिस्ट पार्टी समाहित छन् । यो हाम्रा लागि खुसीको विषय हो । निरंकुश तानाशाहदेखि उग्र वामपन्थी अधिनायकवादको अभ्यास गर्ने सबै शक्ति अन्ततोगत्वालोकतन्त्रको त्यही वैचारिक मार्गमा फर्किएका छन् ।

विविधतामा एकता : नेपाली समाज विविधतापूर्ण छ । यहाँ एक सय २५ जाति एवं आदिवासी जनजाति, एक सय २३ भाषाभाषी तथा १० किसिमका धर्म मान्ने मानिसको बसोवास छ । अर्थात् नेपालको बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविध पहिचानलाई संविधानले आत्मसात् गरेको छ तर पछिल्लो समयमा विभिन्न कोणबाट धार्मिक जातीय, क्षेत्रीय द्वन्द्व गराएर राजनीतिको फाइदा लिन अग्रसर भएका तत्वलाई  निरुत्साहित गरी विविधतामा एकता कायम गर्दै अतिवाद र द्वन्द्व निरूपणको नेतृत्व कांग्रेसले लिनुपर्छ । 

असंलग्न परराष्ट्र नीतिको अवलम्बन : नेपाल दुई छिमेकी देश भारत र चीनबीच अवस्थित छ । यी दुवै मुलुकसँग नयाँ ढंगले सोची राष्ट्रिय गौरव कायम गरेर मात्र दुई देशबीच मित्रवत् र सहयोगी सम्बन्ध बनाउन जरुरी छ । हामी राष्ट्रिय व्यवहार र परराष्ट्र सम्बन्धका माध्यमबाट दुवै छिमेकी मुलुकसँग स्वाधीन र स्वतन्त्र राष्ट्रको पहिचान बोकेर सम्मानपूर्ण सहकार्य गर्दै आर्थिक विकासको गन्तव्यमा सहयात्री हुन सक्छौँ । दुवै मुलुकसँगको मैत्रीपूर्ण सम्मानजनक सम्बन्ध, लगानी, व्यापार विस्तार, ऊर्जा, पर्यटन, यातायात र सञ्चार माध्यमबाट नेपालको समृद्धि र विकासको नयाँ युगको प्रारम्भ गर्नुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा विश्वका सबै मुलुकसँग समधुर सम्बन्ध स्थापित गरी नेपालको पहिचान विश्वसामु राख्दै सरकारमा जाँदा होस् वा प्रतिपक्षमा हुँदा होस् एउटै सम्बन्धमा गाँसिनुपर्छ । 

सशक्त प्रतिपक्षको भूमिका : कांग्रेस अहिले संघीय संसद् र सातवटै प्रादेशिक संसद्मा जिम्मवार प्रतिपक्षका रूपमा उभिएको छ । सरकारलाई निरन्तर जवाफदेही बनाउन, जनसरोकारका विषयमा उसलाई झकझकाउन, निरन्तर ट्र्याकमा राख्न र बरालिन नदिन खबरदारी गर्ने उद्देश्यले कांग्रेसले जागरण अभियान सुरु गर्दै छ । प्रतिपक्ष कमजोर भयो भने संसद्लाई छलेर काम गर्न सरकार तम्सिन सक्छ । त्यसैले राम्रा कामका लागि रचनात्मक सहयोग गर्दै सशक्त प्रतिपक्षको भूमिका कांग्रेसले निभाउन सक्नुपर्छ । 

छाया सरकारको गठन : यो सरकारसँग दुईतिहाइ बहुमत छ । सरकारमा दम्भ उत्पन्न भई राज्यका विभिन्न निकाय र संस्थाको चरम दलीयकरण गर्ने । राज्यको स्रोतसाधन पार्टीका लागि प्रयोग हुने, हल्ला गर्ने तर काम नगर्ने परिपाटीलाई हतोत्साही गरी सरकारलाई जिम्मेवारीबोध गराउने बहाना बनाउन नदिने र समयमै सरकारले नतिजा दिनैपर्ने स्थिति सिर्जना गर्न छाया सरकार बनाई सरकारलाई खबरदारी गर्नैपर्छ । 

स्थानीय सरकारको प्रभावकारिता : स्थानीय तहमा कैयौँ ठाउँमा हामी सरकारमा छौँ । केन्द्र र प्रदेशमा मात्र प्रतिपक्षमा छौँ । त्यसैले हामीले जितेका स्थानीय सरकारमा प्रभावकारी रूपले काम गर्न सक्नुपर्छ । अबको ५ वर्षपछि प्रतिपक्षको भूमिकाका साथै स्थानीयस्तरका साथीहरूले के–कस्तो काम गरे, त्यसले पार्टीको छविलाई असर पार्छ । उनीहरूलाई सहयोग र सचेत गराउन सक्नुपर्छ । 

सरकारलाई निरन्तर जवाफदेही बनाउन, जनसरोकारका विषयमा उसलाई झकझकाउन, निरन्तर ट्र्याकमा राख्न र बरालिन नदिन खबरदारी गर्ने उद्देश्यले कांग्रेसले जागरण अभियान सुरु गर्दै छ
 

पार्टीको सांगठनिक सुदृढीकरण अभियान : पार्टीको संरचनालाई समयअनुसार वैज्ञानिक र प्रभावकारी बनाउँदै पार्टी सुदृढीकरण गर्न आवश्यक छ । जबसम्म पार्टी सशक्त र सबल हुँदैन, तबसम्म पार्टीको घोषित नीति, कार्यक्रम र उद्देश्यले परिपूर्णता पाउन सक्दैन । पार्टी सशक्त र प्रभावकारी बनाउन नेतृत्वको ठूलो भूमिका हुन्छ । नेतृत्वले दूरदृष्टि राखी, पार्टीभित्रका सबै नेता तथा कार्यकर्तामा मेलमिलाप र समझदारी कायम राख्न सक्नुपर्छ । नेतृत्वले पार्टीलाई भागबन्डाका आधारमा होइन, विधिवत् संस्थागत रूपमा हिँडाउनुपर्छ । 

संरचनागत सुधार : महासमितिबाट पारित विधान कार्यान्वयन गर्दै सबै तहको संरचनामा संक्रमणकालीन व्यवस्थाअनुरूप संरचनाको तयार छिटो गरिनुपर्छ । 

जनतासँगको प्रत्यक्ष सम्बन्ध : हामीले पार्टी संगठनको सुदृढीकरण मात्र होइन, जनताका जल्दाबल्दा समस्या र सामाजिक मुद्दाको अभियन्ता बन्न सक्नुपर्छ । 

भ्रातृ शुभेच्छुक तथा अन्य समर्थक संस्थामा नयाँ विचारको बीजारोपण : कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्था पार्टीका मेरुदण्ड हुन् । यिनीहरूको सक्रियताले मात्र पार्टी सृदृढ र सक्षम हुन्छ । त्यसैले यिनको जागरणका लागि नयाँ विचारको बीजारोपण जरुरी छ । 

पार्टीभित्र एकता तथा लोकतान्त्रिक मोर्चा निर्माण : कांग्रेसलाई अझै सशक्त र ऊर्जाशील बनाउन नेता–कार्यकर्ताबीच बृहत् एकता जरुरी छ । साथै, मुलुकमा देखा परेका विभिन्न राष्ट्रिय समस्या निवारणका लागि कांगेसले लोकतान्त्रिक मोर्चा निर्माण गरी लोकतान्त्रिक मूल्य पद्धतिको संरक्षण र संवद्र्धनमा जुट्नुपर्छ । 

राष्ट्रियता लोकतन्त्र र समाजवाद समृद्धिको आधार : कांग्रेसले स्थापना कालदेखि नै अवलम्बन गर्दै आइरहेको नीति राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो भने लोकतान्त्रिक समाजवादबाट मात्र आर्थिक विकासको मूल आधार तय हुन सक्छ । त्यसैले नेपालको संविधानमा पनि लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्य लिइएको छ । आर्थिक विकास राष्ट्रियता र लोकतन्त्रको जगमा स्थापना हुन सक्छ, एवं लोकतान्त्रिक समाजवादबाटै समृद्धिको आधार तय हुन्छ । 

वर्तमान सरकारको गतिविधिको उजागर : सरकार बनेको एक वर्षभन्दा वढी भइसक्यो । यसको प्राथमिकता शान्ति, समृद्धि र विकास थिए । तर, यी सबै कार्यमा सरकार पूर्ण असफल रह्यो । हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार बढेको छ । मूल्यवृद्धि, दोहोरो–तेहोरो कर, प्रेसमाथिको नियन्त्रण, न्यायपालिकामाथिको ठाडो हस्तक्षेप, राष्ट्रियता र राष्ट्रिय अखण्डता, जनताको स्वाधीनतामाथि खलल एवं अधिनायकवादतर्फको यात्रा आदिका कारण यो सरकार जनताका पक्षमा छैन भन्ने स्पष्ट छ । त्यसैले यस्ता यावत् विषय जनतासमक्ष उजार गरिनुपर्छ । 

संक्षेपमा भन्नुपर्दा कांग्रेसको तीन चरणको जागरण अभियानले सम्पूर्ण राष्ट्रलाई राष्ट्रिय एकताको जगेर्ना, राष्ट्रिय अखण्डताको संरक्षण र जनतामा नयाँ ऊर्जा भर्ने विश्वास छ । अभियानबाट नयाँ नेपाल निर्माणमा थप प्रेरणा मिल्नुका साथै कांग्रेसभित्र आमूल रूपान्तरण गर्न बल पुग्नेछ । 
(कांग्रेस केन्द्रीय सदस्य डा. संग्रौला प्रतिनिधिसभा सदस्य हुन्)