मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ बैशाख १० मंगलबार ०७:०६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

नेकपाकाे एकीकरणमा त्रिपक्षीय समीकरण : पछिल्लो सहमतिले माधव नेपाललाई फाइदा

ओली पक्ष : २५ अध्यक्ष, ८ सचिव, नेपाल पक्ष : १५ अध्यक्ष, २२ सचिव, पूर्वमाओवादी पक्ष : ३३ अध्यक्ष, ४४ सचिव, तटस्थ ४ अध्यक्ष, ३ सचिव 

Read Time : > 2 मिनेट
२०७६ बैशाख १० मंगलबार ०७:०६:००

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा शीर्ष नेताबीच ७७ जिल्ला अध्यक्ष र सचिवको भागबन्डा टुंगिएको छ । भागबन्डामा बढी फाइदा नेता माधव नेपाल समूहलाई भएको छ । एकता प्रक्रिया मापदण्डमा असन्तुष्टि जनाउँदै आएको नेपाल पक्षले अध्यक्ष केपी ओलीको हाराहारी जिल्ला नेतृत्व पाएको हो । 

पूर्वएमालेको भागमा परेको ४४ अध्यक्षमा ओली समूहका २५ र नेपाल समूहका १५ जना छन् । यस्तै, ३३ सचिवमा ओलीनिकट आठ मात्रै रहँदा नेपालनिकट २२ जना छन् । दुवै पदको हिसाबमा ओली–नेपालको हाराहारी सन्तुलन छ । चार अध्यक्ष र तीन सचिव भने तटस्थ छन् । यसअघि प्रदेश पदाधिकारी चयनमा भने नेपाल पक्षको सहभागिता कमजोर थियो । 

पूर्वमाओवादीतर्फ ३३ अध्यक्ष र ४४ सचिवमा अध्यक्ष प्रचण्ड पक्षधर क्रमशः २७ र ३५, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’निकट पाँच र नौजना छन् । यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठनिकट अध्यक्ष एकजना परे पनि सचिवमा कोही समेटिएका छैनन् । 

नेकपाले ७०औँ स्थापना दिवसका अवसरमा सोमबार प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा केन्द्रीय सचिवालयले पारित गरेको ७७ जिल्ला अध्यक्ष र सचिवहरूको सूची नै सार्वजनिक गरेको हो । 

जिल्ला नेतृत्व टुंग्याएसँगै ११ महिनादेखि अल्झिएको नेकपाको एकीकरणको मूल काम टुंगिएको नेताहरूले जनाएका छन् । पोलिटब्युरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन, जनसंगठनको एकीकरणसहितका केही बाँकी काम केही दिनभित्रै टुंग्याइने शीर्ष नेताहरूले घोषणा गरेका छन् । 

अध्यक्ष केपी ओलीले मुलुकलाई समृद्धितर्फ डोर्‍याउने उद्देश्यसाथ सुविचार गरी पार्टी एकीकरण गरिएको भन्दै विशेष योगदानका निम्ति अर्का अध्यक्ष प्रचण्डलाई धन्यवाद दिए । ‘हामी भवितव्यले यस ठाउँमा आइपुगेका होइनौँ, भवितव्यबाटै एकता भएको पनि होइन,’ ओलीले भने, ‘पार्टी एकताका निम्ति म प्रचण्डजीलाई विशेष धन्यवाद दिन चाहन्छु, उहाँले लचिलो बनेर ठूलो छलाङका लागि आँट नगरेको भए एकता सम्पन्न हुँदैनथ्यो ।’

प्रचण्डले जिल्ला एकीकरणसँगै फलामे ढोका पार भएकाले बाँकी काम सहजै सम्पन्न हुने स्थिति निर्माण भएको बताए । ‘एकता घोषणाको तीन महिनाभित्रै एकीकरण प्रक्रिया टुंग्याउनुपथ्र्यो, तर ढिलै भए पनि मिसन पूरा गरेका छौँ, जिल्ला कमिटीको एकीकरणको गाँठो फुकाएर फलामेढोका पार गरेका छौँ,’ प्रचण्डले कार्यक्रममा भने, ‘मुख्य गाँठो फुकेपछि अरू सजिलै फुक्ने स्थितिमा पुगेको छ ।’ प्रचण्डले एकताअगाडिकै अवस्थालाई आत्मसात् गर्दै दुवैतर्फका जिम्मेवार नेता–कार्यकर्तालाई जिम्मेवारी दिने सिद्धान्तअनुसार जिल्ला एकीकरणलाई निष्कर्षमा पुर्‍याइएको बताए ।

यसअघि तयार गरिएको सूचीमा माधव नेपाल समूहका लागि जिल्ला अध्यक्षमा दोलखा र सिन्धुपाल्चोक मात्र छुट्याइएका थिए । तर, जिल्लाका पूर्वपार्टी प्रमुखहरू नै अध्यक्ष वा सचिव हुने विधि तय भएपछि नेपालपक्षबाट १५ अध्यक्ष र २२ सचिव भएका छन् । ओली पक्षले २५ अध्यक्ष र आठ सचिव पाएको छ । पूर्वमाओवादीले ३३ जिल्लामा अध्यक्ष र ४४ मा सचिव पद प्राप्त गरेको छ ।

- ओली पक्ष : २५ अध्यक्ष, ८ सचिव 

-नेपाल पक्ष : १५ अध्यक्ष, २२ सचिव 

-पूर्वमाओवादी पक्ष : ३३ अध्यक्ष, ४४ सचिव 

-तटस्थ ४ अध्यक्ष, ३ सचिव 

 
आठ केन्द्रीय सदस्य सचिवमा घटुवा 

पार्टी एकीकरणअघि साबिक कमिटीको नेतृत्व गरेकाहरूलाई नै अध्यक्ष र सचिव बनाउने मापदण्डका आधारमा केन्द्रीय सदस्य रहेका आठजना नेताले जिल्ला सचिवको जिम्मेवारी पाएका छन् । पूर्वमाओवादी समूहबाट नेकपाका केन्द्रीय सदस्यहरू गोपी अछामी–मोरङ, श्रवण यादव–धनुषा, डाचाराज वाग्ले–सर्लाही, युवराज भट्टराई–रौतहट, दावा तामाङ–सिन्धुपाल्चोक, हिमाल शर्मा–काठमाडौं, शालिकराम जम्मरकट्टेल–धादिङ र दधिराम न्यौपाने–रुपन्देही सचिव बनेका छन् । त्यस्तै, थुप्रै सांसद र स्थानीय तहको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेकाहरूले पनि जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन् ।

कांग्रेसका धेरै नेताले राजतन्त्र फर्काउने सपना देखिरहेका छन् : केपी ओली
कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नुपथ्र्यो । तर, आज अचम्म लाग्छ, कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना देखेर हिँड्दा विचित्र लाग्छ । म सैद्धान्तिक रूपमा भन्न चाहन्छु– कुनै पनि लोकतन्त्रवादीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त जन्मिँदै शासक हुन पाउनुपर्छ, मेरो शासक भइदियौ भनेर निवेदन हाल्दैन । 

हरेक दिन नेपाल एक कदम अघि बढेको छ । एक वर्षमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्न कानुन निर्माण गर्ने, विकासको काम अघि बढाउने गरेका छौँ । भेरी–बबई ब्रेक थु्र गरेका छौँ, १ वैशाखबाट ज्येष्ठ नागरिकहरूको बिमा सुरु गरेका छौँ । हरेक नेपालीको बैंक खाता अभियान, विद्यार्थी भर्ना अभियान अघि बढेको छ । वैदेशिक लगानी अपेक्षा गरेभन्दा बढी भरपर्दो ढंगले आइरहेको छ । देश उत्साहजनक ढंगले अघि बढेको छ । गान्धारीले जस्तो आँखामा पट्टी बाँधेपछि सरकारको काम कसरी देखिन्छ ? चेतनामा आग्रहको पट्टी बाँधेपछि केही पनि देखिँदैन ।

एक वर्षभित्र महाधिवेशन गर्छौँ : प्रचण्ड
७०औँ वार्षिकोत्सव मनाउने क्रममा आइपुग्दा पार्टी एकतालाई अन्तिम रूप दिने कुराको एउटा फलामेढोका फोरिदिएका छौँ र एकताप्रक्रिया अघि बढेको छ । जिल्ला नेतृत्व चयन गर्ने कुरा फलामे ढोकाजस्तै थियो, किनकि गाँठो त्यहीँ परेको थियो । मुख्य गाँठो फुकेपछि अरू गाँठो सजिलै फुक्ने वातावरण आज तयार भएको छ । केही ढिला भएकोमा क्षमा माग्दै मिसन पूरा भएकोमा तमाम कार्यकर्तालाई बधाई पनि ज्ञापन गर्न चाहन्छु । 

अब हामी पार्टीलाई तलसम्म गतिशील बनाउन नयाँ अभियानमा जान्छौँ । अब एक दिन पनि ढिला गर्दैनौँ । सचिवालयबाट आठ महिनाभित्र सबै जिल्ला र प्रवासको समेत सम्मेलन गरिसक्नुपर्छ र एक वर्षभित्र पार्टी महाधिवेशन सम्पन्न गर्नुपर्छ । त्यो अभियान सम्मेलन र महाधिवेशन सफल पार्ने मात्र हुनेछैन, एउटा महान् बहसको अभियान पनि हुनेछ । भ्रष्टाचार, ढिलासुस्तीविरुद्ध सांस्कृतिक अभियान चलाउनुपर्छ । 

यो पनि पढ्नुहोस् : को-को बने नेकपाका जिल्ला अध्यक्ष र सचिव ? (सूचीसहित)