मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:२७:००
Read Time : > 2 मिनेट
खेलकुद

क्रिस गेललाई आउट गर्दा दंग सन्दीप

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:२७:००

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आइपिएलमा दिल्ली क्यापिटलबाट तीन खेलपछि मौका पाए । सन्दीपले शनिबार राति किंग्स एलाभेन पन्जाबविरुद्ध प्राप्त मौकाको भरपुर फाइदा उठाए । उत्कृष्ट पुनरागमनसँगै विश्वकै धुरन्धर ब्याट्सम्यानलाई एकै ओभरमा आफ्नो सिकार बनाएपछि सन्दीप खेलमा पुरस्कृतसमेत भए । यद्यपि, सन्दीपले ४० रन खर्चे पनि दिल्लीबाट सर्वाधिक ३ विकेट लिए । सन्दीपले १३औँ ओभरमा वेस्ट इन्डिजका फर्ममा रहेका ब्याट्सम्यान क्रिस गेल र साम कुरानलाई तीन बलको अन्तरमा पेभेलिनको बाटो देखाउन सफल भए । 

गेल आक्रामक ब्याट्सम्यान
चालू १२औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा वेस्ट इन्डिजका गेल निकै उत्कृष्ट फर्ममा रहेको जनाएका छन् । आक्रामक रूपमा प्रस्तुत हुँदा गेललाई आउट पार्न अप्ठ्यारो हुने गरेको उनले बताए । तर, दिल्लीको नजरमा डरलाग्दो देखिएका गेललाई सन्दीपले आफ्नो जादुगरी बलमा धरापमा राखे । यसका साथै कुरानलाई पनि क्रिजबाट उनले हटाए । ‘गेलजस्तो ब्याट्सम्यानलाई आउट पार्दा जो–कोही पनि खुसी हुन सक्छन्,’ दिल्ली पाँच विकेटले विजयी भएपछि सन्दीपले भने, ‘वास्तवमा एकै ओभरमा दुई दिग्गज ब्याट्सम्यानलाई आउट गर्दा म निकै खुसी भएँ ।’ 

टर्न गर्न गाह्रो
नयाँदिल्लीको फिरोज कोट्ला रंगशालामा साँझ परेपछि बल टर्न गर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा बलरलाई बल ग्रिपमा लिन त्यतिकै मुस्किल पर्छ । सन्दीपले पनि प्रतिस्पर्धामा आउट फिल्ड भिजेका कारण बल ग्रिपमा लिन गाह्रो परेको बताए । ‘पिचमा बल टर्न गर्न मुस्किल परिरहेको थियो, अर्कोतिर शीतले मैदान भिजेका कारण बल पनि राम्रोसँग समात्न सकिरहेको थिएन,’ खेलको समीक्षा गर्दै सन्दीपले भने, ‘त्यो अवस्थामा समेत मैले गेललाई आउट पार्न सफल भएँ ।’ 

अर्काे सिजनमा सबै खेलको आशा
सन्दीपको यो दोस्रो सिजन हो । दोस्रो सिजनमा दिल्लीले १० खेल खेलिसक्यो । सन्दीपले केवल पाँच खेलमा मात्र सहभागिता जनाउने अवसर पाएका छन् । तर, सन्दीपले पाएका सबै अवसरमा आफूलाई प्रमाणित गरेका छन् । दोस्रोपटक मौका पाउँदा उत्कृष्ट पुनरागमन गरेका सन्दीपले अर्को सिजनमा आफूले पूरै खेल खेल्ने अवसर पाउने विश्वास दिलाए । तर, त्यसको आधार बनाउन योपटक कम्तीमा पनि ८ खेलसम्म मौका पाउनुपर्ने उनले बताए । ‘यसपटक मैले कम्तीमा आठवटा खेल खेल्न पाएँ, मलाई विश्वास छ, अर्कोपटक मैले पूरै खेल खेल्नेमा विश्वस्त छु ।’ 

गत सिजनको प्रभाव
गत सिजन दिल्ली प्लेअफ होडबाट बाहिरिएपछि सन्दीपले अन्तिम तीन खेलमा मौका पाएका थिए । उनले तीन खेलमै अविश्वमरणीय प्रदर्शन गरी सबैलाई चकित पारे । त्यही प्रदर्शनका कारण यसपटक बढी खेलमा मौका पाएको सन्दीपको भनाइ छ । ‘गत सिजनमा मैले केवल तीन खेल मात्र खेले, त्यसमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएँ,’ उनले भने, ‘त्यसैकारण योपटक मैले धेरै खेलमा सहभागी हुन अवसर पाएँ, अर्कोपटक योभन्दा बढी संख्या हुनेछ ।’ 


पछाडि फर्कनुपरेन
अवार्ड कार्यक्रममा सन्दीपले आइपिएलमा डेब्यु गरेपछि फर्केर हेर्नुनपरेको बताएका छन् । ‘गत सिजनमा आइपिएल खेलेपछि करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन,’ उनले भने, ‘मैले लगातार रूपमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय टी–२० खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छु ।’ पन्जाबविरुद्धको पहिलोभन्दा अन्तिम दुई ओभरमा सन्दीप चम्किए । सन्दीपले १३औँ र १५औँ ओभरमा उत्कृष्ट बलिङ गरी दुई विकेट 
लिएका हुन् । 

बेन्चमा बस्न मन नलाग्ने
सुरुवाती ११ खेलाडीमा नाम पर्दा सबै खुसी हुन्छन् । जो त्यो लिस्टभन्दा बाहिर रहने गर्छन्, उनीहरू दुःखी हुनु स्वाभाविक नै हो । यस्तै, प्रसंग सन्दीपले निकालेका छन् । सन्दीपले आफू बेन्चमा बसेर प्रतिस्पर्धा हेर्दा खल्लो लाग्ने गरेको बताएका छन् । ‘मलाई बेन्चमा बसी खेल हेर्न मन लाग्दैन, आफूलाई निकै नरमाइलो पनि लाग्छ,’ सन्दीपले भने, ‘तर, यो सबै प्रशिक्षक र कप्तानको रणनीतिअनुसार नै चल्ने हो ।’ प्रशिक्षक र कप्तानले खेलको अवस्थाअनुसारै खेलाडी छनोट गर्छन् । 

जित दिलाउने प्रयास
सन्दीपले अवसर पाउँदा टोलीलाई जित दिलाउन शतप्रतिशत मिहिनेत गर्ने बताए । ‘मैले मौका पाउँदा टोलीलाई जसरी पनि जिताउने ध्यान हुन्छ,’ उनले भने, ‘मौकाको सदुपयोग पनि गर्नुपर्छ ।’ अन्तर्वार्ताको अन्तिममा सन्दीपले नेपाली समर्थकलाई धन्यवाद दिए । नेपाली क्रिकेट र समर्थकका कारण नै दिल्लीसँग आवद्ध हुन पाएको उनले बताए । ‘म विशेषतः नेपाली क्रिकेटलाई धन्यवाद दिन चाहन्छु, नेपालका लागि राम्रो गरेका कारण म आज यो स्थानमा छु,’ उनले भने ।