Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रद्युम्नप्रसाद उपाध्याय
प्रद्युम्नप्रसाद उपाध्याय
२०७६ बैशाख ८ आइतबार ०८:५१:००
Read Time : > 2 मिनेट
लोकसेवा

प्रतिस्पर्धी विश्लेषण : पाँचवटा ताकतको मोडेल

Read Time : > 2 मिनेट
प्रद्युम्नप्रसाद उपाध्याय
२०७६ बैशाख ८ आइतबार ०८:५१:००

कुनै उद्यममा सापेक्षिक आकर्षण तय गर्ने पाँच आधारभूत प्रतिस्पर्धी ताकत हुन्छन् :

१) नवप्रवेशीहरू,

२) किन्नेहरूको मोलमोलाइ,

३) बेच्नेहरूको मोलमोलाइ,

४) उत्पादन वा सेवाका मिल्दो रूप र

५) विद्यमान प्रतिस्पर्धीबीचको टकराव ।

यी शक्ति जति कमजोर हुन्छन्, संस्था उति आकर्षक बन्न पुग्छ । प्रतिस्पर्धी विश्लेषणले संगठनका सम्बन्ध तथा आन्तरिक गतिशीलताबारे जानकारी दिन्छ । संगठनले आफूलाई बजार क्षेत्रमा लागत–प्रभावी र आकर्षक रूपमा कसरी सुरक्षित राख्ने भन्नेबारे निर्णय लिन यो मोडेल उपयोगी छ । संस्थाले योजना गरेको नयाँ उत्पादन वा सेवाले नाफा गर्न कति सक्छ भन्ने अनुमान गर्न, बजारमा संस्थाको रणनीतिक स्थान हेर्न र सामान्य रूपमा बाहिर देखिनेभन्दा भित्र छिरेर प्रतिस्पर्धीको अध्ययन गर्न यो मोडल प्रयोग हुन्छ । प्रतिस्पर्धीको वर्तमान अवस्था नियालेर संस्थाको भावी रणनीति तय गर्न सकिन्छ ।

यसले प्रतिस्पर्धीमा हुने पाँचवटा आधारभूत शक्तिबारे मूल्यांकन गरिन्छ । प्रत्येक शक्तिको दह्रो पक्ष र त्यसको दिशा पत्ता लगाएर संस्थालाई अनुकूलित गरिन्छ । देहायका पक्ष हेर्दा आफ्नो प्रतिस्पर्धी अवस्था भने भुल्नुहुन्न:

१. संस्थाको कार्यक्षेत्रमा नवप्रवेशी छिर्ने कस्तो अवस्था छ ?

बृहत् उत्पादन (Economies of scale)ले स्थान पाउने बजारमा नवप्रवेशीलाई छिर्न गाह्रो हुन्छ ।

-स्थापित ब्रान्डहरू विद्यमान छन् भने प्रतिस्पर्धामा अर्को आउन असहज हुन्छ ।

-सुरुमै धेरै लगानी गर्नुपर्नेछ भने पनि नवप्रवेशीले सहजै सक्दैनन् ।

-एउटा उत्पादनबाट अर्कोमा स्विच गर्दा बढी खर्च लाग्ने भए भइरहेका खेलाडीलाई फाइदा हुन्छ ।

-वितरणका च्यानलहरू कठिन छन् र खुलाउन कानुनी जटिलता छ भने पनि नवप्रवेशीलाई कठिन हुन्छ ।

-विद्यमान संस्थाहरूको विशेषाधिकार, जस्तो कि पेटेन्ट, लाइसेन्स, कच्चापदार्थको सहजता, कुशल श्रमिक, सब्सिडी आदिले पनि भइरहेकालाई सघाउँछन् ।

-सरकारको विशेष नियमनमा परेका र लाइसेन्स लिनुपर्ने उद्योगहरूमा नवप्रवेशी आउन गाह्रो हुन्छ, जस्तो : ताररहित सञ्चार सेवा ।

-बजारमा जमेका खेलाडीहरूले नवआगन्तुकलाई सहर्ष स्विकार्ने वा विरोध गर्ने अवस्थाले पनि फरक पार्छ ।

-तर, कार्यक्षेत्रमा छिर्दा खासै लागत नलाग्ने भए नयाँ उद्यमीहरू बढी तानिन्छन् ।

२. विकल्पमा उत्पादन वा सेवाको उपलब्धता कस्तो छ ?

-कुनै नयाँ उत्पादन वा सेवाले कति सहज तरिकाले संस्थाको उत्पादन वा सेवालाई प्रतिस्थापित गर्न सक्छ ? ट्याक्सीको सेवालाई बससेवाले विकल्प दिन सक्छ । विकल्पको सेवाले प्रतिस्पर्धी मूल्य दिएमा भइरहेकालाई तत्कालै चुनौती आउँछ ।

३. खरिदकर्ताको मोलमोलाइ गर्ने ताकत कति छ ?

-एकैचोटि धेरै सामग्री किन्दा खरिदकर्ताको मोलमोलाइ क्षमता बढ्छ ।

-उत्पादनको लागत नै बढी छ र नाफा कम छ भने किन्ने कमजोर हुन्छ ।

-एक उत्पादनसँग अर्को उत्पादन गाँसिएको खण्डमा बेच्नेको हात माथि हुन्छ ।

-एक छाडेर अर्को उत्पादन रोज्ने लागत कम भए किन्ने दह्रो हुन्छ ।

-किन्नेले नै उत्पादनमा आंशिक रूपमा सुधार ल्याउन सक्ने भए किन्ने बलियो हुन्छ ।

-किन्नेको क्षमतामा उत्पादनले जति कम प्रभाव पार्छ त्यति नै सापेक्ष रूपमा उसले थोरै मूल्य तिर्न खोज्छ ।

-खरिदकर्तासँग पर्याप्त जानकारी छ भने पनि ऊ बलियो बन्छ ।

४. आपूर्तिकर्ताको पकड कस्तो छ ? 

-थोरै आपूर्तिकर्ताले धेरैलाई आपूर्ति गर्छन् भने ती स्वभावतः बलिया बन्छन् ।

-आपूर्ति गरिने उत्पाद वा सेवाको कुनै विकल्प छैन भने पनि आपूर्तिकर्ता बलिया हुन्छन् ।

-आपूर्तिकर्ताका आफ्ना धेरै वैकल्पिक ग्राहक र च्यानलहरू भए माथि पर्छन् ।

-आपूर्तिकर्ताको उत्पादनले संस्थाको आगतमा विशेष स्थान राख्छ र लिनैपर्ने भए पनि ती बलिया हुन्छन् ।

-एकलाई छाडेर अर्को आपूर्तिकर्तामा जाँदा खर्च बढी भए तिनलाई छोड्न मिल्दैन ।

-संस्थाका सेवाग्राहीसँग आपूर्तिकर्ताले सीधै सम्पर्क गर्न मिल्ने छ भने पनि आपूर्तिकर्ताले पकड राम्रो पार्छन् ।

५. विद्यमान प्रतिस्पर्धीहरू कस्ता छन् ?

-प्रतिस्पर्धीहरू आपसमा लड्दा विद्यमान मूल्य अवस्था सुध्रिन्छ । सेवाग्राही र आपूर्तिकर्तालाई फाइदा पुग्छ । गुणस्तर बढ्छ । बजारमा उत्पादनको प्रवर्द्धन गर्दा उत्पादनको बजार विस्तार हुन्छ र नवीन प्रविधिहरू भित्रिन्छन् । देहायका सूचकहरूले भइरहेका प्रतिस्पर्धीबाट हुने डर देखाउँछन् :

-बराबर क्षमता भएका धेरै र बलिया प्रतिस्पर्धीहरूको उपस्थिति ।

-संगठनको उत्पादन कमजोर वृद्धिले गर्दा संगठन फैलिनुभन्दा विभाजनतिर लागेको अवस्था ।

-स्थिर लागत भएका सामग्री र सम्पत्तिको मद्दतले प्रतिस्पर्धीले पूर्ण क्षमतामा कार्य गरेको अवस्था ।

-कम मूल्यमा पाएर खरिदकर्ताले जोखिमविना अर्कैको उत्पाद रोज्न सक्ने अवस्था ।

-धेरै थरी प्रतिस्पर्धी र उनका फरक–फरक रणनीति झेल्न मेसो नपाउँदाको अवस्था ।

-चुनौतीपूर्ण रूपमा सेवाग्राहीहरूको ठूलो आधार एकैचोटि तयार गर्नुपर्ने अवस्था (जस्तो टेलिकम सेवा) ।

-आर्थिक, रणनीतिक, भावनात्मक र कानुनी कारणहरूले प्रतिस्पर्धा छाड्न नमिल्ने अवस्था । जस्तो, जोडिएको विशेष खालको सम्पत्ति बेच्न नसक्ने अवस्था वा आफूले सिर्जना गरेको ब्रान्ड भावनात्मक रूपमा छाड्न नसक्ने हुँदा ।

-यस मोडेलले आन्तरिकभन्दा पनि बाह्य पक्षहरूमा ध्यान दिन्छ । यो प्रतिक्रियाशील मोडेल हो । नेपालको सार्वजनिक क्षेत्रमा सरकारी सेवाप्रदायकका प्रतिस्पर्धी, आपूर्तिकर्ता तथा सेवाग्राहीहरूको मूल्यांकन गर्दै सार्वजनिक सेवाको उत्पादन र वितरण चुस्त पार्न यो मोडेल प्रयोगमा ल्याउन सकिन्छ ।