Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
साजन गमाल, शाखा अधिकृत, अर्थ मन्त्रालय 
साजन गमाल
२०७६ बैशाख ८ आइतबार ०९:००:००
Read Time : > 2 मिनेट
लोकसेवा

लोकसेवा अनुभव : तनाव र दबाबलाई व्यवस्थापन गरेर पढेँ

Read Time : > 2 मिनेट
साजन गमाल
२०७६ बैशाख ८ आइतबार ०९:००:००

 

पहिलो अनुभव
०७२ मा पहिलोपटक लोकसेवाले सञ्चालन गर्ने परीक्षामा सहभागी हुने अवसर जुर्‍यो । त्यसवेला नायव सुब्बा पदका लागि लिइएको परीक्षामा सहभागी भएको थिएँ । त्यसअघि म लोकसेवा र लोकसेवाले लिने परीक्षाको विषयमा अनभिज्ञ नै थिएँ । पहिलोपटक लोकसेवाको परीक्षामा सहभागी भएका कारण कसरी तयारी गर्ने भन्ने जानकारी थिएन । तर, आफ्नै ढंगले तयारी गरेँ । र, एकैपटकमा लोकसेवा परीक्षामा सफल पनि भएँ । 

म गमाल जातिकै पहिलो निजामती कर्मचारीको रूपमा नियुक्त भएँ । मेरो अग्रज काका तथा दाइहरूको पहिलो उद्देश्य नै वैदेशिक रोजगारी थियो । तर, त्यसलाई चिर्दै म निजामती सेवामा सफल भएको थिएँ । 

 शाखा अधिकृत परीक्षाको अनुभव
नायब सुब्बा सिफारिस भएपछि म अर्थ मन्त्रालयमा नियुक्त भएँ । म त्यस समयमा स्नातक अध्ययनरत थिएँ । त्यसकारण ०७२ को शाखा अधिकृतको परीक्षामा सहभागी हुन सकिनँ । 

०७३ मा पहिलोपटक शाखा अधिकृत पदको परीक्षामा सहभागी हुने निर्णय गरेँ । म प्रारम्भिक परीक्षामा पास भएँ । तर, म आफैँ दोस्रो चरणको परीक्षाका लागि तयार थिइनँ । मैले पाठ्यसामग्री संकलनमा समय दिन सकेको थिइनँ । मेरो मनोबल पनि बढ्न सकिरहेको थिएन । त्यसपछि मैले अर्को वर्ष मात्र परीक्षा दिने निर्णय गरेँ । म त्यस वर्ष दोस्रो चरणको परीक्षामा सहभागी भइनँ । 

शाखा अधिकृतमा सिफारिस
०७४ सालमा म दोस्रोपटक शाखा अधिकृत पदको परीक्षामा सहभागी भएँ । मैले आवश्यक तथ्यांक तथा सामग्री पहिले नै संग्रह गरिसकेकाले यसपटक मलाई अध्ययन एकदमै सहज भयो । फलस्वरूप म लिखित परीक्षामा सफल भएँ । त्यसपछि अन्तर्वार्ता पनि पार गर्दै ०७५ मा प्रशासन सेवा राजस्व समूहतर्फको शाखा अधिकृत पदमा सिफारिस भएँ । 

अध्ययनको अनुभव
सर्वप्रथम त मैले बजारमा विभिन्न लेखकले प्रकाशन गरेका पुस्तकहरू संकलन गरेँ । धेरै पुस्तकबाट अध्ययन गर्दा के फाइदा हुन्थ्यो भने कुनै पनि विषयमा द्विविधा हुँदा त्यसबारे गहन अध्ययन गर्न सकिन्थो, जुन एउटा पुस्तक अध्ययन गर्दा सम्भव थिएन । 

त्यस्तै, म अर्थ मन्त्रालयले प्रकाशित गर्ने आर्थिक सर्वेक्षण, पहेँलो किताब, श्वेतपत्रको पनि अध्ययन गर्ने गर्थें । विश्व घटनाक्रमबारे इन्टरनेटमा खोजी गरी पढ्ने गर्थें । म लोकसेवा तयारी गर्ने साथीहरूसँग पनि सल्लाह गरेर कुनै पनि विषयमा उहाँहरूको विचार बुझी आफ्नो अध्ययनमा गर्नुपर्ने सुधार निरन्तर गर्थें । 

मेरो आफ्नो सिद्धान्त त होइन, तर के लाग्छ भने आफूले जानेको विषय साथीहरूसँग छलफल गरियो भने त्यो विषयवस्तुसम्बन्धी आफूमा रहेको ज्ञान दीर्घकालीन हुन्छ । आफ्नो अध्ययनका क्रममा मैले यही विधि अवलम्बन गरेको थिएँ । 

हामीमा आफूले जानेको विषय सिकाउने परिपाटीको कमी छ र अरूबाट भने सिक्न चाहने प्रवृत्ति विद्यमान छ । त्यसैले आफूले जति जानेको छ त्यति सिकाउँदा त्यसले आफैँलाई फाइदा पुग्छ । सिकाउने र सिक्ने कुरा दुवै तर्फबाट हुन भने आवश्यक छ ।

भाग्य 
अर्थ मन्त्रालयमा कार्यरत रहँदा म राजस्व सचिवको सचिवालयमा कार्यरत थिएँ । त्यस समय राजस्व सचिव शिशिरकुमार ढुंगाना हुनुहुन्थ्यो । म नजानेका र द्विविधा लागेका विषयवस्तु उहाँलाई सोधी पढ्ने गर्थें । यसरी उहाँको सामीप्यमा रहेर पढ्न पाउनु मेरो लागि गौरव र भाग्य दुवै थियो । उहाँबाट प्राप्त हौसला, उत्प्रेरणा र मिहिनेतको नतिजा हो, म आज यहाँसम्म आइपुगेको छु । भाग्यले पनि त्यसलाई साथ दिन्छ, जसले मिहिनेत गर्न 
जानेको हुन्छ ।

 तनाव व्यवस्थापन
मैले आफ्नो अनुभवका आधारमा भन्दा दबाबले केही हदसम्म उत्प्रेरणाको रूपमा काम गर्दछ । मैले नायब सुब्बा पदको तयारी गर्दा मलाई जसरी पनि जागिर खानुपर्ने दबाब थियो । किनकि, म त्यस समय भर्खरै वैवाहिक सम्बन्धमा बाँधिएको थिएँ । ठीक त्यसरी नै दोस्रोपटक शाखा अधिकृत पदको परीक्षामा सहभागी हुँदा आफैँले अघिल्लोपटक परीक्षामा सहभागी नभई सिर्जना गरेको दबाब थियो । 

त्यस्तै, परीक्षाहलमा भित्र छिरेपछि सिर्जना हुने तनाव त छुट्टै हुन्थ्यो । तर, दबाब व्यवस्थापन त्यति सहज भने कुरा होइन । दबाबलाई सकारात्मक ऊर्जाको रूपमा लिई अघि बढ्न सकेमा सफल हुन सकिन्छ भन्नेमा म आज पूर्ण सहमत छु । त्यही दबाब र तनावलाई ब्रह्मास्त्र बनाई म लोकसेवाले लिने नायब सुब्बा र शाखा अधिकृत पदको परीक्षामा सफल हुन सकेँ । 

 समय व्यवस्थापन
दैनिक अध्ययनका लागि कति समय छुट्याउने, परीक्षाहलमा प्रत्येक प्रश्नलाई यथोचित समयमा कसरी न्याय गर्ने भन्ने विषय समय व्यवस्थापनसँग सम्बन्धित छ । समय व्यवस्थापनका लागि पूर्वतयारी आवश्यक छ । हामीले दिने मूल परीक्षाभन्दा अघि विभिन्न संस्थाले लिने परीक्षामा सहभागी हुन सकेमा समय व्यवस्थापन कुशल ढंगले गर्न सकिन्छ । हामीले जानेका विषयलाई निश्चित समयमा आफ्नो उत्तरपुस्तिकामा उतार्न सक्नु नै समय व्यवस्थापन हो जस्तो लाग्दछ ।

सुझाब
ढुंगाबाट मूर्ति बन्न जसरी चाप, ताप र हथौडाको मार सहनुपर्दछ, त्यसरी नै हामीले जीवनमा सफलता हासिल गर्न विभिन्न दबाब र असफलताहरूको हथौडारुपी मार सहन गर्नुपर्दछ । नत्र हामी केवल सरल र सहज यात्राका लागि भौतारिरहन्छौँ ।