Skip This
Skip This

महिला हिंसा र बलात्कार गर्नेलाई काली बनेर भकाभक कुटु जस्तो लाग्छ : आनी छोइङ

२०७५ पौष १० मंगलबार १९:२५:००

चलचित्रमा हिरोले जसरी गुण्डालाई कुटछन्, त्यसैगरी महिला हिंसा र बलात्कार गर्नेलाई काली बनेर खुडा लिएर भकाभक कुटु जस्तो लाग्छ । पोखरामा मंगलबार सम्पन्न साताैँ संस्करणको आइएमई नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिनको पहिलो सत्रमा गायिका आनी छोइङले ‘वुमेन्स सेफ्टी एण्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’ शीर्षकमा राखेको आक्रोश हो, यो । 

पत्रकार यज्ञशले आनीसँगै अभिनेत्री मनिषा कोइराला, एसिड आक्रमणमा परेकी संगीता मगर र सीमा बस्नेतसँग कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरण एवं देशका विभिन्न भागमा भइरहेको हत्या, हिंसा र बलात्कारका विषयमाथि छलफल गरेका थिए ।

निर्मलाको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीको लाचारीपन, लामो समयसम्म हत्यारा पक्रिन नसक्नु र घटना रहस्यमय बन्दै जानु दुःखद विषय रहेको उनीहरुले बताए । जघन्य अपराधमा प्रहरीको भूमिकामाथि पनि शंका गर्ने ठाउँ रहेको उनीहरुको धारणा थियो । आपराधिक घटनामा सरकारले पीडितलाई जतिसक्दो छिटो न्याय दिलाउनु पर्नेमा उनीहरुले जोड दिए । 

समाजमा नारीलाई कमजोर मानिएको भन्दै आनीले नारीहरुलाई कम नआँक्न चेतावनी दिइन । नारी सचेत र जागरुक भइरहेको बताइन् ।  कानुन कार्यान्वयनको अवस्था फितलो हुनु, छोरा र छोरीबीच भेदभाव हुनु नै महिला हिंसा बढ्नुको मुख्य कारण रहेको आनीले बताइन् । बलात्कारी र एसिड आक्रमण गर्नेहरु समाजमा खुलेआम हिडिरहँदा सरकारले दण्ड सजाय गर्न नसक्नु लाजमर्दाे भएको उनको भनाई थियो । पीडकलाई सजायको व्यवस्था चुस्तदुरुस्त पार्नु पर्ने उनले बताइन् ।

एसिड प्रहारमा परेकी संगीताले जेलबाटै पीडकले धम्की दिने गरेको उल्लेख गर्दै दोषीमा अलिकति पनि पश्चात्तापबोध नभएको बताइन् । जेलबाटै आफ्नो परिवारलाई फोन गरेर जे पनि गर्न सक्ने धम्की दिइरहेको उनले गुनासो गरिन् ।

गायिका बन्ने लक्ष्य लिए पनि एसिड आक्रमणपछि राजनीतिमा आउने र समाजमा व्याप्त विकृति उन्मुलन हटाउने काममा लागि पर्ने सोच बनाएको सीमाले बताइन् । एसिड आक्रमणमा पर्दा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरबाट सहयोग मिले पनि सरकारी स्तरबाट उचित सहयोग नपाएको उनको गुनासो थियो । पछि तत्कालीन प्र्रधानमन्त्री सुशील कोइरालालाई सम्बोधन गरेर चिठी लेखेपछि भने तत्कालीन गृहमन्त्री वामदेव गौतम भेट्न आएको प्रसंग सुनाइन । 

‘अबको नेतृत्व : कस्तो, कसको ?’ : युवा नेताको छलफल

कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठ, कांगे्रस नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसँग गुणराज लुइटेलले संवाद गरेका थिए ।
उनीहरुले नेतृत्वको कमजोरी एवम् स्वार्थी चरित्रले नेपालले विकासको मूल बाटो पहिचान गर्न नसकेको स्वीकार गरेका थिए ।

कार्यक्रममा नेता श्रेष्ठले नेकपामा आन्तरिक परिवर्तनको काम थालेको र त्यो कार्यान्वयनको चरणमा रहेको बताए । नेताको व्यक्तिगत धन सम्पत्ति हुन नहुने, पार्टीसँग आवद्ध पेशागत संघसंगठन हटाउने, योग्यलाई अवसर दिने, भष्टाचार निर्मुल हुनु पर्ने उनले बताए । 

कांग्रेस नेता थापाले नेतृत्वमा अरुलाई अघि बढ्न नदिने प्रवृत्ति रहेको उल्लेख गरे । एउटा दलले अर्को दललाई सिध्याउँछ कि भन्ने डर रहेको उनले बताए । परिवर्तान गर्न लड्ने तर, परिवर्तनपछि नेताको चाल उस्तै रहने समस्या देखिएको उनले बताए ।

रवीन्द्र मिश्रले कांग्रेस, नेकपा जस्ता पार्टीमा भ्रष्टाचार मौलाएको र नेता, मन्त्री एवम् सांसदले सरकारबाट एउटै शीर्षकमा दोहोरो सुविधा लिइरहेको बताए ।  उनले नेतृत्वबाटै भ्रष्टाचार उन्मूलन सुरु हुनु पर्ने जिकिर गरे । दलीय पेशागत संरचना खारेज गर्नु पर्ने र पार्टीलाई साध्य मात्र मानेर अघि बढ्नु पर्ने उनको भनाई थियो । 

गणतन्त्रपछि नेपाली समाज 
यस्तै कार्यक्रममा राधेश्याम अधिकारी, सुरेश ढकाल र दुर्गा सोबसँग किरण नेपालले अन्तरसंवाद गरेका थिए । यो सेसनमा गणतन्त्र प्राप्तिपछि नेपाली समाजले लिएको बाटो, यहाँका अव्यवस्था, कुरीति, कुसंस्कार एवम् अब लिनु पर्ने दिशा बारे छलफल भयो । अलि मियाँ कक्षमा भने ‘द वेवार्ड डटर : अ काठमान्डू स्टोरी’ शीर्षकमा संवाद भयो । संवादमा मुना गुरुङ र श्रद्धा घलेले विचारविमर्श गरे ।

‘साहित्यमा सेन्सरसिप’ शीर्षकमा पाँचौ सेसन चल्यो । यस सेसनमा युग पाठक, सरस्वती प्रतीक्षा, महेशविक्रम शाहसँग बहस नयनराज पाण्डेले गरेका थिए । उनीहरुले साहित्यमा सेन्सरसिपको अवस्थासँगै लेख्न हुने, नहुने विषय बारे छलफल गरे । सोही समयमा अलि मियाँ कक्षमा ‘चाल्र्स शोभराज : इन्साइड द हार्ट अफ द बिकिनी किलर’ नामक पुस्तक विमोचन भयो । विमोचनसँगै पुस्तकका लेखक रामेश कोइरालासँग ब्रजेशले कुराकानी गरे । यो सेसनमा पुस्तक लेख्नुका कारणसँगै अन्य पक्ष बारे छलफल भएको थियो ।

फेस्टिभलअन्तर्गत चौथो दिनको छैटौं सेसन थियो, ‘दन्त्यकथा’ । यो शीर्षकमा प्रदीप गिरीले दन्त्यकथासँगै मिथक बारे प्रवचन दिए । मंगलबारको अन्तिम सेसन ‘कविता वाचन’मा विभिन्न ११ जना कविले कविता वाचन गरे । समसामयिक, राजनीतिक, आर्थिक लगायत विषयवस्तुमा लेखिएका कविताले सहभागीहरुलाई उत्साहित गराएको थियो ।