मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार ०७:५५:००
Read Time : > 1 मिनेट
समाचार

इन्स्पेक्टर भण्डारीमाथि कारबाही सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार ०७:५५:००

खराब संगतका कारण एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) कारबाहीमा परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट तानिएका इन्स्पेक्टर दिनेश भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कारबाही प्रक्रिया अघि बढाएको हो । भण्डारीले दुई महिलाकोे साढे २३ लाख रुपैयाँ ठगी गरेको छानबिनमा खुलेको छ ।

कर्तव्य ज्यान मुद्दामा अभियुक्तलाई छुटाइदिने भन्दै मोरङकी कमला खरेल भण्डारी र उनकी बहिनी पद्मा खरेलसँग पैसा लिएको प्रहरीको भनाइ छ । पछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी श्यामलाल ज्ञवालीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । उनलाई तत्कालै महाराजगन्ज वृत्तबाट सरुवा गरिएको थियो । 
 डेरा खोज्ने बहानामा हत्या 
१. पुसमा काठमाडौंको टोखामा मुगुकी अजिता मल्ल शाहीको हत्या भएको थियो । लिभिङ टुगेदारमा रहेकी उनको प्रेमीलगायतले हत्या गरेका थिए । आफ्ना श्रीमान्सँग दोस्रो बिहे गर्न खोजेको भन्दै २४ वर्षीया विष्णुमाया मल्ललगायतले घाँटी थिचेर हत्या गरेका थिए । हत्यामा संलग्न विष्णुमायासहित २६ वर्षीया भगवती मल्ल, २३ वर्षीया रिता केसी र २१ वर्षीया गण्डिपराज मल्ललाई पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको थियो ।

 प्रहरी र अदालतमा सेटिङ मिलाएर उनीहरूलाई छुटाइदिने विश्वास  दिलाई दिनेश भण्डारीले उनीहरूका आफन्तसँग पैसा लिएका थिए । तर, पक्राउ परेका सबै जेल परेपछि ठगीको रहस्य खुलेको हो । प्रहरीकै मिलेमतोमा ठगी भएको भन्दै उजुरी परेको थियो । त्यसपछि प्रहरीले कमला र उनकी बहिनी पद्मालाई पक्राउ गरी छानबिन थाल्यो ।

इन्स्पेक्टर भण्डारीविरुद्ध समेत महानगरीय प्रहरी परिसर काठमाडौंमा  जाहेरी परेको थियो । तर, बयानका क्रममा पक्राउ परेका दिदीबहिनीले आफूहरूले इन्स्पेक्टरलाई पैसा नदिएको बताएको र पैसा लिएका अन्य प्रमाण नभेटिएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । जिल्ला अदालतले भने उनीमाथि थप छानबिन गर्न आदेश दिएको छ । 
 अस्वाभाविक हिमचिम 
भण्डारीले पटकपटक इन्स्पेक्टर भण्डारी भेटेकी थिइन् । इन्स्पेक्टरसँग निकटता देखेर उनीहरूले पैसा दिएका थिए । छानबिनका क्रममा उनीहरूबीच अस्वाभाविक सम्बन्ध देखिएको र जुन प्रहरी आचरणविपरीत रहेको भनिएको छ । घटना बाहिर आएपछि प्रहरीले कमला र उनकी बहिनी पद्मालाई पक्राउ गरी ठगी मुद्दा चलाएको छ । उनीहरूसँग १०/१० लाख रुपैयाँ धरौटी माग भएकोमा बुझाउन नसकेपछि उनीहरू जेल चलान भएका छन् ।

अनुशासनहीन काम गरेकाले कारबाही : डिआइजी थापा
छानबिन समितिले बिहीबार महानगरीय प्रहरी आयुक्त डिआइजी शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा भट्टराईलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । ठगीमा संलग्न महिलासँग उनको अस्वाभाविक निकटता रहेको र गैरव्यावसायिक काम गरेको भन्दै कारबाहीको सिफारिस भएको हो । ‘इन्सपेक्टरले आर्थिक लेनदेन गरिएको देखिएन,’ डिआइजी थापा भन्छन्, ‘तर, उनले अनुशासनहीन काम गरेकाले विभागीय कारबाही अघि बढाएका छौँ ।’