मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ बैशाख ६ शुक्रबार ०७:३६:००
Read Time : > 2 मिनेट
राजनीति

कांग्रेस जागरण अभियान : देशभर एउटै शैलीमा कार्यक्रम

Read Time : > 2 मिनेट
२०७६ बैशाख ६ शुक्रबार ०७:३६:००

कांग्रेसले देशभर चलाउने जनजागरण अभियानका कार्यक्रमको स्वरूप सबै ठाउँमा एउटै हुने भएको छ । कार्यक्रमलाई छरितो र प्रभावकारी बनाउन भन्दै कांग्रेसले कार्यक्रम सञ्चालनको स्वरूप र शैलीमा एकरूपता ल्याएको हो । देशभर एउटै शैलीको कार्यक्रम गर्न पार्टी केन्द्रले सर्कुलर गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

पार्टीको आन्तरिक एकतालाई मजबुत बनाउँदै संगठन सुदृढीकरण गर्ने र सरकारका काम कामकारबाहीको भण्डाफोर गर्ने भन्दै कांग्रेसले ११ वैशाखदेखि अभियानको पहिलो चरण सुरु गर्दैछ । पहिलो चरणमा ७७ वटै जिल्लामा एउटै समयमा कार्यक्रम हुनेछन् । काठमाडौंमा सभापति शेरबहादुर देउवा र ७६ जिल्लामा केन्द्रीय प्रतिनिधिले कार्यक्रम उद्घाटन गर्नेछन् । अभियानको दोस्रो चरण निर्वाचन क्षेत्र केन्द्रित हुनेछ । तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा भदौ २४ देखि असोज ७ सम्म अभियान सञ्चालन हुनेछ । त्यस्तै, स्थानीय तह केन्द्रित तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १६ सम्म सात सय ५३ स्थानीय तहमा हुनेछन् । 

यस्ता छन् कार्यक्रम
कांग्रेसले अभियानअन्तर्गतका कार्यक्रम सकभर छोटोछरितो बनाउने बताएको छ । त्यसैअनुरूप उसले कार्यक्रमका स्वरूप निर्धारण गरेको छ । छरितो भेला, सदस्यता वितरण, स्वदेश र विदेशका सबै तहमा बृहत्तर प्रशिक्षणजस्ता कार्यक्रम सञ्चालन गर्ने पार्टीले जनाएको छ । त्यस्तै, संघर्षकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गर्ने, पार्टीका अग्रजलाई घरमै पुगेर सम्मान गर्ने, तिनको स्वास्थ्य स्थिति, घरायसी अवस्था बुझ्ने र पार्टीका लागि आवश्यक सल्लाह तथा सुझाब ग्रहण गर्नेसहित सरकारका गलत कामको भण्डाफोर गर्नेलगायत कार्यक्रम कांग्रेसले गर्नेछ । 

जागरण अभियानका सबै उद्घाटन कार्यक्रम छरितो बनाउन भन्दै कांग्रेसले आसनग्रहणलाई छोट्याउने बताएको छ । उद्घाटन कार्यक्रममा सभापति र प्रमुख अतिथि अथवा प्रमुख वक्तालाई मात्र आसनग्रहण गराइनेछ । अन्यको सामूहिक आसन ग्रहण हुनेछ ।अभियानको उद्घाटन पनि देशभर एकै तरिकाले गर्न पार्टीले सर्कुलर गरेको छ । वर, पिपल, स्वामी वा कुनै वृक्ष रोपी जल सिंचन अथवा पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गरिनेछ । कार्यक्रम समापनपछि जागरण अभियानको स्मृति लामो समय रहोस् भनेर त्यो वृक्ष सुरक्षित स्थानमा रोपिने कांग्रेसले बताएको छ । कार्यक्रममा सीमित वक्ताले बोल्नेछन् । स्वागत मन्तव्य, प्रमुख अतिथिको मन्तव्य र सभापतिको संक्षिप्त मात्र रहनेछ ।

ब्याच वितरण नहुने, राष्ट्रगान गाइने
देशभरका लागि उद्घाटन समारोहको ब्यानर केन्द्रले नै डिजाइन गरेको छ । कार्यक्रममा ब्याच वितरण हुनेछैन । उद्घाटमा सामूहिक राष्ट्रियगान बजाइनेछ । उद्घाटन समारोह विसर्जनअघि प्रमुख अतिथिले कांग्रेसको सदस्यता बिस्तार अभियानअन्तर्गत सदस्यता वितरणको सुरुवात गर्नेछन् । 

पहिलो चरणको जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिको घोषणा शुक्रबार हुने प्रवक्ता शर्माले जनाए । तोकेका जिल्लामा पुगेपछि उनीहरू एक महिना त्यहीँ बसेर पार्टीका घोषित जागरण अभियानअन्तर्गतका कार्यक्रम गर्नेछन् । अभियानका कार्यक्रम कांग्रेसले विदेशमा पनि सञ्चालन गर्नेछ । आन्तरिक व्यवस्थापन, सदस्यता बिस्तार, जागरणसम्बन्धी मुद्दा केन्द्रित प्रचार र मतदानको प्रबन्ध मिलाउन सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न नेपाली नियोगहरूमार्फत जनसम्पर्क समितिले नेपाल सरकारलाई दबाब दिने कार्यक्रम राखिएको छ ।

यो पार्टी सुधार्ने प्रयास हो, मालाका  विषयमा पनि मापदण्ड बनाउँछौँ  : विश्वप्रकाश शर्मा, प्रवक्ता
राजनीतिक दलका कार्यक्रम झर्कोलाग्दा हुन्छन् । धेरै जनालाई आसनग्रहण गराइन्छ, वक्ताको लाइन पनि लामो हुन्छ । कार्यक्रमको उद्देश्यलाई कम प्राथमिकतामा राख्ने अभ्यास छ । यस्तो अवस्थामा कुनै न कुनै दलले धेरैलाई आसनग्रहण गराउनुपर्ने र धेरैलाई वक्ता बनाउनुपर्ने अभ्यासलाई अन्त्य गर्नैपथ्र्यो । जागरण अभियानबाट हामीले यसको सुरुवात गरेका छौँ ।

हामीले ब्याच वितरण पनि नगर्ने घोषणा गरेका छौँ । यस्तो शैलीलाई सम्भव भएसम्म अन्य कार्यक्रममा पनि कायम राख्छौँ । आसनग्रहण र मन्तव्यका लागि केन्द्रले नतोकिकन पठाउने हो भने आफूखुसी कार्यक्रम गर्दा छिटोछरितो नहुने र उद्देश्य नै पूरा नहुने भएकाले हामीले यो अभ्यास गरेका हौँ । यस्तो अभ्यास कांग्रेसका लागि मात्रै होइन, सबै दलमा आवश्यक छ । आसनग्रहण, मन्तव्यको संख्यामा सुधार गरेपछि नेताहरूलाई अनावश्यक रूपमा लगाइँदै आएको मालाका विषयमा हामी एउटा मापदण्ड बनाएर जाने सोचमा छौँ ।