मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पोखरामा गोविन्द सुवेदी /काठमाडौंमा शुरोजंग पाण्डे
२०७६ बैशाख ६ शुक्रबार ०७:२२:००
Read Time : > 5 मिनेट
राजनीति

को होला कास्कीमा रवीन्द्रको उत्तराधिकारी ?

रिक्त स्थानमा उम्मेदवार बन्न नेकपामा भित्रभित्रै प्रतिस्पर्धा

Read Time : > 5 मिनेट
पोखरामा गोविन्द सुवेदी /काठमाडौंमा शुरोजंग पाण्डे
२०७६ बैशाख ६ शुक्रबार ०७:२२:००

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र कास्की–२ खाली भएको छ । सरकारले उपनिर्वाचन घोषणा त गरेको छैन । तर, सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चा–परिचर्चा सुरु भएको छ । विद्यार्थी राजनीतिबाट स्थापित भएका नेकपाका लोकप्रिय नेता अधिकारी ०६४ को पहिलो संविधानसभा निर्वाचनयता लगातार तीनपटक प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

लगातार चुनाव जितेका अधिकारीले पहिलोपटक संसद्मा लेखा समिति सदस्य, दोस्रोपटक विकास समिति सभापति र तेस्रोपटक मन्त्रीको जिम्मेवारी पूरा गरे । उनको निधनसँगै रिक्त चुनाव क्षेत्रमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्नेबारे अड्कलबाजी हुन थालेका छन् । उनको स्थानमा उठ्ने उम्मेदवारबारे नेकपाले कुनै प्रतिक्रिया दिएको छैन । तर, पोखरामा भने अधिकारीको अन्त्येष्टिसँगै सुरु भएको यो चर्चा दिनप्रतिदिन गर्मराउँदै जाने देखिन्छ । पछिल्लोसमय कांग्रेस सभापति शेरबहादुर देउवाले यो क्षेत्रमा हुने उपनिर्वाचनमा जितेर कांग्रेसले देशव्यापी एकताको सन्देश दिनुपर्ने बताएसँगै यहाँ चुनावको चर्चा थप चुलिएको छ । 

सम्भावित उम्मेदवारका रूपमा उनकै पत्नी विद्या भट्टराई, सचिवालय सदस्य वामदेव गौतमदेखि जिल्लाकै पुराना नेताको नाम चर्चामा छ । सुरुमा नेकपाका नेता वामदेव गौतम उठ्ने अनुमान गरियो । तर, गौतमले आफू नउठ्ने प्रष्टीकरणसहित रवीन्द्रको परिवारलाई प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक गरे । उनले आफ्नो चरित्रहत्या गर्न यो प्रचार गरिएको भन्दै खण्डन गरेका थिए । ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ,’ उनले भनेका थिए, ‘मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म रवीन्द्रको क्षेत्रमा उमेदवार बन्ने छैन ।’ 

सो क्षेत्रका अन्य नेताले पनि खुला रूपमा उम्मेदवारी दाबी नगरेपनि पार्टीले जिम्मा दिएको खण्डमा आफू तयार रहेको बताएका छन् । सबैजसोले अधिकारी पत्नी भट्टराईलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । तर, भट्टराईले अस्विकार गरेको खण्डमा उम्मेदवारीका लागि प्रतिस्पर्धा हुने देखिएको छ । 

‘पार्टीले अहिले सोचिसकेको छैन,’ पूर्वमन्त्री तथा कास्की–१ का सांसद खगराज अधिकारीले भने, ‘रवीन्द्र र सिंगो पार्टीको प्रभावले बलियो किल्लाका रूपमा रहेको कास्की–२ मा उपयुक्त ढंगले आएको सिफारिस र प्रक्रियालाई पार्टीले उपयुक्त निर्णय गरेर योग्यता प्रदर्शन गर्नेछ । तर, अहिल्यै बोलिहाल्नु हतारको विषय हुन्छ ।’ 

०७४ मा निर्वाचितमध्ये चारजना सांसदको निधन भइसकेको छ । देशभर सात सयजना प्रतिनिधिको पद रिक्त छ । सरकारले कुनै पनि क्षेत्रमा उपनिर्वाचनको तयारी गरेको छैन । तर, रवीन्द्रको क्षेत्रमा उनका ‘उत्तराधिकारी’ को चर्चासँगै चुनावी माहौल बन्दै गएको छ । १५ फागुनमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०स्थित सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा अधिकारीसहित सातजनाको निधन भएको थियो ।  

रवीन्द्रपत्नी विद्या भट्टराई पछि हटे कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारीका लागि नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ 
 

अलमलमा नेकपा 
अधिकारीको क्षेत्रबाट उनीजस्तै देशका लागि केही गर्न सक्ने व्यक्ति आउनुपर्ने र त्यस्तै व्यक्तिलाई दलले उम्मेदवार बनाउनुपर्ने यहाँ क्रियाशील नेकपा कार्यकर्ताको भनाइ छ । तर, नेकपा र कांग्रेस दुवैले उम्मेदवारका विषयमा गृहकार्य  गरेका छैनन् । नेकपा स्थायी समिति सदस्य सोमनाथ अधिकारी प्यासी अहिलेसम्म कास्की–२ को निर्वाचनबारे पार्टीमा औपचारिक छलफल नभएको बताउँछन् । 

आशालाग्दा र भरोसायोग्य नेतालाई गुमाउँदाको पीडाबाट पार्टी अझै तंग्रिन नसकेको नेता प्यासीले बताए । ‘निर्वाचनमा जानुपर्ने भए पनि अहिले त्यसतर्फ सोचिएको छैन,’ उनले भने, ‘यसबारे पार्टीमा औपचारिक छलफल भएको छैन ।’ नेकपा कास्की एकीकरण संयन्त्र सदस्य दामोदर वैरागीले आफूहरू अहिले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन प्रक्रियामा रहेको र यही २२ गते प्रतिष्ठानको घोषणा हुने जानकारी दिए ।

सम्भावित उम्मेदवार 
विद्या भट्टराई :कास्की–२ मा उम्मेदवार बन्ने सबैभन्दा बढी सम्भावना भएकी व्यक्ति हुन् रवीन्द्र अधिकारीकी जीवनसंगिनी भट्टराई । उनले चाहेमा अरू कसैले पनि उम्मेदवारी दाबी नगर्ने धारणा पार्टी पंक्तिमा छ । तर, भट्टराईले यसबारे खुलेर केही बताएकी छैनन् । ‘मैले यस विषयमा अहिले सोचेकी छैन । सिंगो पार्टी छ, परिवार छ । पार्टीले सोच्ला, परिवारसँग छलफल होला,’ उनले भनिन्, ‘अहिले पार्टी र परिवारसँग छलफल भएको छैन ।’ उनले उम्मेदवार जोसुकै भए पनि कास्की–२ बाट नेतृत्व गर्ने व्यक्ति राष्ट्रियस्तरमा काम गर्न सक्ने र जनताबीच लोकप्रिय हुनुपर्ने बताएकी छन् ।
सोमनाथ अधिकारी प्यासी : तत्कालीन एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्षसमेत रहेका अधिकारी कास्कीका पुराना नेता हुन् । अर्कै निर्वाचन क्षेत्रका भएकाले उनले उम्मेदवारीमा दाबी गर्ने अवस्था छैन । ‘पार्टीको निर्णयलाई मान्छु,’ उनले भने, ‘उपनिर्वाचन हुने नै भयो भने पार्टीले जिम्मेवारी दिएको खण्डमा तयार हुन्छु । तर, दाबी गर्दिनँ ।’

तुलबहादुर गुरुङ : तत्कालीन एमाले पोलिटब्युरो सदस्य गुरुङ अहिले नेकपाका केन्द्रीय सदस्य छन् । अनेरास्ववियुका पूर्वअध्यक्ष पनि रहेका उनले ०४८ र ०५६ मा त्यही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । कास्कीमा पुराना नेता भएकाले उनी उम्मेदवारको स्वभाविक दाबेदार मानिन्छन् । अधिकारीको उदयपछि छायाँमा परेका उनले परिवारलाई नै पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘कास्की–२ मा विद्या भट्टराई नै पहिलो प्राथमिकतामा छिन्,’ गुरुङले भने, ‘उहाँले पक्कै मान्नु हुनेछ । उहाँ राजी हुनुभएन भने विकल्पमा पार्टीले उपयुक्त निर्णय गर्छ । पार्टीले जिम्मेवारी दिँदा म तयार नहुने कुरै भएन ।’

धनराज आचार्य : रवीन्द्र अधिकारीका बालसखासमेत रहेका आचार्य विद्यार्थी राजनीतिमा लामो समय सँगै काम गरेका व्यक्ति हुन् । पछिल्लो समय राजनीतिभन्दा बढी व्यवसायमा सक्रिय आचार्यलाई पनि कास्की–२ को सम्भावित उम्मेदवारका रूपमा हेरिन्छ । तत्कालीन एमाले समर्थित व्यापारीको संगठन नेपाल राष्ट्रिय वाणिज्य संघका अध्यक्षसमेत रहेका उनले उम्मेदवारीमा आफ्नो दाबी नरहेको बताए । ‘पहिलो प्राथमिकता रवीन्द्रको परिवार नै हो,’ उनले भने, ‘यदि परिवारले मानेन भने मेरो दाबीभन्दा पनि पार्टीको निर्णय मुख्य हुनेछ ।’ 

रश्मी आचार्य :  अनेरास्ववियुका उपाध्यक्ष आचार्य सोही क्षेत्रका हुन् । सम्भावित उम्मेदवारका रूपमा उनलाई लिइए पनि आचार्य काठमाडौंकेन्द्रित विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा समय दिन सकेका छैनन् । आचार्यले पार्टीले जिम्मा दिए आफू उम्मेदवार बन्न तयार रहेको बताए । ‘युवा नेतृत्व स्थापित भएको ठाउँमा अब फेरि पुराना नेतातर्फ फर्किन्नु हुन्नँ,’ उनले भने, ‘युवालाई नै अगाडि बढाउनुपर्छ ।’

विद्या भट्टराईलाई नेता–कार्यकर्ताको ढाडस  
रवीन्द्रलाई सघाउन भन्दै उनकी जीवनसंगिनी विद्या भट्टराई दुई दशकअघि सक्रिय राजनीतिबाट टाढिएकी थिइन् । कास्कीका अधिकारी र सिन्धुपाल्चोककी भट्टराई तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटीमा लामो समय काम गरेका थिए । ०५५ सालमा बिहे भएपछि रवीन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निष्क्रिय भइन् ।

अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै प्राज्ञिक योग्यता बढाउनमा ध्यान दिइन् । समाजशास्त्रमा एमफिल गरेकी उनी अहिले रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राध्यापन गर्छिन् । अहिले कास्की–२ को उम्मेदवारका रूपमा विद्यालाई पार्टीले अघि सार्नुपर्ने मत नेकपाभित्र बलियो छ ।

रवीन्द्रका दौँतरीसमेत रहेका नेकपाका नेता धनराज आचार्य विद्या स्वाभाविक दाबेदार रहेको बताउँछन् । ‘पहिलो रोजाइ नै उहाँ हो,’ उनले भने, ‘उहाँले नमानेमा मात्र अन्य विकल्पका विषयमा छलफल होला भन्ने लाग्छ ।’ आचार्यको भनाइप्रति कास्की एकीकरण संयन्त्र सदस्य वैरागी पनि सहमत छन् । ‘विद्या भट्टराईले विगतमा अनेरास्ववियु सचिव बनेर काम गरिसकेको र प्राज्ञिक व्यक्तित्वसमेत भएकाले उहाँ नै दाबेदार हो,’ उनले भने । विद्या उम्मेदवार बन्न चाहे सर्वसम्मत उम्मेदवार बन्ने अनुमान कार्यकर्ताको छ । गण्डकी प्रदेशका अगुवा कार्यकर्ता लक्ष्मण गिरी भन्छन्, ‘सेन्टिमेन्टका कारण पनि उहाँले चाहनुभयो भने पार्टीभित्र सर्वसम्मत उम्मेदवार बन्नुहुनेछ ।’

परिवारजनमा समवेदना दिन पोखरा आइपुगेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालाई सिंगो पार्टीले साथ दिने बताएका थिए । विद्या भट्टराईले अहिले नै उम्मेदवारीबारे आफूले नसोचेको बताइन् । यद्यपि पार्टीले निर्णय गरे आफू उम्मेदवार बन्नसक्ने स्पष्ट संकेत उनले गरिन् ।

निर्वाचन आयोगको तयारी नै छैन 
संविधान र कानुनअनुसार जनप्रतिनिधि रिक्त रहेको स्थानमा निर्वाचन गराउने दायित्व निर्वाचन आयोगको हो । तर, अधिकारीसहित चार सांसदको निधन भइसके पनि आयोगले उपनिर्वाचनको कुनै तयारी सुरु गरेको छैन । प्रतिनिधिसभा सांसद अधिकारीसहित प्रदेश सभा सांसद भक्तपुरका हरिशरण लामिछाने, बाग्लुङका टेकबहादुर घर्ती र दाङका उत्तरकुमार ओलीको निधन भएको छ । सांसदहरूको निधनको जानकारी आयोगलाई प्राप्त भए पनि उपनिर्वाचनको तयारी नभएको आयुक्त नरेन्द्र दाहालले बताए । 

आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक र कानुनी व्यवस्था छ । यद्यपि, करिब एक महिनाअघि नै रिक्त निर्वाचन क्षेत्र र उपचुनावको सन्दर्भमा प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवसहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई पछिल्लो अवस्था जानकारी गराएको प्रवक्ता शंकरप्रसाद खरेलले बताए । आयोग सरकारले गर्ने मिति घोषणाको पर्खाइमा छ । उपनिर्वाचनका लागि नयाँ कानुन आवश्यक नभएकाले छोटो समयमै प्रक्रिया अघि बढाउन सकिने सदस्य दाहालको भनाइ छ । 

 कांग्रेस चुनावमा केन्द्रित 
विपक्षी दल कांग्रेसले कास्की–२ मा निर्वाचनलक्षित कार्यक्रम सुरु गरिसकेको छ । पछिल्लोसमय कास्कीमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालगायत नेताको आउजाउ बढेको छ ।

सभापछि देउवाले मार्गनिर्देश गरेकै गतिमा पार्टी संगठन परिचालित भइसकेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । जिल्लाभर नै पार्टीले सांगठनिक गतिविधि बढाए पनि मुख्य ध्यान क्षेत्र नम्बर २ मा केन्द्रित गरेको उनले प्रस्ट्याए । उनले उम्मेदवार नतोकिए पनि कास्की–२ नै कार्यक्षेत्र भएका नेताले कांग्रेसको तर्फबाट उम्मेदवारी दिने पक्का   भएको बताए । 

७४ को निर्वाचनमा रवीन्द्र अधिकारीका निकटतम् प्रतिद्वन्द्वी रहेका कांग्रेसका देवराज चालिसेले उपनिर्वाचनले सरकारको समीकरणमा फरक नपार्ने भए पनि यसले सरकारको लोकप्रियता नाप्ने बताए ।  ‘आफ्नो लोकप्रियता स्थापित गर्न दल लागिपर्नेछन् । त्यसैले कांग्रेसले चुनावको तयारी सुरु गर्नु स्वाभाविक हो,’ उनले भने ।