Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ बैशाख ६ शुक्रबार ०६:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नक्कली ज्वाइँले अमेरिका लैजाने भन्दै ४२ लाख ठगे

Read Time : > 1 मिनेट
२०७६ बैशाख ६ शुक्रबार ०६:२१:००

विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको  छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौंकी १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा ४२ लाख रुपैयाँ असुलेका थिए । प्रहरीका अनुसार छोरी अमेरिका जाने प्रलोभनमा परेपछि अभिभावकले घर बैंकमा राखेर ४२ लाख रुपैयाँ जुटाएका थिए । रकम लिएर खड्का गायब भएपछि मात्रै किशोरी र उनका अभिभावकले ठगिएको महसुस गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा पारी किशोरी र उनका अभिभावकलाई घर न घाटको बनाएको बताए । उनले भने, ‘यसले किशोरीसँग विवाह गर्छु भन्यो । अमेरिकाबाट भर्खरै आएको भनेपछि किशोरी पनि लोभिइन् । किशोरीले अभिभावकसँग छलफल गरिन् । विवाहपछि छोरी अमेरिका जाने भएपछि अभिभावक पनि मक्खै परे । यही क्रममा खड्काले किशोरीका अभिभावकसँग ४२ लाख रुपैयाँ माग्यो । घर बैंकमा राखेर रकम झिके । रकम पाएपछि हुनेवाला ज्वाइँ (खड्का) बेपत्ता भए, बल्ल आफू ठगिएको भेउ पाए ।’

रकम लिएलगत्तै बेपत्ता
प्रहरीका अनुसार खड्काले किशोरीलाई साथीको विवाहमा भेटेका थिए । सामान्य परिचयका क्रममा खड्काले किशोरीलाई ‘भर्खर अमेरिकाबाट आएको’ भने । किशोरी नजिकिइन् । खड्काले गफ दिँदै गए । टेलिफोन नम्बर साटासाटपछि उनीहरू छुटिए । त्यसपछि सामाजिक सञ्जालमार्फत नजिकिन थाले । टेलिफोनमा गफ हुन थाल्यो । खड्का किशोरीको घरमा पुगे । उनी किशोरीकी आमासँग नजिकिन थाले ।

केही सातापछि उनले किशोरीसँग विवाहको प्रस्ताव राखे । अमेरिका जाने प्रलोभनमा किशोरी ऊसँग विवाह गर्न राजी भइन् । अभिभावकसँग पनि किशोरीले विवाहको कुरा गरिन् । छोरी अमेरिका जाने भएपछि  अभिभावक पनि राजी भए । त्यसवेलासम्म किशोरी खड्काको मायाजालमा चुर्लुम्म डुबेकी थिइन् ।

लिभिङ टुगेदरमा रहेका उनलाई अभिभावकले पनि रोकतोक गरेनन् । यही क्रममा खड्काले अमेरिकाबाट रकम आउन ढिला भएको र केही आवश्यकता परेको किशोरीका अभिभावकसँग भने । किशोरीका अभिभावकले घर बैंकमा बन्धक राखेर ४२ लाख रुपैयाँ झिके । रकम खड्काको हातमा थमाए । रकम लिएलगतै खड्का बेपत्ता भए । त्यसपछि पो उनीहरूले ठगिएको भेउ पाए । 

खड्काविरुद्ध ठगी र जबर्जस्ती करणी मुद्दा
परिसरका प्रवक्ता डिएसपी बोगटीले भने, ‘यसले ४२ लाख रुपैयाँ ठग्यो । किशोरीलाई झुटा आश्वासन दिएर शारीरिक शोषण पनि ग-यो । त्यसकारण खड्काविरुद्ध ठगी र जबरजस्ती करणीको मुद्दा दायर गरेका छौँ । घटना सम्बन्धमा थप अनुसन्धान हुन अझै बाँकी छ ।’

पक्रिन खोज्दा प्रहरीकै मोबाइल लुटेर धम्की
विशेष सूचनाका आधारमा खड्का नयाँ बसपार्क क्षेत्रमा रहेको खुल्यो । प्रहरी पक्राउ गर्न नयाँ बसपार्क पुगे । सार्वजनिक बसमा यात्रा गरिरहेको अवस्थामा फेला परे । प्रहरीले बस रोक्यो । पक्राउ गर्न खोज्दा प्रहरीको मोबाइल नै लुटेर खड्का फरार भए । सोही मोबाइलबाट फोन गरी प्रहरीका हाकिमलाई धम्काउन थाले । अनुसन्धानमा खटिएका प्रहरीका परिवारलाई समेत टेलिफोनबाट धम्की दिन थाले । उनले पीडित पक्षलाई पनि धम्की दिने गरेको प्रहरीले बताएको छ । करिब तीन महिनाको प्रयासपछि खड्का पक्राउ परे ।