मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ बैशाख ६ शुक्रबार ०६:१२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

गैरकानुनी हिरासतमा दलित नाबालकको रहस्यमय मृत्यु

किरणलाई भारतीय घोषित गर्दै प्रहरीले उमेरसमेत बढायो 

Read Time : > 2 मिनेट
२०७६ बैशाख ६ शुक्रबार ०६:१२:००

प्रहरीले तथ्य बदलेर सूचना दिनु शंकास्पद

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एक नाबालकको मृत्यु भएको छ । मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको मृत्यु भएको हो । प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन् । किरण पक्राउ परेको र हिरासतमा राखिएको जानकारी प्रहरीले उनका परिवारलाई नै दिएको थिएन । मृत्युपछि पनि परिवारलाई थाह नदिई शंकास्पद रूपमा रातारात शव पोस्टमार्टम गर्‍यो । बिर्तामोड प्रहरीले झुन्डिएर आत्महत्या गरेको दाबी गरेको छ । तर, हिरासत कक्षमा झुन्डिन मिल्ने ठाउँ छैन । 

प्रहरीले किरणलाई हिरासतमा गैरकानुननी रूपमा राखेको थियो । अदालतबाट म्याद थपसमेत नगरी तीन दिनसम्म हिरासतमा राखेको खुलेको छ । जब कि बयानका लागि २४ घन्टाभन्दा बढी हिरासतमा राख्न अदालतबाट म्याद थप गर्नुपर्छ । प्रहरीले किरणका परिवारलाई समेत थाहा नदिई मेची अञ्चल अस्पताल भद्रपुर लगेर शव पोस्टमार्टम गरेको छ । पोस्टमार्टमपछि मात्रै किरणका बुबा रमेश कार्कीडोली दर्जीलाई प्रहरीले शव बुझ्न बोलाएको थियो ।

२९ चैतको साँझ ६ बजे किरणलाई बिर्तामोडका केही स्थानीयले मोबाइल चोरीको आरोप लगाउँदै प्रहरीको जिम्मा लगाएका थिए । बिर्तामोड इलाका प्रहरी कार्यालयका डिएसपी सुवास खड्काको निर्देशनमा उनलाई हिरासतमा राखियो । चोरी घटना स्विकार्न लगाउन प्रहरीले कुट्दा १ वैशाखको राति हिरासतमै उनको ज्यान गएको हुनसक्ने आफन्तको अनुमान छ । किरणको मृत्युपछि अप्ठ्यारोमा पर्ने डरले प्रहरीले अभिभावकलाई समेत थाहा नदिई अस्पताल लगेर शव पोस्टमार्टम गरायो । 

घटनाको भोलिपल्ट २ वैशाख बिहान १० बजे मात्र मृत्युको खबर लिएर प्रहरी किरणका बाबु रमेशलाई खोज्दै मेचीनगर–६ स्थित घर पुगेको थियो । किरणले हिरासतमा आत्महत्या गरेको र शव अस्पताल लगेर पोस्टमार्टमसमेत गरिसकेको प्रहरीले बताएपछि रमेश सशंकित भए । प्रहरीले लुकाउन खोजेको घटना मृतकका परिवारकै कारण सार्वजनिक भएको छ ।

-अदालतबाट म्याद नथपी तीन दिनसम्म हिरासतमा

-परिवारलाई पत्तो नदिई पोस्टमार्टम, थुनुवा कक्षको सिसिक्यामेरा गायब

-किरणलाई भारतीय घोषित गर्दै प्रहरीले उमेरसमेत बढायो

किरणलाई भारतीय घोषित गर्दै प्रहरीले उमेरसमेत बढायो 
मोबाइल र पैसा चोरेको आरोपमा पक्राउ परेका किरणको मुद्दालाई नै अहिले प्रहरीले बदलेको छ । जिल्ला प्रहरी कार्यालयले उनी चोरीमा नभई अभद्र व्यवहारको आरोपमा पक्राउ परेको सूचना सञ्चारकर्मीलाई दिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले किरणको घर मेचीपारि भारतको पानीट्यांकी भएको र उमेर १९ वर्ष भएको डिएसपी श्रेष्ठले पठाएको सूचनामा उल्लेख छ । बिर्तामोड प्रहरीका डिएसपी सुवास खड्का भने किरणले पासो लगाएर आत्महत्या गरेको र अरू विषय बोल्न नमिल्ने भन्दै जिप्रकामा सोध्न भन्छन् । 

प्रहरीले घटनाबारे सुरुमा किन जानकारी गराउन चाहेन ? 
यस्ता घटनाका विषयमा प्रहरीले सधैँ स्थानीय सञ्चारकर्मीलाई इमेलमार्फत तत्काल जानकारी गराउँथ्यो । तर, किरणको मृत्युको घटना सार्वजनिक नै गरेन । पीडित परिवारबाट घटनाबारे जानकारी पाएपछि सञ्चारकर्मीले जवाफ माग्दा बिर्तामोड प्रहरीका डिएसपी सुवास खड्काले सुरुमा अनभिज्ञता जनाए । घटना लुकाउन खोजेको भन्दै प्रश्न उठाएपछि मात्रै उनले किरणले सर्टको पासो लगाएर आत्महत्या गरेको जवाफ दिएका हुन् । सुरुमा घटनाको जानकारी नदिनु, बिर्तामोड प्रहरी अहिले पनि पन्छिन खोज्नु र जिल्ला प्रहरीले तथ्य बदलेर सूचना दिनु शंकास्पद छ ।

प्रहरीले लुकाउन खोजेको अर्को घटना
२ वैशाखमा बिर्तामोड–५ की ६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भयो । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्काले यो घटना पनि लुकाउन खोजे । ४० वर्षका व्यक्तिले बालिकामाथि यौन दुर्व्यवहार गरेका थिए । खड्काले मंगलबार बिहानसम्म पीडित परिवारको जाहेरीसमेत लिएनन् । घटनाबारे नयाँ पत्रिकाले जानकारी लिन खोज्दा डिएसपी खड्काले केही थाहा नभएको प्रतिक्रिया दिए । ‘कहाँको, कुन घटना ? मलाई थाहा छैन,’ खड्काले जवाफ फर्काए । उनले मंगलबार बिहान अबेर मात्रै पीडितको जाहेरी बुझेका थिए । 

यस्तो थियो घटना
२ वैशाखमा खाजाका लागि बालिकालाई २० रुपैयाँ दिएर उनकी आमा काममा निस्किएकी थिइन् । दिउँसो ३ बजेतिर बालिका पैसा लिएर हजमोला किन्न नजिकैको पसलमा गएका वेला पसलका सञ्चालकले यौन दुर्व्यवहार गरेको बालिकाका अभिभावकले बताएका छन् । घटनाबारे अभिभावकले भोलिपल्ट सोमबार राति सुत्ने वेलामा मात्रै थाहा पाएका थिए । बालिकाले 'काछ' लागेकाले पाउडर लगाइदिन आमालाई भनेपछि घटना सार्वजनिक भएको थियो । 

बालिकाले वास्तविकता बताएपछि राति नै अभिभावक पीडककहाँ पुगेका थिए । सुरुमा उनले ‘होइन’ भन्दै टार्न खोजे पनि पछि बालिकाको सबै उपचार खर्च बोहोर्ने र मागेजति पैसा दिने भन्दै हल्ला नगर्न आग्रह गरेको बालिकाकी आमाले बताइन् ।

राति नै बालिकाको स्वास्थ्य परीक्षणका लागि बिर्तामोडको मनमोहन हस्पिटल लगियो । प्रहरीले राति नै पीडकलाई नियन्त्रणमा लिएको थियो । बालिकाको थप स्वास्थ्य परीक्षणका लागि मंगलबार बिहान मेची अञ्चल अस्पताल भद्रपुर लगियो । तर, अस्पतालमा डाक्टर नभेटिएपछि घटनाको २४ घन्टा बितेपछि मात्र स्वास्थ्य परीक्षण भएको छ । 

छोरो पक्राउ परेको नै थाहा थिएन, एकैचोटि शव बुझ्न खबर आयो : रमेश कार्कीडोली दर्जी
किरणका बाबु

घरमा त छोरो पक्राउ परेको जानकारीसम्म थिएन । एक्कासि प्रहरी घरमा आएर तपाईंको छोरो झुन्डिएर मर्‍यो, शव भद्रपुर अस्पतालमा छ, बुझ्न जानुपर्‍यो भन्दा पो छाँगाबाट खसेजस्तो भएँ । म अस्पताल गएँ । शव पोस्टमार्टम गरिसकेको रहेछ । छोराको मृत्यु कसरी भयो भन्ने प्रश्न त छँदै छ, परिवारलाई जानकारी नै नगराई पोस्टमार्टम किन गर्‍यो ? प्रहरीले छोरो झुन्डिएको ठाउँसम्म हामीलाई देखाएको छैन । पासो लगाएर झुन्डिएको भन्छ, तर छोराको घाँटीमा कुनै डाम नै छैन ।