१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ बैशाख ५ बिहीबार २१:१८:००
Read Time : > 1 मिनेट
समाचार

कञ्चनपुरका स्थानीय तह विद्यार्थी भर्ना अभियानमा जुट्दै

Read Time : > 1 मिनेट
२०७६ बैशाख ५ बिहीबार २१:१८:००

गत २ वैशाखदेखि राष्ट्रिय विद्यार्थी भर्ना अभियान सुरु भएसँगै जिल्लाका स्थानीय तह जुट्न थालेका छन् । उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गर्नका लागि स्थानीय तह अभियानमा जुट्न थालेका हुन् ।

‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु-याऔँ’ भन्ने मुल नाराका साथ जिल्लाका ९ वटै स्थानीय सरकार विद्यार्थी अभियानमा जुटेका छन् । दुई गाउँ, सात नगरपालिकासहित सबै स्थानीय तहका जनप्रतिनिधी चार दिनदेखि विद्यार्थी अभियानका लागि खटिएका हुन् । यहाँका स्थानीय तहले शिक्षक, अभिभावक सँग समन्वय गरेर विद्यार्थी भर्ना अभियान अन्र्तरगत प्रचारप्रसार, घरदैलो एवम् औपचारिक कार्यक्रम गरेर अघि बढाएका छन् । कञ्चनपुरका स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । 

जिल्ला सदरमुकाम समेत रहेको भीमदत्त नगरपालिकाले विशेष कार्यक्रम अघि बढाएको छ । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले नयाँ भर्ना हुने विद्यार्थीका अभिभावकलाई प्रशंसा पत्र वितरण गरेका छन् । विष्टले सामुदायिक विद्यालयमा आकर्षण बृद्धि गर्नुका साथै गुणस्तरीय शिक्षाका लागि प्रयत्न गरिरहने बताए । 

त्यस्तै महाकाली नरपालिकाले ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेर विद्यार्थी अभियानका लागि सामुदायिक विद्यालयसँग समन्वय गरेर प्रचारप्रसारमा जुटेको छ । उता, बेदकोट नगरपालिकाले समेत वडा समिति मार्फत विद्यार्थी अभियान अघि बढाएको छ । 

शुक्लाफाँटा, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिकालगायतका स्थानीय तहले समेत राष्ट्रिय विद्यार्थी भर्ना अभियान तीब्र रुपमा अघि बढाएका छन् ।
कुल २ सय ६१ सामुदायिक विद्यालय कञ्चनपुरमा गत शैक्षिक सत्रमा झण्डै पाँच हजार विद्यार्थी नयाँ भर्ना भएका थिए । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्यांक अनुसार गत शैक्षिक सत्र ०७५ मा चार हजार ९ सय ३४ विद्यार्थी भर्ना भएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका निमित्त इकाइ प्रमुख राजेन्द्र भट्टले विद्यार्थी भर्ना अभियानका लागि समन्वय इकाइ केन्द्रले ९ वटै स्थानीय तहसँग समन्वय गरिरहेको बताए । उनका अनुसार समयमै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन अनुरोध गरिएको छ ।